News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष साउनदेखि माघसम्म नेपालमा कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
- माघसम्म आयात ११ खर्ब २३ अर्ब र निर्यात १ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ, जसमा क्रमशः १३.६५ र ३२.१९ प्रतिशत वृद्धि देखिएको छ।
- नेपालले सात महिनामा पेट्रोलियम पदार्थ १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर आयात गरेको छ, जुन कुल निर्यातभन्दा बढी छ।
८ फागुन, काठमाडौं । मुलुक निर्वाचनमा होमिएसँगै अर्थतन्त्र समेत चलायमान बन्दै गएको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ७ महिना (साउन–माघ) सम्म वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
विभागको तथ्यांक अनुसार माघसम्म १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड पुगेको छ । निर्यात १ खर्ब ६८ अर्ब १४ करोड बराबर भएको छ । पुससम्म एक महिनामै वस्तु आयात पौने २ खर्ब बराबर भएको छ ।
पुससम्म १० खर्ब ८१ अर्ब बराबर रहेको वैदेशिक व्यापार आकार एक महिनामै १३ खर्ब नजिक पुगेको हो । अर्थात्, एक महिनामा २ खर्ब १० अर्ब रुपैयाँले व्यापार बढेको देखिएको छ ।
एक महिनामै वस्तु आयात र निर्यात दुवैमा उत्साह देखिएको छ । हरेक निर्वाचनले अर्थतन्त्रको आन्तरिक तथा वाह्य क्षेत्र चलायमान बनाउन भूमिका खेल्छ ।
यस समयमा साविकको तुलनामा पेट्रोलियम पदार्थ खपत बढ्छ । सरकारले सवारीसाधन खरिद बढाउँछ । अन्य आवश्यक मसलन्द खपत समेत बढ्ने भएकाले निर्वाचनका बेला वैदेशिक व्यापारमा सुधार देखिने गर्छ ।
तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो ।
माघसम्म वैदेशिक व्यापार अवस्था
आयात : ११ खर्ब २३ अर्ब
निर्यात : १ खर्ब ६८ अर्ब
व्यापार घाटा : ९ खर्ब ५५ अर्ब
कुल वैदेशिक व्यापार : १२ खर्ब ९१ अर्ब
आयात/निर्यात अनुपात : ६.६९
निर्यात हिस्सा : १३.०२
आयात हिस्सा : ८६.९८
आयात/निर्यात दुवै सुधार
चालु आव सुरुबाटै वस्तु व्यापारमा सुधार देखिएको छ । माघसम्म आयात १३.६५ प्रतिशतले बढेको छ । आयात ३२.१९ प्रतिशत वृद्धि भएको तथ्यांक छ । माघसम्म वस्तु आयात ११ खर्ब २३ अर्ब रुपैयाँ बराबर भएको छ । गत आव सोही अवधिमा आयात ९ खर्ब ८८ अर्ब ५८ करोड बराबर थियो ।
वस्तु निर्यात माघसम्म १ खर्ब ६८ अर्ब पुगेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३२.१९ प्रतिशत सुधार हो । गत आव माघसम्म निर्यात २ खर्ब २७ अर्बमात्र भएको तथ्यांक छ ।
कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटा वृद्धिमा भने केही संकुचन आएको छ । यसो हुनुमा निर्यात वृद्धिदर राम्रो हुनु हो । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब बराबर रहेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १०.९१ प्रतिशत धेरै हो ।
गत आव माघसम्म ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो । अहिले कुल व्यापारमा आयात हिस्सा ८६.९८ प्रतिशत र निर्यात हिस्सा १३.०२ प्रतिशत छ । गत आवको तुलनामा निर्यात हिस्सा १४.१९ प्रतिशत सुधार भएको हो ।
कुल निर्यातभन्दा माथि पुग्यो पेट्रोलियम पदार्थ आयात
सात महिनामा नेपालले गरेको कुल वस्तु निर्यातभन्दा यसै अवधिमा आयात गरेको पेट्रोलियम पदार्थ हिस्सा ठूलो हुन पुगेको तथ्यांकले देखाएको छ ।
सात महिनामा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । यो अवधिमा कुल वस्तु निर्यात १ खर्ब ६८ अर्बमात्र छ ।

बढी आयात हुने वस्तुको एकमुष्ट सूचीमा दोस्रो स्थानमा तेलघिउ छ । यस्तो वस्तु आयात सात महिनामा ९३ अर्ब ७५ करोड बराबर छ । आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबर छ । यस्ता वस्तु आयात हुँदा नेपालमा विकास निर्माण कामले गति लिएको संकेत गर्छ ।
त्यसैगरी विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयात ७७ अर्ब ६९ करोड बराबर भएको छ । मेसिनरी र मेकानिकल उकपरण आयात ७७ अर्ब ५३ करोड २५ लाख बराबर भएको भन्सार विभागले जनाएको छ ।
सवारीसाधन आयातमा ६४ अर्ब ८४ करोड विदेशिएको छ । गरगहना र बहुमूल्य धातु आयातमा ४७ अर्ब ७९ करोड विदेशिएको देखिन्छ । मल आयातमा ४२ अर्ब ६३ करोड खर्च भएको छ । तरकारी आयातमा मात्र २२ अर्ब २५ करोड विदेशिएको तथ्यांक छ ।
निर्यातमा समेत वनस्पति तेल वा जनावरको बोसोसहित वस्तुको हिस्सा सबैभन्दा धेरै छ । यस्ता वस्तु निर्यात ७८ अर्ब १९ करोड बराबर छ । कफी, चिया तथा मरमसला निर्यात १२ अर्ब २६ करोड बराबर छ ।
यस्तै रेशा/धागो निर्यात ७ अर्ब ६४ करोड बराबर भएको छ । कार्पेट र भुइँमा बिच्छ्याउने अन्य सामान निर्यात ६ अर्ब ६४ करोड बराबर भएको विभागको तथ्यांक छ । तयारी पोसाक निर्यात ५ अर्ब १५ करोड बराबर भएको छ ।
भारतसँग धेरै व्यापार, आयात/निर्यातमा अगाडि
नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ । नेपालबाट १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ ।
चीन दोस्रो ठूलो व्यापारिक साझेदार हो । त्यहाँबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट चीनतर्फ ९० करोडको मात्र वस्तु निर्यात भएको छ ।
अर्जेन्टिनाबाट ६६ अर्ब ११ करोडको सामान नेपाल आएको छ । यूएईबाट ४१ अर्बको सामान आएको छ । अमेरिकाबाट १७ अर्ब ४४ करोडको वस्तु आयात हुँदा ११ अर्ब २७ करोडको निर्यात भएको छ ।
आयातको पहिलो नम्बरमा कच्चा सोयाबिन तेल
सात महिनामा बढी रकम बराबर आयात भएका वस्तुको पहिलो नम्बरमा कच्चा सोयाबिन तेल छ । यसको आयात ७० अर्ब ९९ करोड रुपैयाँ बराबर भएको छ ।
दोस्रो स्थानमा डिजेल छ । डिजेल आयात ६९ अर्ब ९१ करोड बराबर छ । तेस्रो स्थानमा रहेको पेट्रोल आयात ३८ अर्ब १३ करोड बराबर छ । चौथो स्थानमा खाना पकाउने ग्यास छ । यसको आयात ३१ अर्ब ८५ करोड बराबर भएको छ । यो अवधिमा २६ अर्ब ६८ करोडको स्मार्टफोन भित्रिएको छ । सुन २१ अर्ब २० करोडको भित्रिएको छ ।
निर्यातमा पनि सोयाबिन तेलकै बाहुल्य
निर्यातमा समेत पहिलो नम्बरमा सोयाबिन तेल छ । सात महिनामा ६६ अर्ब ७८ करोड बराबरको सोयाबिन तेल निर्यात भएको छ । दोस्रो नम्बरमा अलँैची छ । यसको निर्यात ८ अर्ब ६१ करोड बराबर छ ।
तेस्रो स्थानमा सनफ्लावर तेल छ । जसको निर्यात ५ अर्ब ७८ करोड बराबर छ । कार्पेट निर्यात ५ अर्ब ७१ अर्ब बराबर भएको तथ्यांक छ ।
अहिले आयात/निर्यात अनुपात ६.६८ छ । अर्थात्, नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६८ रुपैयाँ बराबरको वस्तु आयात गरिरहेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ७.७७ थियो । यस आधारमा निर्यातले राम्रो गति लिएको संकेत गर्छ ।
प्रतिक्रिया 4