सामाजिक सञ्जालमा अमेरिकी सेनाले नेपाल प्रवेश गरी टुँडिखेलमा परेड खेलेको तथा नेपालमाथि हस्तक्षेपको संकेत दिएको दाबी गरिएको छ । तर आधिकारिक भिडियो, अघिल्ला वर्षका अभिलेख र नेपाली सेनाका प्रवक्तासँगको कुराकानीका आधारमा उक्त कार्यक्रम सैनिक दिवसका अवसरमा मित्रराष्ट्रका सेनाले प्रस्तुत गर्ने ब्यान्ड डिस्प्ले (सांगीतिक प्रस्तुति) भएको पुष्टि हुन्छ। सैन्य हस्तक्षेप वा कब्जासँग सम्बन्धित दाबीलाई समर्थन गर्ने कुनै प्रमाण फेला परेन।
के हो दाबी ?
६५ हजार फलोअर्स रहेको RJ VJ Kushal Kirati नाम गरेका फेसबुक प्रयोगकर्ताले नेपालमा अमेरिकी सेना आएको, परेड खेलेको र यसले नेपालको सार्वभौमिकतामाथि आघात पुगेको आशयका भिडियो सामग्रीहरू सार्वजनिक गरेका छन्। सेना दिवसको दिन अर्थात् फेब्रुअरी १५ मा मात्रै नेपालमा अमेरिकी सेना आएको दाबीसहितको ३ वटा भिडियो उनले पोष्ट गरेका छन्।
उनले बनाएका भिडियोमध्ये सबैभन्दा बढी फेब्रुअरी १६ को दिन पोष्ट भएको एउटा भिडियो १२ लाख पटक हेरिएको छ। यसलाई ६३ हजारपटक रियाक्ट गरिएको छ भने २ हजार ५ सय पटक कमेन्ट र ११ हजार पटक सेयर गरिएको छ।
हेर्नुहोस् RJ VJ Kushal Kirati नाम गरेका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडियोको स्क्रिन सट

पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
अरू पनि थुप्रै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा अमेरिकी सेनाले परेड खेलेको र नेपालमा विदेशी सेनाको हस्तक्षेप भएको दाबी गर्दै उही भिडियो राखेका छन्।
यस्तै दाबीसहितको फेसबुक पोष्ट भाइरल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘विदेशी सेनाको परेड नेपालको राष्ट्रियतामाथि गम्भीर हमला भएको’ शिलापत्रसँगको कुराकानीमा भनेका छन् ।
शिलापत्रको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विज्ञप्ति नै प्रकाशित गरेर विरोध गरेको छ।
विप्लवको विज्ञप्ति सम्बन्धि प्रकाशित समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
हामीले कसरी जाँच गर्यौँ ?
यो दाबीको तथ्य जाँच गर्न हामीले:
· नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा प्रसारित सैनिक दिवसको लाइभ भिडियो हेर्यौँ
· २०८०, २०८१ र २०८२ सालका सैनिक दिवसका सार्वजनिक भिडियो तथा फोटो तुलना गर्यौं
· नेपाली सेनाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक सामग्री जाँच गर्यौं
· नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतसँग प्रत्यक्ष टेलिफोन संवाद गर्यौं
तथ्य के भेटियो ?
सैनिक दिवसको दिन नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको लाइभ भिडियो हेर्दा त्यो दिन मित्रराष्ट्रका सेनाहरूले ब्यान्डबाजासहित सांगीतिक प्रस्तुति दिएको देखियो। त्यो दिन सार्वजनिक चर्चा भए जस्तो अमेरिकी सेना मात्र होइन, मित्र राष्ट्र भारत र बेलायतका सेनाको पनि ब्यान्ड डिस्प्ले भएको थियो। उक्त कार्यक्रमलाई “परेड” वा “सैन्य हस्तक्षेप” को रूपमा व्याख्या गर्ने आधार भेटिएन।
हेर्नुहोस् २०८२ सालको सेना दिवसको दिन भएको मित्रराष्ट्रका ब्यान्ड बाजामार्फत गरिएको कला प्रदर्शनी
युट्युबको ओरिजिनल लिंक यहाँ छ । अर्काइभ लिंक यहाँ छ।
नेपाली सेनाले आफ्नो फेसबुकमा पेजबाट पनि अमेरिकासहित मित्रराष्ट्र देशका सेनाले देखाएको कलाको भिडियो सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नेपाल आर्मीको फेसबुकबाट सार्वजनिक भएको भिडियो पोष्ट
फेसबुक पोस्टको ओरजिनल लिंक यहाँ छ ।
अघिल्ला वर्षहरूमा के थियो ?
यसबारे तथ्य जाँचको क्रममा यसअघिका वर्षहरूमा पनि मित्रराष्ट्रका सेनाका ब्यान्डबाजामार्फत् कला प्रदर्शनी भएको थियो कि थिएन भनेर खोज्यौँ।
२०८१ सालको सेना दिवसको अवसरमा पनि यसैगरी मित्र राष्ट्रका सेनाहरूले आफ्नो कला देखाएको भन्दै नेपाली सेनाले केही फोटोहरू सार्वजनिक गरेको थियो।
हेर्नुहोस् २०८१ सालको सेना दिवसको फोटो

नेपाली सेनाले गरेको पोष्टको ओरिजिनल लिंक यहाँ छ।
२०८१ सालको सेना दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । Ahileko News नामक युट्युब च्यानलमा सन् २०२५ को फेब्रुअरी २६ मा सेना दिवसको लाइभ भएको देखिन्छ । लाइभ सुरु भएको ५ मिनेट २६ सेकेन्डमा तत्कालीन प्रधानमन्त्री ओलीसहितका उच्च पदस्थ व्यक्तिलाई देख्न सकिन्छ ।
हेर्नुहोस् Ahileko News युट्युब च्यानलको स्क्रिन सट

Ahileko News युट्युब च्यानलको ओरिजिनल लिंक यहाँ छ ।
प्रधानमन्त्री ओली सहभागी भएकै सेना दिवसको कार्यक्रममा पनि अमेरिकी सेनाले ब्यान्डबाजामार्फत् कला प्रदर्शनी गरेको थियो। सो युट्युब च्यानलमा अपलोड भएको भिडियोको १ घण्टा ३१ औँ मिनेटमा अमेरिकी सेनाको प्रस्तुति देख्न सकिन्छ।
अर्काइभ लिंक हेर्न यहाँ क्लिक गर्नुस् ।
२०८० सालको सेना दिवसको अवसरमा पनि यसैगरी अमेरिकालगायत देशका सेनाले नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा कला प्रदर्शनी गरेको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा भेटियो । यो समयमा प्रधानमन्त्री थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
हेर्नुहोस् २०८० सालको सेना दिवसको अवसरमा अमेरिकी सेनाले गरेको कला प्रदर्शनीको भिडियोको स्क्रिन रेकर्ड
२०८० सालको सेना दिवसको दिन नेपाल टेलिभिजनको ओरिजिनल लिंक यहाँ छ ।
नेपाली सेना दिवसको अवसरमा मित्र राष्ट्रका सेनाहरूले देखाउने कलाबारे हामीले नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतसँग कुरा गरेका छौँ ।
नेपालफ्याक्टचेकसँग कुरा गर्दै उनले टुँडिखेलमा अमेरिकी सेनाको परेड नभई ब्यान्ड बाजा प्रदर्शन भएको बताए । यो वर्षमात्रै नभई अघिल्ला वर्षहरूमा पनि यसैगरी कला प्रदर्शन हुने गरेको बताए ।
सुन्नुहोस् नेपाली सेनाका प्रवक्ता बस्नेतसँग गरिएको टेलिफोन कुराकानी
तथ्य जाँच
दाबी: अमेरिकी सेना नेपाल प्रवेश गरी टुँडिखेलमा परेड खेलेको (नेपालमा हस्तक्षप गर्न खोजेको अर्थमा)।
दाबीकर्ता: J VJ Kushal Kirati लगायतका सामा प्रयोगकर्ता।
तथ्य: भ्रामक सूचना । टुँडिखेलमा भएको कार्यक्रम सैनिक दिवसको अवसरमा मित्रराष्ट्रका सेनाले प्रस्तुत गर्ने सांगीतिक ब्यान्ड डिस्प्ले कार्यक्रम हो। यसलाई सैन्य हस्तक्षेप वा कब्जासँग जोड्ने दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भेटिएन। यस्तो प्रचलन यसअघि केपी शर्मा ओली र प्रचण्ड प्रधानमन्त्री हुँदा पनि भएको देखियो।
प्रतिक्रिया 4