News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडाका युवा क्रिकेटर युवराज सिंह सम्राले ५८ बलमै शतक प्रहार गर्दै टी–२० विश्वकपमा सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए।
- सम्राले ६५ बलमा ११० रन बनाएर क्यानडालाई १७३–४ को स्कोरसम्म पुर्याए र एसोसियट राष्ट्रका खेलाडीले बनाएको पहिलो टी–२० विश्वकप शतक पनि बने।
- उनको नाम भारतीय क्रिकेटर युवराज सिंहबाट प्रेरित छ र सम्राले आफ्नो क्रिकेट यात्रामा परिवारको ठूलो साथ पाएका छन्।
५ फागुन, मुम्बई । क्यानडाका युवा क्रिकेटर युवराज सिंह सम्रा अहिले आईसीसी टी–२० विश्वकप २०२६ खेल्दैछन्।
सम्राले मंगलबार भइरहेको न्यूजिल्यान्डविरुद्धको खेलमा शानदार शतक प्रहार गर्दै इतिहास रचे । उनले ५८ बलमै शतक पूरा गर्दै टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए।
६५ बलमा ११ चौका र ६ छक्कासहित ११० रन बनाउँदै उनले क्यानडालाई २० ओभरमा १७३–४ को स्कोरसम्म पुर्याए। खेलमा क्यानडा पराजित भएपनि सम्राले आफ्नो प्रदर्शनबाट सबैको ध्यान भने खिचेका छन् ।
यो शतक टी-२० विश्वकप इतिहासमा एसोसियट राष्ट्रका खेलाडीले बनाएको पहिलो शतक समेत हो ।
युवराज सिंहबाट प्रेरित नाम
१९ वर्षीय सम्राको नाम भारतीय महान् क्रिकेटर युवराज सिंहबाटै प्रेरित छ। उनका पिता बलजित सम्राले आफ्ना छोरालाई युवराज सिंहकै जस्तो नामले नामाकरण गरेका थिए।
बाल्यकालदेखि नै सम्रा क्रिकेटप्रति आकर्षित थिए। उनका बुवा लुकेर खेल्न जान खोज्दा पनि उनी पछ्याएर मैदान पुग्थे। ‘म सानो हुँदा बुवालाई सोध्थें, कहाँ जाँदै हुनुहुन्छ? म पनि जान्छु’ सम्राले स्मरण गर्छन्।
बुबाले ब्याटिङ गर्दा त्यहीँ बस्ने उनी बलिङका बेला भने घर फर्किने गरेको बताउँछन् ।

भारतीय क्रिकेटर युवराज सिंह बिग हिटिङका लागि परिचित हुन् । सम्राले युवराज सिंहलाई केही पटक भेटेका पनि छन्। २०१९ मा टोरन्टो नेसनल्सबाट खेल्दा पहिलो भेट भएको थियो भने २०२५ मा फेरि भेट्ने अवसर पाए।
‘उहाँले बल हानेको हेर्दा रमाइलो लाग्छ। बुवा सधैं उहाँजस्तै खेल्न भन्नुहुन्छ, तर म आफ्नै संस्करण बन्न चाहन्छु’ सम्रा भन्छन्।
युवराज सिंहले १८ वर्षको उमेरमा भारतबाट डेब्यू गरेका थिए र २००७ को पहिलो टी–२० विश्वकपमा १२ बलमै अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए। त्यही प्रेरणाले सम्रालाई अगाडि बढाएको छ।
विश्वका मुख्य लिग खेल्ने चाहना
सम्राले ठूला देशका खेलाडी र साना देशका खेलाडीबीचको मुख्य अन्तर मानसिक बल भएको बताउँछन् । उनले महेन्द्रसिंह धोनी र उसमान खवाजाजस्ता खेलाडीबाट शान्त र आत्मविश्वासी रहने कला सिकेको बताउँछन् । ‘डराएर होइन, निडर भएर खेल्नुपर्छ’ उनको भनाइ छ।
सम्राको क्रिकेट यात्रामा परिवारको पनि ठूलो भूमिका छ। उनकी आमाले काम छोडेर छोराको प्रशिक्षण र खेलमा साथ दिइन्। उनी ११ र १२ कक्षामा होम–स्कुलिङ गर्दै हप्तामा ५०० बलसम्म अभ्यास गर्थे। उनका बुबा हरेक खेलपछि फोन गरेर प्रदर्शनबारे सोध्ने गर्छन्।
सम्रा अब विश्वका विभिन्न फ्रेन्चाइज लिग खेल्ने लक्ष्य राखेका छन् । आईपीएलदेखि अन्य प्रमुख लिगमा खेल्ने सपना उनले खुलेर व्यक्त गरेका छन्।
युवराज सिंहबाट प्रेरित सम्रा अहिले आफ्नै पहिचान बनाउने यात्रामा छन्। आगामी दिनहरूमा गर्ने प्रदर्शनबाट क्यानडाले अर्को ‘युवराज’ पायो कि आफ्नै शैलीको नयाँ स्टार जन्मियो भन्ने स्पष्ट पार्नेछ।
प्रतिक्रिया 4