News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको नेपाल क्यान्सर अस्पतालले फेब्रुअरी १५ को अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस ७ वर्षदेखि मनाउँदै आएको छ।
१७ फागुन, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले शनिबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको छ । हरेक वर्ष फेब्रुअरी १५ का दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।
बाल क्यान्सरबारे जागरण फैलाउने, प्रभावित बालबालिका तथा उनीहरूका परिवारलाई समर्थन गर्ने र उपचारको पहुँच बढाउने उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि हरेक वर्ष यो दिवस मनाउँदै आएको बाल क्यान्सर रोग विशेषज्ञ डा. अन्जली पण्डितले जानकारी दिइन् । यस वर्ष फेब्रुअरी १५ मा नियमित कार्यक्रम आयोजना गर्न नसकिए पनि, बच्चाहरूको उत्साह र उनीहरूको खुसीका लागि आजको दिन(शनिबार) कार्यक्रम गरिएको बताइन्
डा. पण्डितका अनुसार कार्यक्रममा बाल क्यान्सरबाट निको भएका करिब ४५ जना बालबालिका सहभागी थिए । उनीहरूले सांगीतिक कार्यक्रम, नृत्य तथा अन्य रमाइला गतिविधिमा भाग लिए । १०–११ वर्षअघि उपचार गरेका तथा हाल सामान्य जीवन बाँचिरहेका बालबालिकालाई उदाहरणस्वरूप प्रस्तुत गरिएको थियो ।
बाल क्यान्सरको उपचार नेपालमै सम्भव छ, भारत जानु पर्दैन भन्ने सन्देश समेत दिइएको उनले बताइन् ।
सुरुमै क्यान्सरको पहिचान र उपचारको महत्वबारे पनि बुझाइएको डा. पण्डितले बताइन् । अभिभावकहरूले बच्चामा बारम्बार ज्वरो आउने, खोकी लाग्ने, थकान, रक्त अल्पता जस्ता लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गर्ने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ ।
बाल क्यान्सर उपचारमा नेपालको प्रगति उल्लेख गर्दै, निजी र सरकारी दुवै क्षेत्रमा सुधार आवश्यक रहेको र राज्यबाट थप सहुलियत चाहिने उनले बताइन् ।
कार्यक्रममा उपस्थित अभिभावकहरूले आफ्ना बच्चामा देखिएको क्यान्सर र उपचार अनुभवबारे सुनाएका थिए ।
एक अभिभावकले छोरालाई सुरुमा बारम्बार ज्वरो, खोकी लाग्ने समस्या देखा परेको तर सुरुमा भाइरल भनेर सामान्य उपचार गरिएको बताए । चार महिनापछि ब्लड टेस्ट गर्दा समस्या पत्ता लाग्यो ।
एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया निदान भई उपचार सुरु भयो । हाल ३ वर्ष ३ महिनाको उपचारपछि अन्तिम चरणमा पुगेको र बच्चा पूर्ण रूपमा स्वस्थ भएको उल्लेख गरे।
अर्की आमाले छोरीको जन्मपछि ३ महिनामै आँखा बन्द हुने, रातो हुने समस्या देखा परेको बताइन् । तिलगंगा आँखा अस्पतालमा जाँच गर्दा रेटिनोब्लास्टोमा आँखाको क्यान्सर पत्ता लाग्यो ।
एउटा आँखा निकाल्नुपर्यो, अर्कोमा पनि उपचार जारी छ । १३ केमोथेरापी साइकलपछि हाल फलोअपमा छन् । बच्चा अत्यन्त एक्टिभ र खुसी छिन् । यी कथाहरूले प्रारम्भिक निदानको महत्व र नेपालमै प्रभावकारी उपचार सम्भव भएको देखाउँछन् ।
प्रतिक्रिया 4