+
+
Shares
धादिङ बस दुर्घटना :

१२ वर्षअघि दुर्घटनामा बाँचेर साउदी पुगे, फर्केर किनेको गाडीले ज्यान लियो

परिवार र आफ्नो भविष्यका लागि देश–विदेश गर्दै श्रम पसिना बगाएर स्वरोजगार बनेका ओमले धेरै सपना अधुरै छोडेर दुर्घटनामा ज्यान गुमाएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ फागुन ११ गते २१:३०

११ फागुन, पोखरा । १२ वर्षअघि तनहुँको दमौली पुल नजिकै मिनीबस दुर्घटना हुँदा गाडी धनी ओमकुमार श्रेष्ठ (मल्ल) गम्भीर घाइते भए । केही दिन पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर फर्किएपछि तनहुँको ब्यास नगरपालिका–८ सिर्दीका ओमकुमारलाई लाग्यो, ‘ज्यानै हत्केलामा राखेर हिँड्नुपर्ने यो व्यवसाय छाडिदिन्छु ।’

गाडीको सहचालक, चालक हुँदै ऋणधन गरेर किनेर बस मालिक बनेका थिए, उनी । आफ्नै गाडी दुर्घटनामा परेर मृत्युको मुखबाट फुत्किएको महसुस गर्दै उनले सोचे, ‘भविष्य नै दाउमा राखेर मालिक हुनुभन्दा बरु बजदुर हुनै बेस ।’ गाडी बिक्री गरेर उनी साउदी अरब हानिए ।

निम्न वर्गीय परिवारमा जन्मिएका ओमकुमार श्रीमती, हुर्कंदै गरेका छोरा–छोरीको खुसीको सपना बुनेर साउदी अरब पुगेका थिए । १२ वर्षअघि ४ वर्ष चालकबाट मालिक भएर गाडी चलाएका ओमकुमारले साउदीमा पनि ८ वर्ष मजदुरी गरे ।

खाडीमा हन्डर–ठक्कर खाँदै नेपाल फर्किएका ओमले यहीँ अन्य ब्यापार–व्यवसाय गर्न खोजे । तर अनुभव थिएन । करिब डेढ वर्षअघि मात्रै फेरि गाडी किनेर पुरानै पेसामा फर्किने निष्कर्ष निकाले । खाडीमा कमाएको पैसा र ऋणधन गरी साथीसँग मिलेर किने, गाडी नम्बर ग२ख १४२१ ।

एक जना चालक राखेर आफूले समेत चलाउँदै आफैं गाडीमा आउजाउ गरिरहेका ओमको जीवनमा अर्को भयावह घटना घट्यो । १२ वर्षअघि दुर्घटनामा बाँचेका ओमलाई के थाहा ? फेरि गाडी दुर्घटनामा पर्ला र आफ्नै प्राण चुँडाएर लैजाला । तर भयो त्यस्तै ।

आइतबार पोखराको पर्यटन बसपार्कबाट छुटेको रात्रि बस राति ११ बजे पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खस्यो र उनीसहित १९ जनाले ज्यान गुमाए । ओमसँगै काठमाडौं हिँडेकी श्रीमतीसहित २५ जना घाइते भए ।

‘निम्न परिवारमा जन्म्यौं । उसले सानैदेखि गाडी लाइन समात्यो । आफैं मजदुरी गर्दै गाडी किनेको थियो । करिब १२ वर्षअघि दुर्घटनामा परेपछि साउदी गएर फर्केर फेरि एक डेढ वर्षअघि मात्रै अर्को गाडी किनेर आफैं हिँड्थ्यो, चलाउँथो पनि । तर त्यही गाडीमा ज्यान गयो,’ ओमकुमारका दाइ हरि श्रेष्ठले भने, ‘भाइले ३९ वर्षमै ज्यान गुमायो ।’

परिवार र आफ्नो भविष्यका लागि देश–विदेश गर्दै श्रम पसिना बगाएर स्वरोजगार बनेका ओमले धेरै सपना अधुरै छोडेर दुर्घटनामा ज्यान गुमाएका छन् । ऋणधन गरेको गाडी उनले जतनले चलाउँथे । मोटोपन र सुगरले शरीरलाई छोए पनि उनले परिवारको भविष्यका लागि मिहिनेत गर्न छाडेका थिएनन् ।

‘सधैं आफैं गाडीमा हिड्थ्यो । अहिले श्रीमतीलाई पनि लिएर काठमाडौं जाँदै रहेछ । छोरा १२ कक्षा पढ्दै छ, छोरी ११ वर्षकी भइन्,’ दाइ हरिले सुनाए, ‘सामान किन्नका लागि श्रीमतीलाई लिएर काठमाडौं गएको रहेछ ।’

ओमको ११ वर्षकी छोरीलाई गुफा राखिएको थियो । नेवार परम्पराअनुसार नेवार कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइराख्ने चलनलाई गुफा राख्ने भनिन्छ । गुफा राख्ने चलनमा चाहिने सामान किन्नकै लागि उनीहरू सँगै काठमाडौं गएको परिवारले जनाएको छ ।

परिवार स्रोतका अनुसार उनीहरू मुग्लिनमा खाना खाएर काठमाडौं जाँदै गर्दा बस दुर्घटनामा परेको थियो । मध्यरातमा भएको दर्दनाक दुर्घटनामा बेलैमा उद्धारसमेत हुन सकेन र २ जना विदेशी नागरिकसहित १९ जनाको मृत्यु भयो भने २५ जना घाइते भएका छन् । ओमपत्नीको हातमा चोट लागेको छ ।

‘उहाँको शव बुझिसकेका छौं । दमौली ल्याएर मृत्यु संस्कार गर्ने तयारी छ । काकीको हात फ्याक्चर भएको छ,’ यातायात व्यवसायीसमेत रहेका ओमका भतिज पर्ने हेमन्त मल्लले भने, ‘यो दर्दनाक घटनाले काकाको परिवार हामी आफन्तलाई मात्र होइन, सिंगो देशलाई शोकाकुल बनाएको छ ।’

साउदी जाने भएपछि त्यो बेला ओमको गाडी पनि हेमन्तले नै लिएका थिए । अहिले ओमसहितले करिब ७२ लाख रुपैयाँ गाडीमा लगानी गरेको हेमन्त सुनाउँछन् ।

रात्रि बस भएकाले चालक राखेका थिए भने उनी आफैं पनि गाडी चलाउँथे । पछिल्लो पटक मोटोपनले उनको शरीरलाई गाह्रो बनाउँदै लगिरहेको भए पनि मिहिनेत गर्न नछोडेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका पूर्वअध्यक्ष योगेन्द्र केसी बताउँछन् । केसीका अनुसार उनमा कुनै पनि कुलत थिएन, बरु कामको तल थियो ।

‘उनी एक मिहिनेती र प्रेरणादायी पात्र थिए । जो, चालक हुँदै गाडी धनी बनेर आफैं पनि चलाउँथे । शरीरलाई स्वास्थ्य समस्याले दु:ख दिन थालेको भए पनि ओम आफैं खटिन्थे,’ केसीले भने, ‘ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो पेसामा ओमले छिट्टै ज्यान गुमाए ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?