+
+
Shares

बालेनलाई गगनको कटाक्ष- रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ

‘सडक समयमा किन बन्दैन भनेर केही समयदेखि नेपाली कांग्रेसमा पूर्वाधार मीमांसा भनेर एउटा कार्यक्रम मैले चलाइरहेको छु,’ सभापति थापाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १७:०६

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ‘यस्तो बहस छाडेर अहिले काम नगरे रुखमा झुन्ड्याइदिन्छु ! हामीले सुनेका भाषा अथवा सोचहरू सुनिन्छन्,’ सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने ।

केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए । सँगै समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।

त्यसको प्रतिवादमा कांग्रेस सभापति थापाले यस्तो बताएका हुन् । सबैलाई फटाहा भनेर आफ्नो हातमा चाबुक छ भन्दै तर्साएर मात्रै विकासले गति नसमात्ने उनले बताए । ‘यस्तो चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ,’ उनले अगाडि भने ।

देशलाई सुधार, सुशासन, विकास चाहिएको बताउँदै उनले त्यो विधिको मूल्यमा नभएको बताए । उनले अगाडि भने, ‘त्यो लोकतन्त्रको मूल्यमा होइन । यो लहडमा हुने होइन, सुधार भन्ने कुरा महँगो हुन्छ ।’

‘कांग्रेससँग योजना छ’

सडक समयमा नबनेको भन्ने गुनासो सबैसँग रहेको पनि सभापति थापाले बताए । त्यसमा आफूले काम गरेको पनि उनले सुनाए ।

‘सडक समयमा किन बन्दैन भनेर केही समयदेखि नेपाली कांग्रेसमा पूर्वाधार मीमांसा भनेर एउटा कार्यक्रम मैले चलाइरहेको छु,’ सभापति थापाले भने ।

त्योभन्दा पहिलो आफूले हुलाकी राजमार्गको यात्रा गरेको उनले बताए । ‘मैले पुल हेरेँ, सिँचाइको नहर हेरेँ, सबै कुरा हेरेँ । र, काठमाडौं गइसकेपछि मैले एउटा मिसन जस्तो काम गरेँ,’ सभापति थापाले भने । त्यो काम गर्दा आफू कम्तीमा पनि ४१ वटा कानुनले अवरोध सिर्जना गर्दो रहेछ भन्ने थाहा पाएको उनले बताए ।

‘सबैभन्दा पहिला त के बदल्नुपर्ने रहेछ नेपालमा भने सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि, गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेलाई ठेक्का दिने कानुन नबनाउँदासम्म जति चटक गरेर आए पनि त्यो कानुन रहँदासम्म काम समयमा नसकाउने रहेछ,’ उनले भने ।

ऊर्जाको योजना बनाउन एउटा प्रवर्द्धकले लाइसेन्स लिएपछि २७ वटा ढोकामा जानुपर्ने आफूले पाएको सभापति थापाले बताए । ‘२७ वटा ढोका पुगिसकेपछि पनि काम सुरु गर्न उसलाई दुई वर्ष अतिरिक्त लाग्ने रहेछ,’ उनले भने, ‘२७ ठाउँमा जाने कानुनलाई रोकेर एक ठाउँ गए पुग्ने बनाए पो त्यसपछि कामको गति सुरु होला ।’ यस्ता गति सुधारे मात्रै काम छिटो हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?