+
+
Shares

निकुञ्जको बाघ बस्ती पस्न थालेपछि समुदाय त्रसित, विद्यार्थी विद्यालय जाँदा सेनाको पहरा

पुस महिनामा बाँके राष्ट्रिय निकुञ्जको बाघ बस्ती पसेर कालीमाटी गाउँपालिकाका हात्तीढुंगा र पर्सेनि दुई जनाको ज्यान लिएपछि स्थानीयवासी त्रसित छन् । यस्तै छिमेकी जिल्ला सुर्खेतमा पनि बाघले एक जनाको ज्यान लिएको थियो ।

अमृतबाबु बुढाथोकी अमृतबाबु बुढाथोकी
२०८२ फागुन ८ गते १८:१३

८ फागुन, सल्यान । सल्यानमा बस्तीमा बाघ पस्नथालेपछि संन्त्रासको वातावरण बनेको छ । कालिमाटी गाउँपालिकाका स्वामीवास, हाउखोला, बाटुले, र्‍याङलगायतका बस्ती बाघका कारण त्रस्त छन् ।

पुस महिनामा बाँके राष्ट्रिय निकुञ्जको बाघ बस्ती पसेर कालीमाटी गाउँपालिकाका हात्तीढुंगा र पर्सेनि दुई जनाको ज्यान लिएपछि स्थानीयवासी त्रसित छन् । यस्तै छिमेकी जिल्ला सुर्खेतमा पनि बाघले एक जनाको ज्यान लिएको थियो ।

पछिल्ला दिनमा पनि बाघ बस्ती नजिकै देखिने, कराउने, गाई-गोरु तथा बाख्रा मारेर खानेगरेको स्थानीयवासीले बताएका छन् । स्वामीवास, हाउखोला, बाटुले र र्‍याङ गाउँका बालबालिका अध्ययन गर्न जंगलकै बाटो हुँदा झन्डै डेढ घण्टा पैदलयात्रा गरेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घुइयाँबारी जाने गर्छन् ।

बाघकै त्रासका कारण बालबालिकाहरू एक महिनादेखि नियमित विद्यालयसमेत जान नसकेको स्थानीयवासीले जनाएका छन् ।

सेनाको पहरा

बाघकै त्रासले बालबालिकाको कक्षा प्रभावित भएपछि पछिल्लो समय नेपाली सेनाले बिहान-बेलुकी पहरा दिन थालेको छ । विद्यार्थीहरू सेनाको साथमा नियमित विद्यालय जानथालेका छन् ।

उता अभिभावकहरू पनि समूह बनाएर मात्रै घरबाहिर निस्किरहेको स्थानीय रातो बस्नेतले बताए । ‘नेपाली सेनाले विद्यार्थी त विद्यालय पुर्‍याइरहेको छ । अन्य गाउँवासी डरले एक्लै हिँड्न सक्ने अवस्था छैन,’ उनले भने ।

वन कार्यालयले बाघ नियन्त्रणमा पहल गरेपनि स्थिति सामान्य हुनसकेको छैन । बाघ बस्ती वरिपरि घुमिरहेकाले त्रासमा कुनै कमी नआएका कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनकाअनुसार कर्णाली प्रदेश सरकारसँग विद्यार्थीको सुरक्षित आवतजावतका लागि विद्यालय बसको माग गरिएको छ ।

उनले भने, ‘तत्कालका लागि विद्यालय बस मागेका छौँ । दीर्घकालीन समाधानका लागि मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन र बस्ती सुरक्षाका योजनामा पनि काम अघि बढाइँदैछ ।’

२०६४ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि यस क्षेत्रमा बाघलगायत जंगली जनावरको संख्या बढेको छ । जसले मानव वन्यजन्तु द्वन्द्व तीव्र बनेको छ । संरक्षण क्षेत्र वरपरका बस्तीमा सुरक्षा चुनौती गम्भीर बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?