+
+
Shares

नेकपाका उम्मेदवारको प्रतिबद्धता : बाँदरको व्यवसायिक पालन र मासु निर्यात

नेपाली कम्युनिस्ट पार्टी धनकुटाले २० बुँदे प्रतिबद्धतामा किसानका बालीनालीमा क्षति पुर्‍याउने बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा पालन गरी मासु र सुकुटी उत्पादन गर्ने प्रस्ताव अघि सारेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन ५ गते १५:४८

५ फागुन, धनकुटा । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

धनकुटाबाट नेकपाले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ भने समानुपातिकतर्फ उम्मेदवार छैनन् । पार्टीले वर्तमान राजनीतिक अवस्थालाई संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएको र सन्तुलन गुमेको टिप्पणी गर्दै यसलाई सही मार्गमा ल्याउन आफ्नो जित आवश्यक रहेको दाबी गरेको छ ।

यो निर्वाचनलाई व्यवस्था पक्षधर र विरोधी शक्तिहरू बिचको प्रतिस्पर्धाको रूपमा चित्रण गरिएको प्रतिबद्धतापत्रमा लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता जस्ता उपलब्धिलाई संरक्षण गर्दै थप मजबुत बनाउन नेकपाले संघर्ष गरिरहेको उल्लेख गरिएको छ ।

उम्मेदवार पौडेलले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएका छन् ।

प्रतिबद्धता पत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, वन विज्ञान तथा पशु विज्ञान संकाय सञ्चालन, अस्पताल स्तरोन्नति, प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल निर्माण तथा औद्योगिक ग्राम स्थापना गर्ने योजना समावेश गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टी धनकुटाले २० बुँदे प्रतिबद्धतामा किसानका बालीनालीमा क्षति पुर्‍याउने बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा पालन गरी मासु र सुकुटी उत्पादन गर्ने प्रस्ताव अघि सारेको छ ।

उम्मेदवार पौडेलले निश्चित स्थान तोकी बाँदर पालन गरेर मासु तथा सुकुटी उत्पादन गरी विदेश निर्यात गर्न सकिने बताएका छन् ।

उनले विद्यमान कानुन परिमार्जन गरेर बाँदर नियन्त्रणलाई व्यवस्थित गर्न सकिने दाबी गरे । ‘किसानको खेतबारी सखाप पार्ने बाँदरलाई नियन्त्रण गर्न निश्चित क्षेत्रमा पालेर आवश्यक पोषण दिई मासु उत्पादन गर्न सकिन्छ,’ पौडेलले भने, ‘चीनलगायतका देशमा बाँदरको मासु र सुकुटीको राम्रो मूल्य छ ।’

पौडेलले आफू निर्वाचित भए वन्यजन्तुसम्बन्धी ऐन संशोधनका लागि पहल गर्ने र बाँदर नियन्त्रण तथा व्यावसायिक उपयोगको योजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । यसबाट किसानलाई राहत मिल्नुका साथै रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ ।

ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति, कच्ची सडक कालोपत्रे तथा ग्राभेल, नाली, पर्खाल र कल्भर्ट निर्माणमार्फत सुरक्षित यातायात व्यवस्था मिलाउने योजना पनि अघि सारिएको छ । विपद् जोखिम व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

कृषि क्षेत्रमा पकेट क्षेत्र विकास, कोल्ड स्टोर, प्रशोधन केन्द्र र वितरण केन्द्र स्थापना, सिँचाइ विस्तार, सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्ने उल्लेख छ । नगदे बाली, पशुपालन, तरकारी तथा फलफूल उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रचार, मिनी रंगशाला निर्माण, खेल पूर्वाधार विकास तथा होमस्टे सञ्चालनलाई प्रोत्साहन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

साथै, विदेशबाट फर्किएका युवालाई सीपमा आधारित स्वरोजगारमा जोड्ने कार्यक्रम ल्याइने जनाइएको छ ।

यसैगरी, शहीद, बेपत्ता तथा घाइते परिवारको संरक्षण, स्वच्छ खानेपानी पहुँच विस्तार, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?