९ फागुन, धनकुटा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक हजार दुई जना कर्मचारी खटाइने भएको छ । एक मात्रै निवाचन क्षेत्र रहेको धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले खटाइने कर्मचारीको विवरण यकीन गरी सार्वजनिक गरेको छ ।
धनकुटामा ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र कायम गरिएका छन् । यस्तै धनकुटामा जिल्ला कारागार र गोकुण्डेश्वर माविमा गरि २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रमा कारागारमा कैदीबन्दी र गोकुण्डेश्वर माविमा निर्वाचनमा नखटिएका कर्मचारी तथा सुरक्षा कर्मीले मतदान गर्ने छन् । जहाँ समानुपातिकको मात्रै मतदान हुनेछ ।
प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिने भएका छन् । एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी खटाइनेछ । यस्तै एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ ।
धनकुटामा रहेका १ सय ६६ मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन् । धनकुटा नगरपालिका–६ स्थित बहुउदेश्य सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ ।
निर्वाचन अधिकृतको कार्यलयका अनुसार यस केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधकारी, सहायक कर्मचारी रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई खटिने भएका छन् । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा सीता राई खटिने भएकी छन् ।
निर्वाचनमा धनकुटा जिल्लामा एक हजार २ कर्मचारी खटाइने भएको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामका अनुसार १ सय ६६ मतदान केन्द्रमा उपसचिव र शाखा अधिकृत र अधिकृत छैठौं तहका कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाइएको छ ।
यस्तै सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका कर्मचारी तथा सहायक कर्मचारीका लगि खरिदार स्तरका कर्मचारी र शिक्षक र सहयोगी कर्मचारीका लागि कार्यालय सहयोगि खटाइएको छ । धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १४ राजनितिक दलका र ३ जना स्वतन्त्र गरि १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया 4