+
+
Shares

महेश बस्नेतलाई गेस्ट बोलाउँदा धम्की आएपछि कानुनी उपचार खोज्ने भण्डारीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २०:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा देखिएपछि सामाजिक सञ्जालमा विवाद चर्किएको छ।
  • कार्यक्रमका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा आएको अपमानजनक टिप्पणी र धम्कीप्रति कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
  • भण्डारीले सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रम सञ्चालनमा अवरोध नगर्न आग्रह गर्दै निष्पक्ष रूपमा कार्यक्रम चलाउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा देखिएपछि कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ ।

कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले मंगलबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै अतिथिलाई लिएर गालीगलौज गर्नेहरुविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । उनले कार्यक्रम सधैँ निष्पक्ष रूपमा सञ्चालन हुँदै आएको दाबी पनि गरेका छन् ।

नयाँ एपिसोडको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रम र भण्डारीको आलोचना सुरु भएको हो । केही प्रयोगकर्ताले कार्यक्रम बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।

भण्डारीले भने यसअघि पनि विभिन्न दलका नेताहरू कार्यक्रममा सहभागी भइसकेको स्मरण गराएका छन् । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तीन पटक, राप्रपाका एक पटक, नेपाली कांग्रेसका एक पटक र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता एक पटक अतिथिका रूपमा आएका छन् ।

उनले सामाजिक सञ्जालमा आएको अपमानजनक टिप्पणी र धम्कीप्रति संकेत गर्दै कार्यक्रमलाई प्रजातान्त्रिक र निष्पक्ष रूपमा सञ्चालन गर्न अवरोध भए कानुनी बाटो रोज्ने बताए । साथै सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रम सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका छन् ।

ट्रेलर सार्वजनिक भएपछि फेसबुक र युट्युबमा दर्शक प्रतिक्रिया विभाजित देखिएका छन् । केहीले कार्यक्रमले विवादास्पद व्यक्तिलाई स्थान दिएको आरोप लगाएका छन् भने केहीले कलाकारले सबैको व्यंग्य र नक्कल गर्न पाउनुपर्ने भन्दै कार्यक्रमको बचाउ गरेका छन् ।

यसैबीच, बस्नेत अतिथि बनेर पुगेको कार्यक्रममा रास्वपा उम्मेदवार सुधन गुरुङको क्यारिकेचर कलाकार प्रभात लामाले गरेका थिए । लामाको प्रस्तुतिलाई लिएर समेत धम्की आएको निर्देशक भण्डारीले बताएका छन् ।

भण्डारी लेख्छन् :

हाम्रो विचार र समर्थनलाई साइडमा राखेर निश्पक्ष रुपमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रम चलाउने क्रममा रास्वपाका नेता ३ पटक, राप्रपाका १ पटक, कांग्रेसको १ पटक, कलमका १ पटक र एमालेको १ पटक बोलाएका थियौं ।

हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक संजालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा हैन । तर भ्रष्टाचार, नातावाद व्यक्तिवाद र दलको सिण्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका जेनजी समूहका भाइ बैनिले महेस बस्नेत बोलाएको आज आउँदै गरेको एपिसोडको ट्रेलर हेरेकै भरमा जुन सत्तो -सराप गरिरहेका छन् ।

के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेष्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनुपर्ने र नयाँलाई देवत्वकरणनै गरिदिनुपर्ने ? पुरानाको मात्र मिमिक्री गर्नु पर्ने ? नयाँको गर्नै नहुने ? सायद हैन ! हामीले प्रश्न गर्न बोल्न र हाँसि मजाक गर्न पाउने समाजको परिकल्पना गर्दै परिवर्तन खोजेको हो ।

म फेरि पनि भन्छु, हामी परिवर्तनकै पक्षधर हौ । तर विचारलाइ साइडमा राखेर कार्यक्रमलाइ प्रजातान्त्रिक स्वरुपमा उभाएर निश्पक्ष रुपमा संचालन गर्न रोक्ने, छेक्ने र धम्काउने क्रियाकलाप नगर्न सबै दलका नेता कार्यकर्ता लाई अनुरोध गर्न चाहन्छौ । तर, यो धाक धम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न हामी बाध्य हुने चेतावनी पनि दिन चाहन्छौ । धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?