१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पक्षमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् ।
‘कोलाहाल छ बाहिर, ठूलो हल्ला छ । सामाजिक सञ्जालमा हल्ला छ । तयो सञ्जालको हल्लालाई म अस्वभाविक मान्दिन,’ थापाले भने, ‘संसारभरी सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ ? जसले घृणाको भाषा बोल्छ । म यहाँ अहिले उभिएर कसैलाई एक मिनेट गाली गरेँ भनेँ बेलुका म भाइरल हुन्छ ।’
आफूले मिलाउने कुरा गरिरहेको भन्दै यस्तो भाषा कसैलाई पनि मन नपर्ने उनको भनाइ थियो ।
‘आज मैले यहाँ बोलिरहेको भाषा मिडियाका साथीहरूलाई पनि मन पर्दैन । किनकी म सफ्ट बोलिरहेको छु, मिलाउने कुरा गरिरहेको छु । यो बिक्दैन,’ उनले भने, ‘तर देश बिकाउने कुराले मात्रै चल्दैन । देश यस्तै नबिक्ने कुराले चल्छ ।’
पार्टीका कार्यकर्ताहरूले थप मिहेनत गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीका साथीहरूले पनि मिहेनत गर्नुपर्नेछ । थकाइ नमान्नुहोला अब बाँकी रहेका दिनमा पनि यसैगरी काम गर्न सकिन्छ,’ थापाले भने ।
प्रतिक्रिया 4