News Summary
Generated by OK AI. Editorially reviewed.- अब्बास किरोस्तामीले निर्देशन गरेको \'टेस्ट अफ चेरी\' फिल्मले जीवन र मृत्युको द्वन्द्वलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।
के तपाईं फिल्मको सौखिन हुनुहुन्छ ? त्यसो भए ‘टेस्ट अफ चेरी’ हेर्नुभएको होला । यो विश्वप्रशिद्ध क्लासिक फिल्म हेर्नु भएको छैन भने तपाईंले एउटा सुन्दर कृति छुटाउनुहुनेछ । वास्तवमै यो फिल्म मात्र होइन, एक सुन्दर कृति पनि हो । यसले मृत्यु र जीवनको दोसाँधलाई यति मजाले छिनोफानो गर्छ कि, तपाईंलाई वास्तवमै घत लाग्नेछ ।
यो मास्टरपिस फिल्म हो, जसलाई अब्बास किरोस्तामीले लेखेका र निर्देशन गरेका हुन् ।
कस्तो छ त यो फिल्मको कथा ?
फिल्मको कथा एक मध्यम उमेरका पुरुष वरिपरि घुम्छ । उनको नाम हो, बदिई । उनी गाडी चलाउँदै तेहरान नजिकका पहाडी क्षेत्रमा यात्रा गरिरहेका छन् । तर, यो यात्राको उदेश्य निकै अनौठो र उदेगलाग्दो छ ।
यस क्रममा उनले एक युवा सैनिक भेट्छन् र आफ्नो कारमा लिफ्ट दिन्छन् । सैनिकलाई उनी भन्छन्, ‘तिमीलाई पैसाको खाँचो छ भने मसँग एउटा काम छ ?’
सैनिकले सोध्छन्, कस्तो काम ?
अब बदिईले आफ्नो रहस्य खोल्छ । खासमा उनले खाल्डो बनाएका छन्, आफूलाई पुर्नका लागि । राति औषधि खाएर उनी त्यसमा सुत्नेवाला छन् । यसरी सुतेपछि उनलाई कसैले पुरिदिनुपर्नेछ । किनभने उनी आत्महत्या गर्दैछन् । र, यतिबेला उनलाई खाँचो छ चिहान पुरिदिने मान्छेको । यो कुरा सुनेर सैनिक डराएर भाग्छ ।
बदिईले दोस्रो मान्छे भेट्छन्, जो धर्मशास्त्र पढ्ने विद्यार्थी हो । उनलाई पनि बदिईले आफ्नो प्रस्ताव राख्छन् । विद्यार्थीले कुरानको आधारमा आत्महत्या पाप हो भन्दै मान्दैनन् । उनी के पनि भन्छन् भने्, ‘जीवन अल्लाहको उपहार हो, यसलाई समाप्त गर्नु ठीक होइन ।’
त्यसपछि बदिईले तेस्रो व्यक्ति भेट्छन्- एक वृद्ध । उनी मरेका पशुहरूको छालाबाट विभिन्न सामान बनाउने व्यक्ति हुन् । बुढो मान्छेलाई यतिबेला पैसा पनि खाँचो छ । सुरुमा बदिईको प्रस्ताव त उनले मान्छन् तर आत्महत्याको कुरामा उनको धारणा फरक हुन्छ । यी वृद्ध छालाका सामग्री बनाउने व्यक्ति हुन्छन् ।

उसले आफ्नो पुरानो कथा सुनाउँछन् । पहिले ऊ पनि निराश भएर आत्महत्या गर्न खोजेको थियो । उसले रूखमा पासो लगाएर झुण्डिन लागेको थियो । तर पासो बाँध्न रूखमा चढ्दा त्यो मलबेरीको रूख थियो । उसले एउटा फल चाख्यो । स्वाद यति राम्रो लाग्यो कि उसको मन बदलियो । सूर्योदय हेर्दै, स्कूल जाने बच्चाहरूलाई फल टिपेर दिँदै उसले जीवनको मूल्य बुझे ।
‘के तिमी चेरीको स्वाद त्याग्न सक्छौ ?’ बुढाले सोध्छन् । जीवनमा स–साना कुराहरूले पनि आनन्द दिन्छन्– चेरीको स्वाद, सूर्यको किरण, बच्चाहरूको हाँसो ।
बुढाको कुराले उनको मन हल्लायो । राति उनी खाल्डोमा गए, औषधि खाए । बिहान वृद्ध आए । खाल्डोमा हेरे । बदिईलाई बोलाए । तर कथा यहीँ रोकिन्छ । फिल्मले स्पष्ट देखाउँदैन कि बदिई बाँचे कि मरे ।
यो फिल्म निकै शान्त छ । लामो सन्नाटा, कम संवाद र प्राकृतिक दृश्य यसका विशेषता हुन् । क्यामेरा प्रायः गाडीभित्रै रहन्छ, जसले पात्रको एकान्तलाई अझ प्रस्ट पार्छ ।

फिल्मले आत्महत्या जस्तो गम्भीर विषय उठाए पनि कुनै स्पष्ट उपदेश दिँदैन । यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ—जीवनको मूल्य के हो ? मृत्यु अन्तिम समाधान हो कि क्षणिक आवेग ?
अन्त्य भाग पनि परम्परागत छैन । निर्देशकले वास्तविकता र सिनेमाबीचको सीमालाई तोड्ने प्रयास गरेका छन् । यसले केही दर्शकलाई अलमलमा पार्न सक्छ, तर कलात्मक दृष्टिले यो साहसी प्रयोग मानिन्छ ।
समग्रमा, टेस्ट अफ चेरी एउटा दार्शनिक, मर्मस्पर्शी र गहिरो फिल्म हो । यसले उत्तरभन्दा बढी प्रश्न दिन्छ, र सायद त्यही यसको सबैभन्दा ठूलो शक्ति हो ।
प्रतिक्रिया 4