+
+
Shares
स्थलगत– गोरखा २ :

‘सफेद कागज थियो पालुङटार, नेताहरू आए केरमेट गरेर गए’

पालुङटार एअरपोर्टमा जहाज उड्न छोडेकै ४५ वर्ष नाघ्यो । २०३६ सालदेखि बन्द भएको एअरपोर्ट अहिले जनताको गुनासो पोख्ने र नेताहरूको भोट माग्ने मेसोमात्रै बनेको छ ।

बिनु सुवेदी/अमृत सुवेदी/विकास मरहट्ठा बिनु सुवेदी/अमृत सुवेदी/विकास मरहट्ठा
२०८२ फागुन १ गते २१:११

१ फागुन, गोरखा (पालुङटार) । २०१७ सालमा उडेको थियो पालुङटार विमानस्थलबाट जहाज । सोच्नुहोस् त जतिबेला अरू ठाउँका नागरिक गाडि चढेर आवातजावत गर्ने कुराको कल्पना गर्दैनथे, त्यो बेला आफ्नो काखबाट जहाज उडाउने पालुङटारको विकास अहिले कहाँ पुगिसक्यो होला ?

जहाजहरू नियमित उड्दा हुन्, सडक कालोपत्र हुँदो हो, उद्योगहरू चलिरहेका होलान्, स्कुल र अस्पतालको सुविधा छ होला, मान्छे बेरोजगार छैनन् होला ।

यी त सब कोराकल्पना भए ।

अब कल्पनाको दुनियाँबाट बाहिर आउँ ।

पालुङटारमा माथि भनिएका र सोचिएका कुनै पनि कुरा छैनन् । बरू आफूले देखेको सुविधाको सपना र नेताहरूले बाँडेको आश्वासनको ठेलीले दिक्दार नागरिक भने जताततै भेटिए ।

आँखाले हेरिभ्याउन नसकिने गरी समथल परेको पालुङटारमाथि राज्य, दल र जनताको नजर नपरेको भने होइन ।

बेलाबेलामा भएका राजनीतिक उथलपुथलदेखि प्राकृतिक विपत्तिसम्मले पनि पालुङटारको याद धेरैलाई अनेक किसिमले आउने गर्छ । दरिलो इतिहास भए पनि विस्तारै ओझेल पर्दै गएको पालुङटार २०६७ सालमा तत्कालीन माओवादीले विस्तारित बैठक गरेपछि फेरि चर्चामा आउन सुरू भयो ।

०७२ सालको भूकम्पले गोरखाका उत्तरी पहाडी क्षेत्र क्षतविक्षत भएपछि सुरक्षित बसोबासको थलो मानेर गोर्खालीहरू पनि पालुङटार नै झर्न थाले । यही पालुङटारलाई केन्द्रमा राखेर नेताहरूले आश्वासनको पोयो फुकाउन थाले, जनताले सुखी र समृद्ध जिन्दगीको सपना देख्न थाले । ‘सबै झुटो रहेछ । नेताहरूले एउटा भने अर्को गरे,’ स्थानीय बलराम रानाभाटले भने, ‘हाम्रो दु:ख २० को १९ भएन ।’

२०६४ मा गोरखा–२ बाट तत्कालीन माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए । त्यसबेला उनले देशभरमै सबैभन्दा धेरै मत पाएर निर्वाचित हुने रेकर्ड पनि बनाए ।

उनलाई जिताउन गोर्खा–२ का अरू क्षेत्रजस्तै पालुङटार पनि मरिमेटेर लागेको हो । भट्टराईलाई निर्विकल्प नेता बनाउन पालुङटारले पनि भूमिका खेलेको हो । उनी अर्थमन्त्री बने, प्रधानमन्त्री बने । त्यसबेला उनले पालुङटारको विकासबारे बोलेका पनि थिए, तर बोलेमात्रै ।

तर बाबुरामप्रतिको लगावमा गोरखा–२ ले बेइमानी गरेन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गोरखा–१ मा उनी माओवादी केन्द्रबाट निर्वाचित भए । गोरखा–२ मा भने माओवादीकै हितराज पाण्डे विजयी भए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने भट्टराईले माओवादी छोडेर नयाँ शक्ति बनाइसकेका थिए ।

तर, गोरखा–२ का जनताले भट्टराईलाई छोड्न सकेनन् । त्यसबेला उनीसँग प्रतिस्पर्धा गरेका माओवादी–एमाले गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित भएका थिए ।

‘बाबुराम बाजेलाई त हामीले मेहेनत गरेर जिताएका हौं, पछि प्रचण्डलाई ल्याउनुभयो उहाँलाई पनि जितायौं,’ पालुङटार–५ कि ज्ञानकुमारी बस्नेतले भनिन्, ‘पालुङटारको मुहार फेर्छौं भन्नुहुन्थ्यो । यसपटक त दुईजना नै नआउने कुरा सुन्छु । पालुङटार भने जस्ताको त्यस्तै छ । पिच बाटो नि भत्काएर छोडिदिएका छन्, जहाज झन् के आउला र !’

पालुङटार एअरपोर्टमा जहाज उड्न छोडेकै ४५ वर्ष नाघ्यो । २०३६ सालदेखि बन्द भएको एअरपोर्ट अहिले जनताको गुनासो पोख्ने र नेताहरूको भोट माग्ने मेसोमात्रै बनेको छ ।

२०३६ साल अघिसम्म पालुङटार एयरपोर्टबाट काठमाडौं, पोखरा र भरतपुर उडान हुन्थ्यो ।

नारायणघाट–मुग्लिन सडकखण्ड बनेपछि जहाज चढ्नेको संख्या घट्न थाल्यो । यात्रु नभएकै कारण २०३६ सालबाट उडान बन्द भयो । त्यसयता पालुङटार एयरपोर्टमा स्थानीयले जहाज देख्न पाएनन् तर जहाज उड्ने सपना भने देखिरहे ।

एयरपोर्ट फेरि चलाउने भनेर नागरिक उड्डययन प्राधिकरणले २०७७ सालमा स्तरोन्तीका लागि ३ करोड रकम पनि छुट्याएको थियो । तर त्यसको कुनै अर्थ नै रहेन । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाटो पनि पिच गरिदिने जहाज पनि चलाउने बाचा त्यही एयरपोर्टमा भएको चुनावी सभामा गरेका थिए । तर न त आकाशबाट कहिल्यै जहाज आयो न त सडकको धुलो उड्न रोकियो ।

२०७९ को चुनावअघि भोट माग्न प्रचण्ड पालुङटार आए । छुटेर नदीको दुई किनारा भइसकेका प्रचण्डप्रति खोई के कुराले मन पलायो बाबुराम भट्टराईले नै बोकेर ल्याए । बाटो छेउ उभिएर विकासका सपना सुनाए । ‘बाटो चिल्लो बनाउँछु’ भन्ने उनको आश्वासन धेरैले सुने ।

‘भाषण गर्दा खुट्टैभरि धुलो लागेको थियो । प्रचण्डले मेरो पनि खुट्टैभरी धुलो भयो । अब बाटो पनि पिच गरिदिन्छु, एयरपोर्ट पनि बनाइदिन्छु भन्नुभएको थियो,’ पालुङटार–५ की सावित्री श्रेष्ठ भन्छिन्, ‘एयरपोर्ट त के बाटो पनि बनेन । बरू प्रचण्ड नै आउन छोड्नुभयो ।’

पालुङटार–५ की सावित्री श्रेष्ठ

०७९ को निर्वाचनमा गोरखा–२ ले चुनेर पठाएका प्रचण्ड त्यसपछि कहिले एमाले र कहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री पनि बने तर फर्किएर पालुङटार आएनन् । नेताहरूका यस्ता रबैयाले दिक्दार भएर पनि होला अनलाइनखबरसँग श्रेष्ठले भनिन्, ‘यसपाली नो भोट, सबै उस्तै हुन् ।’

उनका अनुसार समस्या बाटो मात्र होइन, बारम्बार दोहोरिने वाचा हो । ‘हामीले चुनेका नेता प्रधानमन्त्री बने,’ उनी भन्छिन्, ‘तर हाम्रो समस्या उस्तै छ ।’

गोरखाको पालुङटार पछिल्ला वर्षहरूमा बारम्बार राजनीतिक चर्चामा आयो । माओवादीको विस्तारित बैठक बसेको ठाउँ, प्रधानमन्त्री जन्माएको निर्वाचन क्षेत्र र भूकम्पपछि तीव्र बसाइँसराइ भएको भूगोल–यी सबै कारणले पालुङटारलाई ‘महत्वपूर्ण’ मानियो । तर स्थानीय बासिन्दाका अनुसार, यति धेरै चर्चा र शक्ति हुँदाहुँदै पनि पालुङटारको दैनिकी खासै फेरिएको छैन ।

२०७२ सालको भूकम्पपछि पहाडी क्षेत्रका धेरै परिवारहरू सुरक्षित ठाउँ खोज्दै पालुङटार झरे । बस्ती बढ्यो, बजार फैलियो, जग्गाको मूल्य चुलियो । मतदाता बढे, पालुङटारमा नेताहरूका पनि आँखा गढे ।

उनीहरूले यहाँ विकासका आश्वासन दिन थाले–सिँचाइ सुविधा, खानेपानी, औद्योगिक क्षेत्र, सडक र हवाई मैदानको विकास । तर बन्नुको साटो धेरै कुरा त बिग्रिँदै गयो ।

‘बाटै हेर्नुस् न कस्तो हालत बनाइदिएका छन्,’ स्थानीय बसन्तबहादुर बस्नेत भन्छन्, ‘दशैंसम्म सकिन्छ भन्थे, तिहारसम्म भन्थे । केही पनि सकेनन् । अब मलाई भोट दिनुस् चुनावपछि सक्छु भन्न आउने त होलान् !’

बसन्तबहादुर बस्नेत

पालुङटार पहिले पनि राजनीतिक गतिविधिबाट टाढा थिएन, अहिले पनि छैन । २०६७ मा माओवादीको विस्तारित बैठक यहीँ बसेको थियो । पाँच दिनसम्म चलेको उक्त बैठकमा राष्ट्रिय राजनीति, शान्ति प्रक्रिया र भावी संघर्षका विषयमा छलफल भयो । देशभरबाट नेता–कार्यकर्ता आए । तर बैठक सकिएपछि पालुङटारको दैनिकी फेरि उही रह्यो–कच्ची सडक, अधुरा योजना र प्रतिक्षा ।

पालुङटार समेत पर्ने गोरखा २ ले प्रतिनिधिसभामा प्रभावशाली नेताहरू पठाउँदै आएको छ । २०६४ सालको संविधानसभा चुनावमा बाबुराम भट्टराई यही क्षेत्रबाट निर्वाचित भए ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उनले यही क्षेत्रबाट जिते । २०७९ सालको चुनावमा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट विजयी भए । दुई–दुई प्रधानमन्त्री जन्माएको क्षेत्र भए पनि स्थानीयले त्यसको प्रत्यक्ष लाभ नपाएको गुनासो गर्छन् ।

खानेपानी र सिँचाइ पालुङटारको पुरानो समस्या हो । योजना बने । बजेट आयो । पाइप किनियो । तर स्थानीयका अनुसार पानी भने आएन ।

लक्ष्मीप्रसाद मिश्र भन्छन्, ‘पालुङटार सफेद कागजजस्तै थियो, यहाँ धेरै मान्छेहरू आए आफ्ना–आफ्ना कुरा लेखे । लथालिंग भयो, काम भएन ।’

उनका अनुसार इनार खन्नुपर्ने ठाउँमा कागजी योजना अघि बढाइयो । ‘हामीलाई विकासको नाममा ठगियो,’ उनी भन्छन्, ‘साँच्चै पानी ल्याउने उद्देश्य थियो भने सुरूमा इनार खन्थे होला तर यहाँ त सुरूमा पाइप किनेर थन्क्याइयो ।’

लक्ष्मीप्रसाद मिश्र

पालुङटारका युवाहरूका लागि औद्योगिक क्षेत्र ठूलो आशा थियो । यहीँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । पालुङटार ७ र ८ मा च्याङ्ली औद्योगिक क्षेत्र बनाउने भनेर सम्भाव्यता अध्ययन पनि गरियो ।

औद्योगिक क्षेत्र बनाउनका लागि गण्डकी सरकारले गरेको सम्भाव्यता अध्ययन पनि पुरा भइसकेको जनाएको थियो । तर अध्ययन कार्यान्वयनमा आएन ।

‘औद्योगिक क्षेत्र बनाउने भनेर आए । बनेको केही देखिएन,’ पालुङटार ७ का युवराज गुरुङ भन्छन्, ‘नेताहरू त फटाहा पो रहेछन् । फेरि लाजै नमानी भोट माग्न आउन थाले ।’

सडकको अवस्था सबैभन्दा देखिने समस्या हो । पहिले पिच गरिएको बाटो पनि भत्काएर छोडिएको छ । सडकमा डुङ्डङ्ती उडेको धुलो सिधै स्थानीयको भान्सामा छिर्छ ।

‘पिच बाटो पनि भत्काएर छोडिदिए । धुलोले आँखा खोल्न गाह्रो हुन्छ,’ ६५ वर्षीया ज्ञानकुमारी बस्नेत भन्छिन् ।

मतदाताको मनमा उत्साहभन्दा बढी दिक्दारी छ ।

पालुङटारका बासिन्दा राजनीति बुझ्छन् । नेताहरूको इतिहास थाहा छ । चुनावी समीकरण पनि जान्दछन् ।

आफूहरूले चुनेर पठाएका नेताहरू बदलिएको र गाउँ नबदलिएकोमा उनीहरूको दु:खेसो छ । भोट माग्न आउने नेताहरूसँग उनीहरूले पुराना बाचाहरूबारे सोधिरहेका छन् ।

ज्ञानकुमारी बस्नेत

किनभने पालुङटार केन्द्रमा राखेर सपना बाँड्न कसैले छोडेका छैनन् । चाहे प्रचण्डले भनेको आर्थिक करिडोर होस् या जनार्दन शर्माले भनेको स्मार्ट सिटी, या केपी शर्मा ओलीले बाँडेको फ्लिम सिटीको सपना होस् अथवा गण्डकी सरकारले सुरू औद्योगिक क्षेत्रको संभाव्यता अध्ययन, यी सबै अधुरा छन्, अपुरा छन् ।

पालुङटारसमेत पर्ने गोरखा–२ बाट यसपटक एक स्वतन्त्रसहित १३ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । यहाँ नेकपाबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट मिलन गुरूङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङलगायत प्रतिस्पर्धा गर्दैछन् ।

गोरखा २ का कुल मतदाता १ लाख ८ हजार ५ ३३ मध्ये ३४ हजार ४१३ पालुङटारमा छन् ।

यो चुनावमा मत प्राप्त गर्ने हिसाबले सानो संख्या होइन । सायद यसैले पनि नेताहरू ठूलाठूला सपना बाँडिरहेका थिए, बाँडेकै छन् । तर यसपाली पालुङटारबासीलाई झुट्टा आश्वासनमा अल्झिन मन छैन । मन मरेरै हो सायद, उनीहरूले मत फेर्ने संकेत गरिरहेका छन् ।

तस्बिरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?