+
+
Shares
स्थलगत :

माओवादी-कांग्रेसले पालैपालो जितेको गोरखा १ सुधन गुरूङको प्रवेशले थप तरंगित

यसअघि गठबन्धनबाटै जित सहज बनाउँदै आएका पार्टीहरुको असली परीक्षा पनि यसपटक हुँदैछ ।

बिनु सुवेदी, अमृत सुवेदी, विकास मरहट्ठा बिनु सुवेदी, अमृत सुवेदी, विकास मरहट्ठा
२०८२ फागुन ७ गते ११:०९

७ फागुन, गोरखा । गोरखा नगरपालिका -३ नारेश्वर मानेपानीमा बाटो छेउमा सानो किराना पसल छ ७२ वर्षिय टिकाराम थापाको । त्यही बाटो भएर हिड्नेहरूले अर्डर गरे भने उनको परिवारले लोकल स्वादको मिठो खाना बनाएर खुवाउँछ । यो परिवारमा कामको पनि समान बाँडफाँट छ । खानाको इन्तजाम छोरी ज्वाईंले गर्छन्, बस्तुभाउको स्याहार गर्ने जिम्मा उनकी श्रीमतिले लिएकी छिन् । थापा भने जापानबाट नातिले पठाएको आइप्याडमा समाचारहरू हेर्छन्, पसल कुर्छन् । त्यसैले देश विदेशका राजनीतिक घटनाक्रममा उनी अपडेटेड छन् ।  मिलेको परिवारमा निकै खुसी देखिन्छन् थापा ।

तर, देशको नमिलेको राजनीतिबारे भने उनलाई निकै चिन्ता र चासो छ । सायद त्यही भएर हो, हामीले आउँदै गरेको चुनावको प्रसंग निकालेपछि थापा नै कुराकानी गर्न अघि सरे । उनले अहिलेसम्म आफूले हालेका भोटको हिसाबकिताब हामीलाई सुनाउन थाले ।

देशमा बहुदल आएपछि २०४८ सालमा भएको पहिलो निर्वाचनमा उनले नेपाली कांग्रेसलाई मत दिएका रहेछन् । त्यो चुनावमा कांग्रेस देशभरबाटै पहिलो दल भएको थियो । तर, पार्टीको आन्तरिक किचलोका कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर २०५१ मा मध्यावधि निर्वाचन गरेपछि त्यही सालको उनको कांग्रेससँग मन मर्‍यो ।

मध्यावधि निर्वाचनमा एमालेलाई भोट दिएका थापाले ०५६ सालको चुनावमा पनि एमालेलाई नै मतदान गरे । उनले हेर्दाहेर्दै देशको राजनीति झन-झन संकटतिर धकेलियो ।

देशको मुहार फेर्छौं भन्दै माओवादीहरू गाउँ-गाउँ छिर्न थाले । माओवादीको एजेण्डाले उनको मन पग्लियो । सशस्त्र संघर्षका बेला माओवादी कार्यकर्ताहरूलाई खाना खुवाए, ०६४  सालको संविधानसभा निर्वाचनयता माओवादीलाई भोट हाले । यसपटक भने अलमल-अलमलमै छन् भोला थापा । ‘सबैलाई हेरियो,केही भएन । नेताहरूले सपना देखाए हामीले सपना देखियो केही पुरा भएन । हेर्नुस् त अहिले, गाउँमा बुढाबुढीबाहेक कोही भेटिन्नन्,’ थापले भने, ‘किन यस्तो भयो त ? यो प्रश्नको जवाफ जसले दिन सक्छ । म त्यसैलाई भोट हाल्छु ।’

तर यो प्रश्नको जवाफ बोकेर कुन नेता उनको घरमा आइपुग्ने हो त्यो भने उनलाई अहिलेसम्म थाहा छैन । अलमल-अलमलमै देखिए थापा । यो अलमल थापामा मात्रै होइन अधिकांश मतदातामा  छ । को सही हुन् र को गलत हुन्  मतदाताले  भेउ पाइसकेका छन् । तर, पुराना नेताहरूले चाहेकोजस्तै गर्न सकेनन भन्नेमा चाहिँ उनीहरु स्पष्टै छन् । आरूघाटकी पम्फा सुर्खेती तिनै मध्येकी एक हुन् । चुनावका बेला आश्वासनका ठेली बोकेर खुट्टै ढोग्न आउने नेताहरूले त्यसपछि गाउँलाई किन चटक्कै बिर्सिन्छन् होला भन्ने कुराको जवाफ उनले अहिलेसम्म पाएकी छैनन ।

त्यसमाथि यसपटक त जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचन भएकाले होला गत भदौ २३ र २४ गतेको घटनाले पनि  उनको मन पोलिरहेको छ । ‘यिनकै पार्टी सरकारमा हुँदा हाम्रा छोराछोरी मारिए ।  अहिले कुन मुख लिएर भोट माग्न आउँछन् हेरौंला,’ सुर्खेतीले भनिन्, ‘बरू भोट नै हाल्दिन तर यो प्रश्नको जवाफ त चाहिन्छ ।’  अघिल्ला निर्वाचनहरूमा गाउँका टाठाबाठाहरूले जता भोट हाल्न भन्यो त्यतै भोट हालेकोमा उनलाई पछुतो लागेको छ । यसपटक आफैले जानीबुझी निर्णय गर्ने भने पनि ठ्याक्कै कसो गर्ने हो भन्ने निर्णय भने पम्फाले पनि गरिसकेकी छैनन् ।

घलाङ देउरालीका  राजेन्द्र दानी यो पटक कसलाई भोट दिने अलमलमा छन् । चुनावी माहोल मात्र होइन आफ्नै मनस्थिती बुझ्न उनलाई गाह्रो भइरहेको छ ।

पहिलेजस्तो सहजै अनुमान गर्न सक्ने परिस्थिती उनी देख्दैनन् । चुनाव जितेर गएकाहरुकै कारण अहिले माहोल बिग्रिएको उनको बुझाइ छ । ‘यसअघि कसले कसलाई भोट हाल्छ भन्ने लगभग थाहा हुन्थ्यो,’ उनले भने, ‘अहिले माहोल बिग्रिएर कता के हो भाछ ।’ पुरानाप्रति बितृष्णा बढेको उनले बताए ।  उनकै कुरामा सही थापिन  ७६ वर्षकी कुन्ताकुमारी दानीले पनि ।

‘भोट दिएपछि फिर्ता गर्न मिल्दैन, त्यसैले बिचार गरेर दिने हो,’ उनले भनिन् ।  उनले कुरा गर्दै थिइन, पदमबहादुर दानी पनि आइपुगे । पदमको आक्रोश कुन्ताकुमारी दानी र राजेन्द्र दानीको भन्दा उच्च थियो । ‘हेर्नुस नानी, कुरा गरे धेर हुन्छ बसे हुन्छ ।  यो भन्दा अघिकाले त सारै रिस उठ्ने काम गरेका छन् । हाम्रा बच्चाहरू त्यसरी नमारेको भए अहिले यसरी कुबेलामा चुनाव नै गर्न पर्दैनथ्यो,’ उनले भने, ‘ भोट माग्न आउनेलाई त भोट दाउराले हानेर लखेटम जस्तो भइच मलाई त ।’  उनी थप जंगिन थालेपछि उनकी श्रीमित कुन्ताकुमारीले रोकिन र भनिन्, ‘भयो भो अब चिन्ता नगर्नुस्, बेकारमा प्रेसर बढ्छ ।’ हामीले नि  उनको प्रेसर थप बढाउन चाहेनौं, अर्को बस्तीतिर लाग्यौं । तर, हामीले घुमेका गोरखा-१ आरूघाट, सहिद  लखन थापा गाउँपालिका,गोरखा नगरपालिकाका आधाउधी भागका नागरिकको आक्रोश भने उस्तै नै छ ।

चुनाव जितेपछि स्थानीयका मागलाई बेवास्ता गर्ने चलन देशका अरू भागमा जस्तै गोरखा १ मा पनि छ ।  अर्थमन्त्री र प्रधानमन्त्री बनिसकेका डा. बाबुराम भट्टराईलाई २०७० सालको निर्वाचनमा यहीका स्थानीयले मत दिएर जिताए ।

यहाँका मतदाताले २०७४ सालको चुनावमा माओवादीका हरिराज अधिकारीलाई जिताएर पठाए, जो आसन्न निर्वाचनमा पनि यही क्षेत्रका उम्मेदवार छन् । २०७९ मा कांग्रेसका राजेन्द्र बजगाई यही क्षेत्रबाट निर्वाचित भए । तर चुनाव जितेपछि स्थानीय तहसम्म उनीहरू आइपुगेनन् । स्थानीयलाई भोट बैंकको रुपमा मात्र हेरिएको भन्दै स्थानीय असन्तुष्ट छन् ।

स्थानीयका अपेक्षा त्यति ठुला छैनन् । गाँस–वास–कपाससँगै स्वास्थ्य, शिक्षा, खानेपानी र बाटोघाटो जस्ता आधारभूत कुरा नै उनीहरुको चाहना हो । तर चुनावका बेला आएर आकासका तारा नै खसाल्छौं भन्नेहरूले त्यसपछि घर अघिल्तिरको धारामा पानी पनि ल्याइदिन सकेनन ।  त्यसैको पनि हिसाबकिताब चाहन्छन् यहाँका नागरिक ।

नेताहरुको चुनावी एजेण्डा पुरा हुन्थ्यो त यतिबेला बुढीगण्डकी आयोजनाबाट विद्युत उत्पादन भइसक्यो । डुवान क्षेत्रका प्रभावितहरु पुर्नवास भएर स्वरोजगारमा लागिसकेका हुन्थे । पर्यटन प्रवर्द्धनले व्यापार व्यवसाय फष्टाएको हुन्थ्यो । प्रभावितहरुको जीवनस्तर फेरिएर समृद्धि तर्फ देश अघि बढीसक्थ्यो । आरुघाट लार्के सडकले चीन छोइसक्थ्यो । उत्तरी गोरखा छुट्टै स्वयत्त क्षेत्र घोषणा भइसकेको हुन्थ्यो । तर दलका यी सबै चुनावी एजेण्डा परिकल्पनामा मात्र सीमित छन् । बरू यसपाली पनि दोहोरिएका छन् ।

हरेक पटकको चुनावी नारामा बुढीगण्डकी आयोजना छुट्दैन । यो पटक पनि उम्मेदवारको मुख्य एजेण्डा नै बुढीगण्डकी छ । सधै चुनावी एजेण्डामात्र बन्ने यो आयोजनाको हालसम्म मोडालिटी समेत टुंगो लगाउन सरकारले सकेको छैन ।

आसन्न निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले केही दिनअघि सार्वजनिक गरेको घोषणपत्रमा बुढीगण्डकी आयोजना मुख्य एजेण्डाको रुपमा देखियो । बेनिघाट आरुघाट लार्के सडक, उत्तरी गोरखालाई स्वायत्त क्षेत्र घोषणा, तिव्वतसँगको नाका खुलाउने प्रयास लगायतका एजेण्डा बोकेर उनी आफ्नो पक्षमा मत मागरिहेका छन् । यसअघि सो क्षेत्रबाट चुनाव जितिसकेका उनी विगतका आफ्ना अनुभव र आफूले थालनी गरेका विकास निर्माणका कामहरु नै मुख्य जित्ने आधार रहेको बताउँछन् ।

२०७४ सालको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई पराजित गरेर चुनाव जितेका अधिकारीलाई यो पटकको चुनाव जित्न त्यही सहज देखिंदैन । यसअघि सांसद हुँदा आफ्नो क्षेत्रमा केही नगरेको आरोप उनीमाथि  छ । त्यो बेला एमालेको साथ पाएका उनलाई पो पटक भने आफ्नो पार्टीका मतदाताकै भोटको भरमा चुनाव जित्नुपर्ने चुनौती छ ।

कांग्रेसका प्रेम खत्री आफूले गरेका सामाजसेवाका कामलाई भोट माग्ने अस्त्र बनाइरहेका छन् । सफल पर्यटन व्यवसायी भनेर परिचित उनी सांसद बन्ने सपना लिएर पहिलो पटक उनी चुनावी मैदानमा छन् । यसअघि सांसद भइसकेका हरिराज अधिकारीदेखि जेनजी आन्दोलनका नेतृत्वकर्ता सुधन गुरुङसम्म उनले प्रतिस्पर्धा गर्नुपर्ने छ ।

१६ वर्षको समाजसेवाको जग नै चुनाव जित्ने आधार रहेको उनी बताउँछन् । बदलिएको कांग्रेसको प्रतिनिधि भएकाले पनि जनताले मत दिनेमा उनी विश्वस्त छन् । तर, उनले सोचेजस्तो सहज भने देखिदैन । २०७९ सालमा सोही क्षेत्रबाट स्थानीयले जिताएर पठाएका कांग्रेसका राजेन्द्र बजगाईंका कारण पनि कतिपय मतदाता रुष्ट छन् । जितेर गएपछि आफ्नो क्षेत्रलाई वेवास्ता गरेको भन्दै उनीहरुले पाख्दै आएका असन्तुष्टिका केही हिस्सा खत्रीले यो चुनावमा सामना गर्नुपर्ने देखिन्छ । पुराना दलले केही गरेनन् भन्ने आरोपबाट उनी आवद्ध दल नेपाली कांग्रेसपनि अछुतो रहन सकेको छैन ।

त्यसमाथि रास्वपाका उम्मेदवार सुधन गुरुङ मुख्य प्रतिस्पर्धीको रुपमा थपिदा सो क्षेत्रको चुनाव पेचिलो बनेको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात एकाएक चर्चामा आएका उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रीपरिषद बिस्तारसम्म जोडिए । नेतृत्वविहीन जेनजी आन्दोलनको मोर्चा सम्हाल्दै मूर्त नेतृत्व दिने उनै थिए । बिभिन्न संघसंस्थासँगै जोडिएर सामाजिक कार्यमा अग्रसर रहदै आएका उनी ‘हामी नेपाल’ नामक संस्थाबाट बढी परिचित थिए ।

जेनजीका मागहरु पुरा गर्ने आश्वासनसहित उनी अहिले आफ्ना लागि मत मागिरहेका छन् । ‘जेनजीका मागहरु पुरा भएको छैन, अहिलेको अन्तरिम सरकारले पनि आन्दोलनको मर्म बुझ्न सकेन,’ उनले भने, ‘आन्दोलनमा होमिएकाले मात्र मर्म बुझ्न सक्छ भनेर म आफै चुनावमा उठेको हु ।’ तर चुनावको परिणाम आफ्नो पक्षमा पार्न उनलाई पनि त्यति सहज देखिंदैन । काठमाडौमा जन्मिएर उतै हुर्केका उनी आफ्नै पुर्ख्यौली थलोसँग त्यति चिरपरिचित छैनन् । माओवादीको राम्रै वर्चस्व भएको सो क्षेत्रमा जीतका लागि उनले पनि कसरत गर्नुपर्छ ।

अर्का प्रतिस्पर्धी एमालेका उम्मेदवार रामचन्द्र (आरसी) लामिछाने पनि अहिले मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन् । गोरखाबाट संसदमा एमालेको प्रतिनिधित्व गराउन आवश्यक भन्दै उनी चुनावी मैदानमा छन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अनेरास्ववियुको प्रारम्भिक तहदेखि केन्द्रको वरिष्ठ उपाध्यक्षसम्मको भूमिकामा उनी रहे । आरुघाटको मंगलटारमा जन्मेका उनी त्यहाँको अभाव दवाव र उत्पीडनबारे आफू चिरपरिचित रहेको दावी गर्छन् । ती समस्या समाधान आफूले गर्न सक्ने दावी सहित मत पाउनेमा उनी विश्वस्त देखिन्छन् । तर कमजोर संगठनका कारण उनले सोचेजस्तो जीत सहज देखिदैन । यसअघि चुनाव जितेर सांसद भइसकेकोदेखि जेनजी आन्दोलनका नेतृत्वकर्तासम्मका उनका प्रतिस्पर्धी रहँदा चुनौती थपिएको छ । आसन्न निर्वाचनमा गोरखा–१ बाट कुल १२ जना चुनावी मैदानमा होमिएका छन् ।

अघिल्ला मतका आधारमा गोरखा-१ मा एमाले कमजोर छ ।

२०७४ सालको निर्वाचनमा गोरखा-१ मा कांग्रेस माओवादीसँग पराजित बनेको थियो । माओवादी र एमालेबीच चुनावी तालमेल हुदाँ कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गठबन्धन गरेको थियो ।

तर, अहिले दलहरुबीच चुनावी गठबन्धन छैन । त्यसैले गोरखा-१ मा उम्मेदवारहरुको असली परीक्षा यसपटक हुँदैछ । प्रतिस्पर्धी दलहरुको सूचीमा रास्वपा पनि थपिएपछि यहाँको प्रतिष्पर्धा थप रोचक बनेको छ । रास्वपाबाट उम्मेदवारी दिएका गुरुङ देश र गाउँको समस्या नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको बताउँछन् । ‘उम्मेदवारहरु मेरो प्रतिस्पर्धी होइनन्, गाउँको समस्यासँग मेरो प्रतिस्पर्धा हो,’ उनले भने ।

अघिल्ला निर्वाचन, स्थानीय होस् वा संघीय मतपरिणाम नियाल्दा यो क्षेत्र माओवादीको राम्रो वर्चश्व भएको क्षेत्र हो । २०७० सालको निर्वाचनमा माओवादीबाट डा. बाबुराम भट्टराई यही क्षेत्रमा विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा माओवादीकै हरिराज अधिकारी विजयी बने । उनले एमालेको साथ पाएका थिए । २०७९ को निर्वाचनमा माओवादी र कांग्रेसबीच भागबण्डा हुदाँ यो क्षेत्र कांग्रेसलाई पर्‍यो ।

तर समानुपातिक मतमा माओवादी अगाडि देखिन्छ ।  ५६ हजार ३६२ सदर मतमध्ये सबैभन्दा बढी माओवादीले १८ हजार ४७१ मत ल्यायो । कुल ५९ हजार ९४३ मत खसेपनि ५६ हजार ३६२ सदर भएको थियो

यता २०७९ कै प्रदेश सभा निर्वाचनमा गोरखा–१ को ‘क’ प्रदेश मा १५ हजार ४५७ मत ल्याएर माओवादी केन्द्रकै कृष्ण धिताल विजयी बने । ‘ख’ प्रदेश माओवादीले कांग्रेसलाई  छाड्यो ।

यसअघिको स्थानीय तह निर्वाचनको मतपरिणाम केलाउँदा सो क्षेत्रमा पर्ने पालिकामध्ये आरुघाटवाहेक अन्य (शहीद लखन, भीमसेन थापा, गण्डकी, धार्चे र चुमनुव्री) को नेतृत्व माओवादीको पोल्टामा छ । यही क्षेत्रमा पर्ने गोरखा नगरपालिकाको १ देखि ७ नम्बर वडामध्ये तीन वटा वडा पनि माओवादीले जितेको छ ।

यी मतपरिणामलाई केलाउँदा सो क्षेत्रमा माओवादीको पकड राम्रै देखिन्छ । तर, अहिलेको परिस्थितिअलि फरक छ ।

चुनावी गठबन्धन नभएका कारण पनि यो पटकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । यसअघि गठबन्धनबाटै जित सहज बनाउँदै आएका पार्टीहरुको असली परीक्षा पनि यसपटक नै हुँदैछ ।

भौगोलिक बिकटताका कारण पनि यो क्षेत्रमा घरदैलो अभियान त्यति सहज छैन । गोरखा नगरपालिकादेखि दुर्गम उत्तरी गोरखासम्मलाई यो क्षेत्रले समेट्छ । सडक सञ्जालको पहुँच नभएका कारण पनि गोरखा सदरमुकामबाट करिब चार दिनको पैदल पश्चात मात्र पुगिने गाउँहरु पनि छन् । त्यसैले घरदैलो गर्न पनि र चुनाव जित्न पनि गोरखा-२ भन्दा यो क्षेत्रका उम्मेदवारलाई बढी कसरत गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?