+
+
Shares

धनकुटामा जताततै आचारसंहिता उल्लंघन

पाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन् ।

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन ११ गते १९:२३

११ फागुन, धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि गरिरहेका छन् ।

फागुन २१ मा हुने निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत गतिविधिलाई प्रश्रय दिइरहेका हुन्। मुख्य-मुख्य बजार तथा चोकमा पार्टीका रंगीबिरंगी झन्डा टाँगिएका छन्।

धनकुटा सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । ग्रामीण क्षेत्रमा पार्टीको चिह्न अंकित झन्डा राखेको र केही ठाउँमा पार्टीको चिह्न अंकित तोरण समेत टाँगिएका छन् । कार्यकर्ताले चुनाव प्रचारका क्रममा धेरै ठूला झन्डा प्रयोग गरेको देखिएको छ ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि नेपाली कांग्रेश, एमाले र नेकपाले धनकुटा बजार तथा ग्रामीण क्षेत्रमा साउण्ड सिस्टम गाडीमा राखेर घन्काउँदै ओहोरदोहोर गराइ‍रहेका छन् ।

पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको बजाएका छन् ।

यस्तै एमाले र नेकपाका उम्मेदवारले उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अजित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख भए पनि टोपमा निर्वाचन चिह्नको प्रयोगलाई बढावा दिइरहेका छन् ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झन्डा, चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ । तर, उनीहरुले फ्लेक्समा उम्मेदवारहरूको ठुल्ठूला फोटोसमेत छापेर प्रचार गरिरहेका छन् ।

बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने नियम बनाइए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ताहरू गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारका घरमा तोकिएको क्षेत्रबाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु आचारसंहिता उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारी बताउँछन् ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नाम निर्वाचन आचारसंहिताको पालनामा दलहरु प्रतिबद्ध हुनुपर्ने बताउँछन् ।

‘सार्वजनिक स्थानमा त्यसरी झन्डा राख्न पाइँदैन’, उनले भने, ‘हामी दलका प्रतिनिधिहरूसँग त्यस विषयमा छलफल गर्छौं ।’

यस्तै नेपाली कांग्रेश धनकुटाका उम्मेदवार दिनेश राईले घरदैलो अभियानमा महिलालाई रुद्राक्ष माला र पुरुषलाई टोपी उपहार दिएका थिए । निर्वाचन आचारसंहितामा उम्मेदवारले मतदातालाई उपहार दिन नपाइने उल्लेख छ । यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले सहिदभूमिमा बासुरी बाधक महिलालाई उपहार दिएका थिए ।

नेकपाका उम्मेदवार धर्म पौडेलले निर्वाचन चिन्ह रहेको टोपीको प्रयोग र गाडिमा ठूलो साउण्डमा चुनावी गित बनाउँदै हिडिरहेका छन् ।

जनप्रतिनिधिनै गर्छन् उल्लंघन

धनकुटा जिल्लामा जनप्रतिनिधिबाट पनि आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवि खनाल, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई चुनावी कार्यक्रममा व्यस्त छन् । जिल्ला समन्वय समिति प्रमुख तामाङ, उपप्रमुख राई र सहिदभूमि गाउँपालिका अध्यक्ष राई सामाजिक सञ्जालबाट पनि पक्ष विपक्षमा बहस गरिरहेका छन् ।

२ वटा मात्रै लिखित उजुरी

प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा आचारसंहिता उल्लंघनविरुद्ध २ वटा लिखित उजुरी परेको छ ।निर्वाचन अनुगमन समितिका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले एमाले उम्मेदवार राजेन्द्र राई र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङविरुद्ध उजुरी परेको जानकारी दिए । रेग्मीले उजुरीमाथि आवश्यक कारबाही पनि भइसकेको बताए । आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको भइरहेको रेग्मीको भनाइ छ ।

आचारसंहिता उल्लंघन गर्नेलाई के कारबाही हुन्छ ?

धनकुटा हालसम्म २ वटा लिखित उजुरी परेको हल भइसकेको छ । मौखिक उजुरी दैनिक रुपमा पर्ने गरेको र मौखिक रूपमै सचेत गराइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता उल्लंघन गर्नेलाई सुरुमा सचेत गराउने त्यति गर्दा नमानेमा प्रहरी प्रशासन लगाएर प्रचार सामग्री हटाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत इङ्नामले बताए । निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम आचारसंहिता उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?