१० फागुन, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ पाटनका लेशमान बज्राचार्यले अहिलेसम्म पाँच वटा निर्वाचनमा मतदान गरिसके । तर आफ्नो क्षेत्रबाट जित्ने कुनै पनि उम्मेदवारले संसद्मा बलियो आवाज उठाएको उनलाई थाहा छैन ।
काष्ठकर्ममा व्यस्त लेशमानले आइतबार अनलाइनखबरसँगको कुराकानीमा भने, ‘जुन उम्मेदवारले जिते पनि संसद्मा खासै आवाज उठाएको देखिँदैन । यसपालि पनि त्यस्तै त होला ।’
नयाँदेखि पुराना पार्टीसम्म अहिले जोडतोडले चुनावी क्याम्पेनमा छन् । ‘हामी आफ्नो काममा व्यस्त हुन्छौं, आउनुहुन्छ, भोट माग्नुहुन्छ । माहोल त्यस्तै त हो,’ उनले भने ।
ललितपुर–२ तुलनात्मक रूपमा शहरी र विकसित भेगमा पर्छ । हामीले मतदातासँग कुरा गर्दा स्थानीयको अपेक्षा स्थानीय विकास निर्माणभन्दा पनि देश राम्रो होस् भन्नेमै जोड थियो । लेशमानको पनि अब आउने नेतृत्वले देशलाई सही बाटोमा लैजान सकोस् भन्ने अपेक्षा छ ।

पाटनको पुरानो बस्तीमा आफ्नै किराना पसलमा भेटिएकी ईश्वरी तण्डुकारलाई पनि प्रतिनिधिसभा निर्वाचनसँग ठूलो अपेक्षा छैन । पसल अगाडिकै एक निर्माणाधीन मन्दिर बनाउन लामो समय लगाएको आँखै अगाडि देखिरहेकी उनको क्षेत्र वर्षायाममा आउने भेलपानीबाट पनि समस्यामा पर्छ ।
पाटन क्षेत्रका धेरै चोक राम्रा भइसके । तर पुरानो बस्तीका चोक अझै पनि व्यवस्थित नभएकोमा उनको गुनासो छ । सो भेगमा पनि नेताहरू भोट भोग्दै पुगेका छन् । भोट दिनुहोस् भन्छन् । तर स्थानीयका स–साना समस्यामा जानकार नेता छैनन् । सोही कारण उनलाई यस पटक पनि ठूलो अपेक्षा भने छैन ।
कतिपय पार्टीका उम्मेदवार गाडीमा गीत बजाउँदै आउँछन् । उम्मेदवार को हुन् उनी चिन्दिनन् । ‘ठूलाबडालाई खासै चासो छैन, हामीले उम्मेदार को हो पनि चिन्दैनौं । यसपालि चुनावको माहोल यस्तै छ,’ उनी भन्छिन् ।
ललितपुरमा तीन वटा निर्वाचन क्षेत्र छन् । ललितपुर–१ का बासिन्दा विकास शाहीको व्यापार–व्यवसाय क्षेत्र नम्बर २ मा पर्छ । उनी यस पटक कसलाई मत दिने भने अझै अन्योलमा छन् ।

‘नयाँ पार्टीले राम्रो विकल्प दिन सकेनन्, पुराना त पुराना भइहाले,’ आगामी निर्वाचनबारे उनको विश्लेषण यही हो । आफूले यस पटक अन्योल देखेको उनी बताउँछन् । नयाँ पार्टीहरूले मैदानमा उतारेका अनुहारप्रति ढुक्क हुन नसकेको अवस्था र पुराना पार्टीले सच्चियौं भने पनि विगत हेर्दा विश्वास गरिहाल्न सकिने अवस्था नभएको उनको निष्कर्ष छ । उनी पनि ललितपुर भित्रै धेरै ठूला समस्या देख्दैनन् । समस्या मुलुक बन्न नसक्नु नै रहेको उनले बताए ।
‘भारतले एक दिन नाका बन्द गर्यो भने हामी भोकै हुन्छौं,’ उनी भन्छन्, ‘खै त देश आत्मनिर्भर बनाएको ? खै त स्वदेशी उत्पादनले आफ्नो पेट पाल्न सक्ने बनाएको ? देशको यस्तै अवस्था देखेर मानिस ले बरु राजा ठिक थियो कि भन्ने गरेको समेत उनले बताए ।
‘राष्ट्रपति जनताको छोरो भन्छन्, तर त्यहाँ पार्टीको मान्छे पुग्छन्, त्यस कारण राजा चाहिन्छ भनिएको हो,’ उनले भने । यो व्यवस्थाप्रति नै प्रश्न उठ्ने वातावरण नेता र दलको गतिविधिले सिर्जना गरेको शाहीको विश्लेषण छ । सोही कारण अबको नेतृत्वले विदेशबाट आयात गरेर मुलुक धान्नुपर्ने अवस्था हटाउनुपर्ने उनको सुझाव छ ।

लगनखेलमा आफ्नो व्यवसाय गरिरहेका उत्तमरत्न शाक्यले यस पटक विगतमा जस्तो चुनावी माहोलको अनुभव गरेका छैनन् । ‘८४ मा हुनुपर्ने चुनाव ८२ मै हुनुपर्ने भएर हो कि खासै माहोल देख्दिनँ,’ अनलाइनखबरसँग उनी अनुभव सुनाउँछन्, ‘बाध्यताले चुनाव गर्नुपर्यो, सोही कारण जाउँ भनेर लागे जस्तो मात्र छ ।’
उनको अनुभवमा पनि ललितपुर–२ मा स्थानीय समस्या स्थानीय सरकारबाटै समाधान गर्नुपर्छ । प्रतिनिधिसभा सांसदले देशकै समस्या समाधानमा ध्यान दिनुपर्छ । अहिले सबैजसो ठूला दलले आ–आफ्नो तरिकाले भोट माग्ने गरेका छन् । विगतमा ठूला र पुराना पार्टीका गतिविधिले बढी चुनावी माहोल ल्याउँथ्यो । जेनजी आन्दोलनपछि उनीहरूले विगतमा जसरी प्रचार–प्रसार नगरेको उनको अनुभव छ ।
शाक्यलाई नेताहरूको बोली र गराइमा फरकपन पटक्कै मन परेको छैन । सोही कारण देशले भदौ २३ र २४ को आन्दोलन भोग्नु परेको उनी बताउँछन् । कम्तीमा बोली र व्यवहार एउटै भइदिएको भए आज यो अवस्था नआउने उनी बताउँछन् ।
विगतको तुलनामा ललितपुर धेरै विकास भएको छ । तर उनलाई यो विकास हो कि विनास जस्तो पनि लाग्छ । ‘आज मान्छेसँग मान्छे डराउनुपर्छ, सडकमा निस्किएपछि फर्केर आइन्छ–आइन्नँ ग्यारेन्टी छैन,’ उनी गुनासो गर्छन्, ‘विकास त भयो, के भयो भयो ।’

ललितपुर जस्ता पुरातात्विक विरासत बोकेका शहरलाई धेरै व्यवस्थित गराउन सकिने भन्दै उनले अब दलहरू सुध्रिन्छौं भन्दासमेत विश्वास लाग्न छाडेको बताए । किनकि, उनीहरूले यस्तै भन्दै धेरै पटक झुक्याएका छन् । त्यसैले यस पटक ललितपुर–२ मा पुराना दलसँगै नयाँ दल र उम्मेदवारको कडा टक्कर हुने उनको विश्लेषण छ ।
यो क्षेत्रका स्थानीयवासीका अनुसार यहाँ उज्यालो नेपाल पार्टीले स्थानीय अभियन्ता राजाराम तण्डुकारलाई मैदानमा उतारेर ठूला, पुराना र चर्चित नयाँ दलहरूलाई पनि चुनौती दिएको छ । तण्डुकार खोला किनारसम्बन्धी मापदण्ड हटाउन निरन्तर सक्रिय अभियन्ता हुन् ।
महालक्ष्मी नगरपालिकाका स्थानीय राजु पन्थी युवा पलायन रोक्न नसके अबको एक दशक भित्रै संकट देखिने भन्दै आगामी निर्वाचन त्यसको प्रस्थान विन्दु हुनुपर्ने बताउँछन् । ‘कम्तीमा ललितपुरबाट संसद्मा जाने सांसदसँग युवा पलायन रोक्न सक्ने भिजन होस्,’ उनी भन्छन्, ‘त्यसो नहुने हो भने अबको १० वर्षपछि नै मुलुक संकटमा जाने निश्चित छ ।’

खासगरी श्रमयोग्य जनशक्ति नहुने अवस्थाले मुलुक विकसित नहुने भन्दै उनले २० देखि ४० वर्षका नागरिक किन नेपालमा बस्नसक्ने वातावरण भएन, यसमा गम्भीर हुनुपर्ने बताउँछन् ।
संसद्मा यसबारे गम्भीर बहस हुनुपर्ने र सही नीति निकाल्नुपर्ने उनको अपेक्षा छ । अन्य मतदाताझैं उनी पनि स्थानीयस्तरका समस्या अब संघीय सांसदले बोक्न नहुने बताउँछन् ।
स्थानीय उत्तमरत्न शाक्य उनको कुरामा सहमत छन् । खर्च गर्न मन लाग्ने युवा उमेरमा पढ्दै कमाउँदै गर्ने विकल्प नहुँदा बढी नैराश्यता सिर्जना गर्ने भन्दै उनी भन्छन्, ‘कम्तीमा पढ्ने केटाकेटीले पकेट खर्च आफैं जुटाउन सक्ने अवस्था यहीं होस् न । मान्छे यति साह्रो आत्तिदैन नि ।’
अहिले युवा पुस्ता राजनीतिमा जुर्मुराएको अवस्था छ । यस निर्वाचनले संसद्मा युवाको प्रतिनिधित्व बढाउन सके युवामैत्री र व्यवसायमैत्री नीति बन्न सक्ने आशा उनको छ । म चाहन्छु, नीति निर्माण तहमा नेपाल सुहाउँदो नीति बनाउन सक्ने नेतृत्व पुगोस्,’ उनी भन्छन् ।

यस्तो छ चुनावी गणित
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर–२ मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १६ उम्मेदवारले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् भने ७ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेकपा एमालेबाट प्रेमबहादुर महर्जन, नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राजेन्द्र अमात्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुवरराज थापा, जनता समाजवादी पार्टी, नेपालबाट रोहिणी कस्ती, उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार, श्रम संस्कृति पार्टीबाट सरोज राई, नेपाल मजदुर किसान पार्टीबाट चिरिमैयाँ महर्जन (लाखाजु), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जनलगायत उम्मेदवार छन् ।
ललितपुर–२ समयदेखि एमालले जित्दै आएको क्षेत्र हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका थिए । उनले १५ हजार २५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८ हजार ८८६ मत प्राप्त गरेका थिए ।
यो क्षेत्रमा २०७९ सालको निर्वाचनमा ६४.६२ प्रतिशत मत खसेको थियो । समानुपातिकतर्फ भने रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । रास्वपाले ११ हजार ८९५ मत ल्याउँदा एमालेले ११ हजार ८५ मत प्राप्त गरेको थियो । त्यस्तै, नेपाली कांग्रेसले ९ हजार २५२ मत र राप्रपाले ७ हजार ६९५ मत तथा हाम्रो नेपाली पार्टीले ४ हजार ४३ मत प्राप्त गरेको थियो ।
८९ हजार ८२ जना मतदाता रहेको ललितपुर–२ मा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । ४८.६० प्रतिशत पुरूष र ५१.४० प्रतिशत महिला मतदाता रहेका छन् । यो क्षेत्रमा ३९ वटा मतदानस्थल तथा १०४ मतदान केन्द्र छन् ।
ललितपुर–२ मा २०४८ सालदेखि पटकपटक एमालेले जित्दै आएको छ । २०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी भएका थिए । त्यस्तै, २०७९ सालको निर्वाचनमा समेत तत्कालीन माओवादी केन्द्र एकीकृत समाजवादीबीच गठबन्ध हुँदासमेत प्रेमबहादुर महर्जन निर्वाचित भएका थिए । एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनलाई नेपाली कांग्रेसले सहयोग गरेको थियो ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4