१२ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन भनेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।
२१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैन । निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्ति सुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पछिल्लोपटक दाङ लगायत विभिन्न जिल्लामा केही दलका कार्यकर्ताबीच सिर्जना भएको विवाद तथा रौतहट-पर्सा लगायत जिल्लामा विभिन्न समूह बीच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरूले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूले एक अर्को दल, उम्मेदवार र नेताहरूप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्ने आयोगले जनाएको छ ।
यसैगरी राजनीतिक दलहरू, उम्मेदवार तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा प्रत्यक्ष परोक्ष रूपमा बालबालिकाको प्रयोग गरेको भनेर पनि सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया 4