३ फागुन, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् । २०८१ को मंसिरमा हुने भनिएको १०औं खेलकुदका लागि गण्डकीले त्यसको ७ महिनाअघि बैशाखमा गोरखा बारपाकमा प्रतियोगिता गर्दै पुरुष भलिबल टोली छनोट गर्दा चोखाल महत्त्वपूर्ण सदस्य थिए ।
तोकिएको समयमा खेल नभएपछि चोखाल रोजगारीका लागि जापान पुगिसकेका छन् । चोखालसँगै छनोटमा परेका हरि पाण्डेले पनि एक वर्षअघि नै भलिबलबाट सन्यास लिइसकेका छन् ।
पहिलोपटक तोकिएको समयमा खेल भएन । १०औं राष्ट्रिय खेलकुदको नयाँ मिति तोकियो, जसका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पर्वतमा दोस्रोपटक छनोट प्रतियोगिता गर्यो । गत वर्षको माघमा भएको प्रतियोगिताबाट छनोट भएका खेलाडीको लिष्ट त प्रदेश खेलकुद परिषद्मा पनि पुग्यो । तर खेलाडी अझै पुग्न पाएका छैनन् ।
दोस्रोपटक छनोट भएको एक वर्षभन्दा धेरै समय भइसक्दा पनि १०औं खेलकुद कहिले हुने हो ? टुंगो लागेको छैन । चौथोपटक तोकिएको मितिमा खेल भएको भए, अहिले खेलाडीहरु पदकका लागि प्रतिस्पर्धा गरिराखेका हुन्थ्ये । तर, अहिलेसम्म सरकारले ‘हुँदैन’ भनेर आधिकारिक रुपमा भन्न समेत सकेको छैन ।
गण्डकी मात्र होइन, अधिकांश प्रदेशले राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गरेका थिए । खेलकुद नहुँदा छनोट भएका खेलाडीहरू कहाँ छन् भन्नेमा समेत प्रदेशहरू अनविज्ञ छन् । सुदूरपश्चिम प्रदेश खेलकुदका सदस्य सचिव लोकबहादुर खड्का भन्छन्, ‘एक वर्षअघि छनोट भएको हो । छनोट भएका खेलाडी कता–कता गए । अब हुने भएसी फेरि छनोट गर्नुपर्छ ।’
खड्काकाअनुसार सुदूरपश्चिम प्रदेशमा पर्याप्त खेलकुद संरचना छैन । ‘खेलाडीको मनोबल घटिरहेको छ । २ वर्षमा हुने खेलकुद ४/५ वर्षमा पनि हुँदैन । सरकारको लगानी कमै छ । भएको ठाउँमा पनि यस्तो छ । कसरी खेलाडीको हौसला बढ्छ ?,’ खड्काले प्रश्न गरे ।
जेन–जी मन्त्रीले मिति तोके, राजीनामा दिएर हिँडे
जेन–जीका तर्फबाट मन्त्री बनेका बब्लु गुप्ताले गत कात्तिकमा हतारहतारमा १०औं राष्ट्रिय खेलकुदको मिति तोके । चौथोपटक तोकिएको मिति मन्त्रिपरिषद्बाट स्वीकृत पनि भयो । समिति, उपसमिति पनि बने । तर, खेलकुदमन्त्री नै राजीनामा दिएर हिँडेपछि १०औं खेलकुद झनै अन्योलमा पुग्यो । निर्वाचन गराउन मन्त्री बनेका गुप्ता राजीनामा दिएर निर्वाचनमा होमिए । गुप्ताले राजीनामा दिएपछि युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीकै मातहत छ ।
राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष खेलकुद मन्त्री र संरक्षक प्रधानमन्त्री हुन्छन् । अहिले दुवै जिम्मेवारीमा प्रधानमन्त्री कार्की छिन् । बैठक लाइभ गरेर मिति तोकेको सरकारले तोकिएको समयमा गर्न सकेनौं भनेर बोल्न समेत सकेको छैन ।

खेलकुद स्थगित भएको विषयमा अनौपचारिक रुपमा प्रदेशमार्फत खेलाडीलाई जानकारी गराइएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहता बताउँछन् । ‘खरिद प्रक्रियाका लागि समय पुगेन,’ उनी भन्छन्, ‘मन्त्रीज्यूले समय थपौंला भन्नुभएको थियो । पछि राजीनामा दिनुभयो । लिड पनि गर्नुपर्यो ।’
टंकलाल घिसिङको कार्यकाल सकिएपछि सदस्य सचिवको जिम्मेवारी मन्त्रालयका सहसचिव मेहतालाई प्रदान गरिएको थियो । मंसिर १९ गते पदभार ग्रहण गरेका सदस्य सचिव मेहताले आफू पुग्दा समय ढल्किसकेको दाबी गरे । खेलकुदका लागि कर्णाली प्रदेशले पर्याप्त सहयोग नगरेको उनको आरोप छ । ‘कर्णालीले जति सहयोग गर्नुपर्ने हो । त्यति गरे । गर्नुपर्छ भने गर्नुस् भन्नुभयो । केन्द्रले ल्याएर गर्ने हो भन्ने सोच्नुभयो,’ मेहताले भने ।
किन समयमा हुँदैन राष्ट्रिय खेलकुद ?
योपटक मात्र होइन, यसअघि ३ पटक तोकिएको मितिमा खेल हुन सकेन । नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत सर्यो । आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन ।
फेरि जेठमा गर्ने निर्णय गरेको परिषद्ले त्यसमा पनि गर्न सकेन ।

त्यसपछि जेनजी मन्त्री बनेका गुप्ताले मिति तोके पनि समय नआउँदै मैदान छाडेर हिँडे । किन पटकपटक मिति तोकिन्छ र स्थगित हुन्छ ? भन्ने प्रश्नमा सदस्य सचिव मेहता भन्छन्, ‘पूर्व तयारी बिना मिति तोकिँदा खेल हुन सकेको छैन । क्यालेण्डर हिसाबले गयो भने खेल हुन्छ नि ।’
मेहताले राष्ट्रिय खेलकुद गर्ने कुरा परिषद्को हातमा मात्रै नभएको तर्क गरे । यो ‘बाहिरी हस्तक्षेप’का कारण राष्ट्रिय खेलकुद समयमा हुन नसकेकोतर्फ उनको संकेत हो ।
फरक राजनीतिक धारबाट नियुक्त हुने र एकअर्कालाई सहयोग नगर्ने प्रचलन नेपाली खेलकुदमा नयाँ होइन । कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री हुँदा एमाले कोटामा राखेप उपाध्यक्ष बनेका ध्रुव आचार्यले गत जेठका लागि तोकिएको खेलकुद रोक्न कम्मर कसेर लागे । विषयगत समितिमा मन्त्रीले एकलौटी गरेको भन्दै ध्रुवसहित एमाले कोटाबाट सदस्य बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारे र तेस्रोपटक राष्ट्रिय खेलकुद रोक्न सफल भए ।
तत्कालीन खेलकुदमन्त्री नियुक्त भएर आउँदा तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन नसक्ने र फागुनतिर हुने भनेर भाषण गरे । त्यसपछि उनी र तत्कालीन सदस्य सचिवबिच टकराव सुरु भयो । त्यसपछि पहिलोपटक तोकिएको मितिमा खेल भएन । त्यसपछि पनि मन्त्री चौधरीले विभिन्न बहाना बनाउँदै दोस्रोपटक तोकिएको मितिमा खेल गराउन सकेनन् ।

१० औं राष्ट्रिय खेलकुदका लागि सचिवालय उद्घाटन, लोगो र मस्कट सार्वजनिक भएका छन् । मूल आयोजक समिति गठन भएर बैठक पनि बसिसकेका छन् । विषयगत उपसमिति पनि गठन भएका छन् । तर, अवस्था हातलाग्यो शून्य छ ।
१०औं राष्ट्रिय खेलकुदका लागि नै भनेर हालसम्म ७ वटा बोर्ड बैठक बसिसकेको छ । १२३औं बैठकले १०औं खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा बोर्ड सदस्य डा. मधुसुधन सुवेदीले भनेका थिए, ‘१०औं गर्न सकिन्छ, सकिँदैन क्लियरली निर्णय गरौं । सम्भव छ, छैन र कसरी अगाडि बढ्ने भनेर आजै नै यसलाई टुंग्याएर योभन्दा पछिको बोर्ड बैठक १०औंको लागि नहोस् भन्ने मेरो चाहना छ ।’ उनको चाहना पूरा हुन सकेन । अर्थात् चौथोपटक तोकिएको मितिमा पनि खेल हुन सकेन ।
‘कुर्दाकुर्दा उमेर जाला जस्तो छ’
नवौं राष्ट्रिय खेलकुदमा ३ स्वर्णपदक जितेका टेनिसका प्रदीप खड्का पनि १०औं खेलकुदका लागि काठमाडौं आएर तयारी थालेका थिए । तर, तोकिएको मितिमा खेल नभएपछि उनी तयारी गर्ने की नगर्ने दोधारमा छन् । प्रदीप भन्छन्, ‘बाहिर बसेर ट्रेनिङ गरे । तर, समयमा खेल भएन । कहिले हुने ठेगान पनि छैन । कुर्दाकुर्दा उमेर जाला जस्तो छ ।’
राष्ट्रिय खेलकुद समयमा नहुँदा खड्कासहितका खेलाडीहरु मारमा छन् । मिति तोक्ने र स्थगित गर्ने प्रचलनका कारण खेलाडीहरु राष्ट्रिय खेलकुद हुनेमा विश्वस्त छैनन् । अब कहिले हुन्छ १०औं राष्ट्रिय खेलकुद ? राखेपका सदस्य सचिव मेहता भन्छन्, ‘मलाई असारसम्मको समय दिने हो भने म गर्न सक्छु ।’
प्रतिक्रिया 4