+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रलोपाको घोषणापत्र सार्वजनिक

‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:०२

३ फागुन, काठमाडौं । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष परियारलगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै सन्तोष परियार, सुदन किँरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए।

गत भदौ २३-२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा चुनावी अन्तरिम सरकार गठन भई संसद् विघटन भएको र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको नेताहरूले बताए ।

उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धीको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का प्रत्यक्ष उम्मेदवार जन्मदेव जैसीका अनुसार संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेनजी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि उक्त निर्वाचन कोसेढुंगा सावित हुने छ।

प्रलोपाले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ।

अन्य पार्टीभन्दा फरक दाबी प्रलोपा नेतृत्वले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एक पटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको आरोप लगाएको छ।

लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको जनगुनासो बढिरहेको उल्लेख गर्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ।

पार्टीका अनुसार यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुनेछ।

प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?