News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ।
- एपीएफका कप्तान रोहित पौडेलले ५६ रन अविजित बनाए भने आसिफ शेखले ५९ रन बनाए।
- बलिङमा इर्शाद अहमदले पाँच विकेट लिए भने बागमतीका कप्तान इशान पान्डेले सर्वाधिक ८४ रन बनाए।
८ फागुन, काठमाडौं । बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे भने आसिफ शेखले आउट हुनुअघि ५९ रन बनाए । दीपक बोहराले १२ रन बनाउँदा लोकेश बम ५ रनमा अविजित रहे ।
पहिलो दिनको समाप्तिमा ३१ रनले पछाडि रहेको अवस्थाबाट ब्याटिङ थालेको बागमतीले अलआउट हुँदै १६७ रन बनाएको थियो र १३६ रनको अग्रतासहित एपीएफलाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
बागमतीका लागि कप्तान इशान पान्डेले सर्वाधिक ८४ रन बनाए । शुभ कंसाकारले २६ तथा आशुतोष घिरैयाले २१ रन बनाए ।
एपीएफका इर्शाद अहमदले ५ विकेट लिँदा अभिशेष गौतम र रोहित पौडेलले २-२ विकेट लिए । इर्शादले पहिलो इनिङमा ३ विकेट लिएका थिए ।
खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा ५४.५ ओभर खेलेर २०७-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । बागमतीका लागि बिबेक मगरले सर्वाधिक ४२ रन बनाएका थिए । आशुतोष घिरैया र रिजन ढकालले समान ३५ रन बनाए भने शुभ कंसाकारले ३४ रन बनाए । सूर्य तामाङले २७ रन बनाए ।
एपीएफका लागि इर्साद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २-२ तथा अमरसिंह राउटेला र अभिशेष गौतमले १-१ विकेट लिए ।
त्यसपछि जवाफी ब्याटिङमा एपीएफ ४९.२ ओभरमा ३२ रनको अग्रतासहित २३९ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित पौडेलले अविजित ८७ रन बनाए भने सन्दीप जोराले ६१ रन बनाए ।
दीपक बोहराले ३८ तथा आसिफ शेखले २८ रन बनाए । लोअर अर्डर ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।
बागमतीका लागि रिजन ढकालले ३ विकेट लिँदा बिपिन आचार्य र सूर्य तामाङले २-२ अनि तिलकराज भण्डारी र इशान पाण्डेले १-१ विकेट लिए ।
शुक्रबार नै दोस्रो इनिङ थालेको बागमतीले दिनको समाप्तिमा १ रन जोड्दा १ विकेट गुमाएको थियो ।
प्रतिक्रिया 4