+
टी-२० विश्वकप २०२६ :

सुपर ८ को लक्ष्य राखेको नेपाल कहाँ चुक्यो?

२०८२ फागुन  ५ गते १४:४१ २०८२ फागुन ५ गते १४:४१

नेपालको लक्ष्य दुई टेस्ट राष्ट्रमध्ये एउटालाई स्तब्ध पार्ने अनी दुई एसोसिएट टिम इटली र स्कटल्यान्डलाई हराएर सुपर ८ पुग्ने थियो । तर अहिले तीन खेल खेलिसक्दा नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।

सुपर ८ को लक्ष्य राखेको नेपाल कहाँ चुक्यो?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले सुरुवाती तीन खेलमा पराजित भई समूह चरणबाट बाहिरिसकेको छ।
  • नेपालले इंग्ल्याण्डसँगको पहिलो खेलमा कडा टक्कर दिएको भए पनि इटली र वेस्ट इन्डिजसँग पराजित भएको छ।
  • मुख्य प्रशिक्षक स्टुअर्ट ले सामाजिक सञ्जालले खेलाडीको ध्यान भंग गरेको र टोलीले सुधार गर्नुपर्ने बताएका छन्।

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ मा सुरुवाती तीन खेलमा पराजित भएपछि नेपाल औपचारिक रूपमै समूह चरणबाट बाहिरिसकेको छ । नेपालबाट मुम्बई यात्रामा निस्कँदा नेपालको लक्ष्य राम्रो क्रिकेट खेल्ने र सुपर ८ मा पुग्ने थियो ।

नेपाल रहेको समूहमा अन्तिम समयमा टेष्ट राष्ट्र बंगलादेशको स्थानमा स्कटल्यान्डले विश्वकप खेल्ने भएपछि नेपालको आशा अझ बढेको थियो ।

नेपाल रहेको समूह सी मा दुई पटक टी-२० विश्वकप जितिसकेका वेस्ट इन्डिज र इंग्ल्याण्ड पनि थिए । अर्को टिम थियो टी-२० विश्वकपमा डेब्युटान्ट इटली । इटलीले चार पटक फुटबल विश्वकप जितेपनि क्रिकेटमा खासै चर्चित नाम थिएन ।

नेपालको लक्ष्य दुई टेस्ट राष्ट्रमध्ये एउटालाई स्तब्ध पार्ने अनी दुई एसोसिएट टिम इटली र स्कटल्यान्डलाई हराएर सुपर ८ पुग्ने थियो । तर अहिले तीन खेल खेलिसक्दा नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । अब मंगलबार स्कटल्यान्ड विरुद्ध हुने खेल नेपालका लागि प्रतिष्ठाको खेल हुनेछ । कम्तीमा एक जितसहित नेपाल घर फर्कने लक्ष्यमा छ ।

यस्तै १२ वर्षदेखि टी-२० विश्वकपमा कुनै खेल नजितेको नेपाल त्यो खडेरी पनि तोड्न चाहन्छ । सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गर्दा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो ।

त्यसपछि दुई संस्करण खेल्दा नेपाल ६ खेलमा पराजित भइसकेको छ । दुवै पटक रोहित पौडेल कप्तान थिए । नेपालका लागि सफल कप्तानको रुपमा देखिएपनि रोहति अझै कप्तानको रुपमा टी-२० विश्वकपमा पहिलो जितको खोजीमा छन् ।

अहिलेसम्म नेपालले तीन खेल खेल्दा पहिलो खेलमा इंग्ल्याण्डलाई कडा टक्कर दिनु बाहेक अरु केही राम्रो हुन सकेन ।

नेपालले ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहयो भने टिमको रुपमा पनि राम्रो खेल्न सकेन । स्कटल्यान्ड खेल्नुअघि उपकप्तान दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिज विरुद्ध बनाएको अर्धशतक विश्वकपमा नेपाली ब्याटरबाट १२ वर्षपछि बनेको अर्धशतक थियो । यो इनिङ्स बाहेक अरु सम्झन लायक केही रहेन ।

स्तर अनुसार खेल्न सकेन

तेस्रो खेलमा वेस्ट इन्डिज विरुद्धको हारपछि सोमपाल कामीले नेपालले क्षमता अनुसार खेल्नै नसकेको बताए । उनले नेपालले यो भन्दा धेरै राम्रो खेल्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

‘मलाई थाहा छैन । हामीले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट खेल्यौं, तर त्यसपछि राम्रो प्रदर्शन गर्न सकेनौं’ सोमपालले भने, ‘र यदि तपाईंले उच्च स्तरमा राम्रो खेल्न सक्नुभएन भने, त्यहाँ टिक्न सकिँदैन । हामीलाई थाहा छ, टोलीको रूपमा हामी राम्रो खेलिरहेका छैनौं । त्यसैले हामी हारिरहेका छौं जस्तो लाग्छ।’

सोमपालले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध राम्रो खेलेपनि त्यसपछिका दुई खेल इटली र वेस्ट इन्डिज विरुद्ध नेपालले राम्रो खेल्न नसकेको बताए । ‘वेस्ट इन्डिज र इटालीविरुद्धको खेलमा जस्तो खेल्यौं, हामी त्यसभन्दा धेरै राम्रो टोली हौं। त्यसैले हामी अर्को खेलमा बलियो रूपमा फर्किनेछौं ।’

नेपालले पहिलो खेलमा १८५ रनको लक्ष्य पछ्याउँदा १८० रन बनाउन सकेको थियो । तर त्यसपछि इटली विरुद्ध १२३ रनमा अलआउट भयो भने वेष्ट इन्डिज विरुद्ध १३३ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा नेपालले आफ्नो स्तर देखाउन सकेन । उपपक्तान दीपेन्द्रले वेस्ट इन्डिज विरुद्ध अर्धशतक बनाउन बाहेक अन्य ब्याटर चल्न सकेनन् । यस्तै बलिङमा पनि नेपालका कुनै बलरले वाह गर्न लायक प्रदर्शन गर्न सकेनन् । पहिलो खेलमै डेब्यु गरेका शेर मलले आफ्नो पहिलो बलमै फिल्ड साल्टलाई आउट गर्नु व्यक्तिगत रुपमा राम्रो रहेपनि त्यसपछि उनले निरन्तर खेल्ने अवसर पाएनन् । खेलमा पनि बलरको रोटेसन आवश्यकता अनुसार हुन नसकेको देखियो ।

इंग्ल्याण्डको खेलले बढाएको अपेक्षा

पहिलो खेलमा इंग्लयाण्ड विरुद्ध १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले विश्वकप जितिसकेको टिमलाई कडा टक्कर दिँदै जम्मा ४ रनले मात्र पराजित भएको थियो ।

त्यसपछि खेलपछि नेपाली क्रिकेट टिमको प्रशंसा विश्वभर भए । दक्षिण अफ्रिकाका डेल स्टेनले नेपाललाई सहयोग गर्न गरेको प्रस्ताव देखि भारतका मोहम्मद कैफले नेपाल एसियाको दोस्रो बलियो राष्ट्र बन्न सक्ने सम्मको प्रतिक्रिया दिएको थियो ।

भारतीय क्रिकेट समर्थकहरु देखि अन्तर्राष्ट्रिय मिडियाहरुले सम्म पनि नेपाली क्रिकेटको निकै चर्चा र तारिफ गरेका थिए । नेपाल थोरै चुकेकोमा उनीहरु पनि थोरै निराश थिए ।

यस खेलले नेपाली टिमबाट अझ धेरै अपेक्षा राखेको थियो । इंग्लयाण्ड विरुद्ध हारेपनि नेपाली क्रिकेटको सकरात्मक चर्चा भयो र यसमा धेरैले गर्व गरे । तर त्यो हार हार नै थियो ।

मुख्य प्रशिक्षक स्टुअर्ट ले पनि यस्तै भनेका थिए । प्रशिक्षक लले इंग्ल्यान्डलाई लगभग हराउने नजिक पुगेको खेलपछि विश्वभरबाट आएको प्रशंसाले टोलीलाई मानसिक रूपमा असर पारेको बताएका थिए । ‘इंग्ल्यान्ड झण्डै हराउँदा विश्वभरबाट नेपालको बारेमा धेरै प्रशंसा भयो । त्यो प्रशंसा सुन्न राम्रो हो, तर हामीले खेल हारेको कुरा पनि सम्झनुपर्छ र उच्च क्षणबाट चार दिनमै चरम निराशामा झर्नु मानसिक दृढता होइन,’ उनले भने । वेस्ट इन्डिजसँग खेलुनुअघि प्रिम्याचमा ल ले यसो भनेका थिए ।

नेपालले दोस्रो खेलमा इटली विरुद्ध १० विकेटको लज्जासपद हारपछि पहिलो खेलमा खुशी हुनेहरु सबै निराश भए । नेपाली टिमका खेलाडीदेखि सारा क्रिकेट समर्थकलाई यसले निराश बनायो । इटलीका लागि टी-२० विश्वकपमा यो पहिलो जित ऐतिहासिक थियो तर नेपालका लागि भने त्यो नेपाललाई झस्काउने हार बन्यो ।

सामाजिक सञ्जालले ध्यान भंग गर्‍यो

लगातार दुई हारपछि वेस्ट इन्डिजसँगको खेलअघि प्रि म्याच कन्फेरेन्समा उपस्थित भएका मुख्य प्रशिक्षक स्टुअर्ट ले नेपालको हारको कारणबारे सोध्दा सामाजिक सञ्जालले खेलाडीको ध्यान भंग गरेको प्रतिक्रिया दिएका थिए ।

उनले क्रिकेट हुँदा क्रिकेटमै ध्यान दिनुपर्ने र सामाजिक सञ्जाल जस्ता विषयलाई बाहिर राख्नुपर्ने भन्दै बोल्ड स्टेटमेन्ट नै दिएका थिए । ‘हामीले अहिले सोच्नुपर्ने कुरा भनेको इंग्ल्यान्डसँगको खेलपछि इटलीसँग खेलसम्म किन यति ठूलो अन्तर आयो भन्ने हो,’ उनले भने, ‘नेपालमा सामाजिक सञ्जाल संस्कृति ठूलो छ । तर मेरो विचारमा यसले ठूलो ध्यान भंग गर्न सक्छ ।’

लले यदि खेलाडीहरूले सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र प्रशंसामा बढी केन्द्रित हुँदा टोली, सहकर्मी र खेलले के माग गरिरहेको छ भन्ने कुराबाट टाढा पुग्ने सक्ने बताए ।

यस्तै क्रिकेट बाहेक अन्य विषयमा केन्द्रित हुँदा आफ्नो वास्तविक कामबाट विचलित हुने ल ले बताएका थिए ।

यस्तै खेलाडीहरु प्रायोजन र एन्डोर्समेन्टका लागि सामाजिक सञ्जालमा निर्भर हुनेभएपनि विश्वकपजस्तो प्रतियोगितामा क्रिकेट नै मुख्य कुरा भएकोमा ल को जोड थियो ।

उनले क्रिकेटमा राम्रो खेल्दै जितिरहेका लाइक र फलोअर स्वतः बढ्ने र अनुहार देखाइरहनु जरुरी पनि नहुने बताएका थिए ।

स्कटल्यान्डसँगको खेलअघि नेपाली टिमका कन्सलट्यान्ट प्रशिक्षक निक पोथासले पनि नेपालले गल्ती दोहोर्‍याइरहेको र गल्तीबाट सिक्न नसकेको बताए ।

नेपाली टिममा अहिले खेलाडीहरुले कमजोर प्रदर्शन गरिरहेको सबैले देखिरहेका छन् । तर मुख्य प्रशिक्षक लगायतले नेपाली टिमका खेलाडी मात्र नभएर घुमाउरो पारमा टिम म्यानेजमेन्टको कमजोरी पनि भनिरहेका छन् । खेलाडीले सामाजिक सञ्जाल प्रयोग गर्ने/नगर्ने जस्ता विषयमा क्रिकेट बोर्डमा भर पर्ने विषय हो । त्यसैले अब क्यानले पनि सोच्नुपर्ने बेला आएको छ ।

ब्याटिङमा असफल भयौं : कप्तान रोहित

वेस्ट इन्डिजसँग हारपछि कप्तान रोहित कुमार पौडेलले नेपालको ब्याटिङ असफल भएको स्वीकारे । उनले ब्याटिङमा राम्रो साझेदारी गर्न नसकेको र सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा ढाल्न नसकेको प्रतिक्रिया दिएका थिए ।

‘ब्याटिङ युनिटको रूपमा हामी फेरि असफल भयौं र अब हामीले स्तर उकास्नैपर्छ,’ रोहितले वेष्ट इन्डिजसँगको खेलपछि होस्ट ब्रोडकास्टरसँगको कुराकानीमा भनेका थिए ।

वेस्ट इन्डिजविरुद्ध नेपालले पावर प्लेमा जम्मा २२-३ रन मात्र बनाएको थियो । यो टी-२० विश्वकपमै पावर प्लेमा बनेको सबैभन्दा कम स्कोर हो । यस खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु नेपालको संकट टारेका थिए ।

रोहितले औंल्याएको अर्को कमजोरी थियो ब्याटिङमा साझेदारी बन्न नसक्नु । ब्याटिङमा साझेदारी गर्दै ठूलो स्कोरमा बदल्नु जरुरी रहेकोमा उनको जोड थियो । ‘हामी ब्याटिङ साझेदारी बनाउन चुकिरहेका छौं । २० वा ३० रनको साझेदारी त बनिरहेका छन्, तर त्यसलाई ठूलो साझेदारीमा रूपान्तरण गर्न सकिरहेका छैनौं’ उनले भने, ‘ब्याटरको रूपमा जसले राम्रो सुरुआत पाउँछन्, उनीहरूले त्यसलाई ठूलो स्कोरमा बदल्न सकिरहेका छैनन् । सुधार गर्नुपर्ने क्षेत्र त्यही हो ।’

***

नेपालले स्कटल्यान्डविरुद्ध आज अन्तिम खेल खेल्दैछ । त्यो खेलअघि नै नेपाल समूह चरणबाट बाहिरिसकेको छ र अब अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको खेल हुनेछ ।

सुरुवाती तीन खेलको नतिजापछि नै नेपाली टिमको प्रदर्शन, नेपाली क्रिकेटको संरचना देखि अब नेपालले सुधार गर्नुपर्ने लगायत धेरै विषयमा चर्चा भइरहेको छ ।

अब नेपाली क्रिकेटको आगामी यात्रा र भविष्यको विषयमा विश्वकपछि नै बहस गर्नु जरुरी देखिन्छ ।

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय