११ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र महिला १९ छन् ।
०७९ को निर्वाचनमा फोतगाउँमा जम्मा ३४ मतदाता थिए । यस पटक ६ जना थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
यो गाउँमा एउटा मात्रै मतदान केन्द्र छ । जुन वडा कार्यालयमा छ । २०७९ को संसदीय निर्वाचनमा ३४ जना मतदातामध्ये ३१ जनाले मात्रै मताधिकार प्रयाेग गरेका थिए ।
सदरमुकाम दुनैदेखि हप्तौँ पैदल हिँडेर पुगिने फोत गाउँमा आधारभूत सेवा समेत नभएर कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यता खेपिरहेको वडा सदस्य कोइजोर गुरुङले बताए ।
अहिले पनि फोत गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत् लगायतका सामान्य सुविधा पुगेका छैनन् । सो गाउँमा सुविधा पुर्याउन पनि सहज नभएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने वडा सदस्य गुरुङको मत छ ।
यस्तै शे–फोक्सुन्डो गाउँपालिकाकै वडा नम्बर ७ मा पनि ९६ जना मात्रै मतदाता संख्या छ ।
प्रतिक्रिया 4