+

लगातार दुई हारपछि अस्ट्रेलिया संकटमा, कप्तान मार्श भन्छन्– भविष्य अरुकै हातमा छ

२०८२ फागुन  ५ गते ११:४१ २०८२ फागुन ५ गते ११:४१
लगातार दुई हारपछि अस्ट्रेलिया संकटमा, कप्तान मार्श भन्छन्– भविष्य अरुकै हातमा छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी–२० विश्वकपमा जिम्बाबे र श्रीलंकासँग लगातार हारपछि अस्ट्रेलियाको सुपर ८ पुग्ने सम्भावना संकटमा परेको छ।
  • कप्तान मिचेल मार्शले ड्रेसिङ रुममा धेरै भावनात्मक माहोल रहेको र भविष्य अरूको हातमा रहेको बताएका छन्।
  • समूह 'बी' मा श्रीलंका ६ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलिया २ अंकसहित तेस्रो स्थानमा छ र ओमान बाहिरिसकेको छ।

५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपमा जिम्बाबे र श्रीलंकासँग लगातार हार बेहोरेपछि अस्ट्रेलियाको सुपर ८ सम्भावना संकटमा परेको छ। कप्तान मिचेल मार्शले टोली पूर्ण रूपमा निराश र स्तब्ध भएको बताएका छन्।

पथुम निसान्काले शानदार शतक बनाएपछि श्रीलंकाले १८२ रनको लक्ष्य १८ ओभरमै पूरा गर्दै अस्ट्रेलियालाई ८ विकेटले हराएको थियो। यो हारसँगै अस्ट्रेलियाको अवस्था झन् जटिल बनेको छ।

अब सुपर ८ मा पुग्न अस्ट्रेलियाले ओमानलाई ठूलो अन्तरले हराउनुका साथै जिम्बाबेले आयरल्यान्ड र श्रीलंकासँग हार्नुपर्नेछ। त्यसपछि पनि नेट रनरेट राम्रो हुन आवश्यक छ, जहाँ हाल जिम्बाबे अगाडि छ।

हारपछि कप्तान मार्शले भने, ‘ड्रेसिङ रुममा धेरै भावनात्मक माहोल छ। हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेनौं। अब हाम्रो भविष्य अरूको हातमा छ। वि आर इन द ल्याप अफ गड्स।’

श्रीलंकाविरुद्ध अस्ट्रेलियाले ८ ओभरमै विकेट नगुमाई ९७ रन बनाएको थियो। तर त्यसपछि १२ ओभरमा सबै १० विकेट गुमाउँदै राम्रो सुरुआतलाई ठूलो स्कोरमा बदल्न सकेन। मार्शले अन्तिम चरणको ब्याटिङलाई हारको मुख्य कारण बताए।

‘हामीले राम्रो प्लाटफर्म बनाएका थियौं, तर अन्त्यमा राम्रोसँग कार्यान्वयन गर्न सकेनौं। साझेदारी टिकाउन नसक्दा आवश्यक रन जोड्न सकेनौं’ उनले भने।

अब अस्ट्रेलियाको ध्यान जिम्बाबे र आयरल्यान्डबीचको खेलमा हुनेछ। नतिजा आफ्नो पक्षमा आए मात्र अस्ट्रेलियाको सम्भावना जीवित रहनेछ।

समूह ‘बी’ बाट श्रीलंका ३ खेलमा ६ अंकसहित सुपर ८ मा पुग्दा जिम्बाबे २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने अस्ट्रेलिया ३ खेलमा २ अंकसहित तेस्रोमा छ । आयरल्यान्ड २ अंकसहित चौथो अनि ओमान अंकविहीन रहेर पुछारमा छ ।

यो समूहबाट ओमान बाहिरिसकेको छ । मंगलबार हुने आयरल्यान्ड र जिम्बाबेबीचको खेलमा जिम्बाबे विजयी भएमा आयरल्यान्डसँगै अस्ट्रेलिया पनि बाहिरिनेछ ।

अस्ट्रेलिया गत संस्करण सुपर ८ सम्म पुगेको थियो । सुपर ८ मा भारत र अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २०२१ मा उपाधि जितेको अस्ट्रेलियाले त्यसयता टी-२० विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन।

अस्ट्रेलिया क्रिकेट टी-२० विश्वकप २०२६ मिचेल मार्श

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय