१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कंग्रेस) मा सम्बोधन गर्दै भेनेजुएलालाई ‘नयाँ साथी र साझेदार’ भनेका छन् ।
‘स्टेट अफ द युनियन’मा सम्बोधनका क्रममा ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल आयात गरिसकेको जानकारी दिए । यसलाई अमेरिका र भेनेजुएलाबीचको ‘सम्बन्ध सुधार’को संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकाले हालै भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मुदुरोलाई पक्राउ गरेर अमेरिकी जेलमा राखेको छ । हाल भेनेजुएलाका उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरिरहेका छन् ।
भेनेजुएलामाथि अमेरिकी आक्रमणलाई तेल र अन्य प्राकृतिक स्रोतमा कब्जा गर्ने उद्देश्यको रुपमा हेरिएको छ ।
भेनेजुएलाबाट तेल आयातको जानकारी गराउने क्रममा ट्रम्पले ऊर्जा उत्पादनमा प्रगति भएको विवरण पनि सुनाए । ऊर्जा उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र विदेशमा निर्भरता घटाउने उद्देश्यले ‘ड्रिल, बेबी ड्रिल’ नीतिलाई अघि सारेका ट्रम्पले अमेरिकाले दैनिक करिब ६ लाख ब्यारेल तेल उत्पादन बढाउनुका साथै प्राकृतिक ग्यासको उत्पादन पनि सबैभन्दा उच्च स्तरमा पुगेको जानकारी दिए ।
‘ड्रिल, बेबी ड्रिल’ नीतिको मुख्य उद्देश्य जमिन वा समुद्रमा नयाँ कुण्ड वा ड्रिलिङ साइट खोली तेल र ग्यास उत्खनन गर्ने हो । यो नीति १९८०–९० को दशकमा अमेरिकी राजनीतिज्ञहरूद्वारा लोकप्रिय बनाइएको थियो । ट्रम्प प्रशासनले यो नीति पुनर्जीवित गरेर अमेरिका भित्र तेल र ग्यास उत्पादनलाई उच्च स्तरमा पुर्याएको दावी गरेको छ ।
ट्रम्पले दोस्रो कार्यकालको दोस्रो ‘स्टेट अफ द युनियन’ भाषणको सुरुवात गर्दै भनेका छन्, ‘हाम्रो देश फर्केर आएको छ– अघिल्ला भन्दा राम्रो, धनी र बलियो ।’ अमेरिकाका राष्ट्रपतिले प्रत्येक वर्ष जनवरी वा फेब्रुअरीमा संसद (कंग्रेस)लाई सम्बोधन गर्छन्, जसलाई ‘स्टेट अफ द युनियन’ भनिन्छ ।
विपक्षी डेमोक्रेटिक सांसदहरूको विरोध
यसैबीच ट्रम्पले संसदमा सम्बोधन गर्ने क्रममा विपक्षी डेमोक्रेटिक सांसदहरूले भने विरोध जनाएका छन् । केही सांसदहरू अलग शैलीका लुगा र पिन लगाएर संसदमा उपस्थित भएका थिए ।
डेमोक्रेटिक सांसद अल ग्रीनलाई संसद बैठक कक्षबाट बाहिर निकालिएको थियो । उनले ‘ब्ल्याक पीपल आर नोट एप्स !’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । एक रिपब्लिकन सांसदले उनलाई पोस्टर झार्न भने पनि ग्रीनले मानेनन् । त्यसपछि सेनेटर मार्कवेयन मुलिन आएर रोक्न खोजे । त्यसक्रममा केही समय विवाद भयो । पछि उनलाई बाहिर निकालियो ।
प्रतिक्रिया 4