+
+
Shares

३० बिघाको उखु जलेर नष्ट, १ करोड बढीको क्षति

आगलागीबाट स्थानीय २५ जना किसानले लगाएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सुरेश राय सुरेश राय
२०८२ फागुन ४ गते २१:१६

४ फागुन, सिरहा । सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा सोमबार दिउँसो काट्न तयारी अवस्थामा रहेको करिब ३० बिघाको उखुखेतीमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीय २५ जना किसानले लगाएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँ बराबरको उखु जलेर क्षति भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार सोमबार दिउँसो करिब १ बजेको समयमा उखु खेतीको आगलागी भएको हो ।

उखुखेतीको मध्यभागबाट आगो सल्किएको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि समयमै आगो निभ्याउन नसक्दा उखुखेती जलेर नष्ट भएको उनले बताए ।

स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिनबाट भने रोक्न सफल भएको उनको भनाइ छ ।

लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रले करिब ४ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।

आगलागी कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उखुबारीको बीच भागबाट आगो सुरु भएकाले कसैले चुरोट वा बिंडीको ठुटो फालेको वा नियतवश आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

पीडित किसान विष्णु यादवले मलखाद र सिँचाइको अभाव झेल्दै दुःख गरेर हुर्काएको उखु बेच्ने बेला आगलागी हुँदा ठूलो मर्का परेको दुखेसो पोखे ।

‘उखु बेचेर घरायसी व्यवहार र ऋण तिर्ने योजना थियो, तर लागतसमेत डुब्यो,’ उनले भने।

अर्का किसान रामलखन मण्डलले दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरे । ‘जसले आगो लगाएको भए पनि किसानमारा अपराध गरेको हो,’ उनले आक्रोश पोखे ।

किसान रामदयाल मण्डलका अनुसार प्रतिकठ्ठा ३० देखि ३५ क्विन्टलसम्म उखु उत्पादन हुन्छ । चिनी उद्योगले प्रति क्विन्टल उखुको ६२० रुपैयाँ दिन्छ भने सरकारले ७० रुपैयाँ अनुदान दिन्छ । यस आधारमा किसानले प्रति क्विन्टल ६९० रुपैयाँ प्राप्त हुन्छ । उनका अनुसार ३० बिघा क्षेत्रफलको उखुको औसत हिसाब गर्दा करिब १८ हजार क्विन्टल उत्पादन हुने र त्यसको मूल्य करिब १ करोड २४ लाख २० हजार रुपैयाँ पुग्ने अनुमान छ ।

पीडित किसानले क्षतिपूर्ति, राहत र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?