News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही–४ मा ८१ मतदान केन्द्रमा बिहीबारको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ, जहाँ सामान्य विवाद भए पनि मतदान विथोल्ने गतिविधि भएन।
- प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सुरक्षा निकायको समन्वय र मतदाताको सहयोगले मतदान शान्तिपूर्ण भएको जानकारी गराए।
- सर्लाही–४ मा २८ उम्मेदवार रहेका छन् र ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले बताए ।
२१ फागुन, सर्लाही । प्रत्येक पटकको मतदान स्वच्छतामा ‘बदनाम’ क्षेत्रको रुपमा परिचित सर्लाही–४ मा यसपटक शान्तिपूर्ण निर्वाचन भएको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरुले मतदानस्थलमा शक्ति नाजायज शक्ति प्रदर्शन गर्दा विगतका चुनाव यस क्षेत्रमा विवादित हुँदै आएको थियो ।
८१ वटा मतदान केन्द्र रहेको सर्लाही–४ मा बिहीबारको मतदानको क्रममा दुइवटामा सामान्य विवाद भएपनि निर्वाचन विथोल्ने गरी गतिविधि भएनन् ।
स्थानीय मतदाताहरुका अनुसार यस क्षेत्रमा विगतमा निर्वाचनमा मूख्यतः बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिकामा रहेका यस वडामा उम्मेदवार वीचमा शक्ति संघर्षको टकराव हुने गर्दथ्यो । यी वडामा आफ्नो प्रभाव जहाँ बढी छ, त्यही स्थानमा धाँधली गर्ने गरेको स्थानीय मतदाताहरु बताउँछन् ।
बलरामा अमरेश सिंह, रामनगरमा शिवपुजन राय यादव र धनकौलमा सुरेन्द्र र वीरेन्द्र सिंह प्रभावी रहेको हुँदा ती स्थानमा मतदानका क्रममा विगतमा हिंसात्मक घटना समेत भएका थिए ।
बलरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । यस पालिकाको १ देखि ११ नम्बर वडासम्म सर्लाही–४ मा पर्दछ । अमरेशको आफ्नै मतदान केन्द्र रहेको बलारा वडा नम्बर ४ स्थित श्री प्राथमिक विद्यालयमा विवादका कारणले केही बेर मतदान स्थगित भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, कालिध्वज गण पाँचकुमारीका प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी प्रमुख योगन्द्र कुमार खड्का र शसस्त्र प्रहरी उपरिक्षक अमरबहादुर खत्री स्वयं उक्त मतदान केन्द्रमा पुगेका थिए । प्रजिअ सहित सुरक्षा निकायका प्रमुखहरु गएपछि विवाद साम्य भएर मतदान सुरु भएको थियो ।

त्यस मतदान केन्द्रमा विवाद प्रारम्भमा ‘पोल एजेण्ट’ का वीचमा भएको थियो । बलारा–४ का एक मतदाताका अनुसार सहनी थरका एक वृद्धको मतदान कसले गर्ने विषयमा विवाद उत्पन्न भएको थियो ।
उनका अनुसार रास्वपाका पोल एजेण्टले वृद्धको मत परिवार बाहेकका अन्यले पनि खसाल्न सक्ने अडान राखेका थिए । कांग्रेसका पोल एजेण्टले वृद्धको परिवारको सदस्य बाहेक उनको मत अरुले मतदान गर्न नपाउने अडान राखे । त्यस क्रममा भनाभन हुँदै कुटपिट समेत भएको थियो ।
मतदान स्थलमा पोल एजेण्टहरुमा विवाद भएपछि बाहिरबाट ढुङ्गा प्रहार भएको थियो । रास्वपा उम्मेदवार सिंह आएर मतदान केन्द्रबाट बाहिरिए लगत्तै विवाद बढेको मतदाताहरुले जानकारी गराएका छन् ।
८१ वटा नै मतदान केन्द्रलाई संवेदनशील राखेको सुरक्षा निकायले विगतमा धाँधली हुने स्थानलाई थप निगरानी गरेको थियो । बलरामा विवाद भएर मतदान स्थगित भएको खबर पाएसँगै गएको प्रजिअ सहितको सुरक्षा प्रमुखको टोली तीन घण्टा बढी श्री प्राथमिकता विद्यालयको मतकेन्द्रमा रह्यो ।
विवाद साम्य पारेर मतदान शान्त भयो । बलाराकै कृषि सेड मतदान केन्द्रमा पनि केही बेर विवाद भएको थियो । रास्वपा उम्मेदवार अमरेश पुगेर विपक्ष दलका मतदान प्रतिनिधिलाई हप्काएको एक पोल एजेण्टले रुँदै प्रजिअलाई सुनाएका थिए । प्रजिअ कडरियाले शान्ति सुरक्षा कायम हुने भन्दै ढाडस दिएक थिए । मतदान प्रारम्भ भएको आधा घण्टा पनि वित्न नपाउँदै बसबरियामा धकेलाधकेल हुँदा करिब १५ मिनेट मतदान प्रभावित भएको थियो ।
धनकौलको दुर्गा माध्यमिक विद्यालय र बसबरियाको जनता माध्यमिक विद्यालयमा हरेक निर्वाचन असहज हुने गरेको मतदाताहरुले बिहीबार विहान अनलाइनखबरसँग संवादको क्रममा बताएका थिए । ती स्थानमा यसपटक विना अवरोध मतदान भयो ।
सुरक्षाका कारणले संवेदनशील मानिएको अर्को पालिका रामनगरका वडाहरुमा पनि शान्तिपूर्ण रुपमा मतदान भयो । पूर्व सभासद् शिवपुजन यादवको पालिका रामनगरमा निर्वाचन विथोल्ने एवं धाँधली गर्ने गरी कुनै गतिविधि हुन पाएन ।

शिवपुजनले आफ्ना छोरा अमनिश राय यादवलाई एमालेबाट उम्मेदवार बनाएका छन् । रामनगरका सबै वडा सर्लाही–४ मा पर्दछन् । यी सबै वडामा मतदान विथोल्ने कुनै गतिविधि नभएको सुरक्षा निकायले जानकारी गराएको छ ।
सुरक्षा निकायको समन्वय, उपल्लो तहको निर्देशन र मतदाताको सहयोगले मतदान शान्तिपूर्ण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी गराए । उनले भने,‘सर्लाही–४ मा सामान्य विवाद भएपनि अरु तीन वटा क्षेत्रमा सामान्य विवाद समेत भएन ।’
प्रत्येक मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मतदान केन्द्रमा सेना, जनपद, शसस्त्र प्रहरी एवं निर्वाचन प्रहरीको उल्लेख्य उपस्थिति गराइएको थियो । बढी संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको संख्या बाक्लो बनाइएको थियो ।
नेपाली कांग्रेसका सभापति एवं यस क्षेत्रका उम्मेदवार गगन थापाले यो क्षेत्रमा गइसकेपछि व्यवस्थित र मर्यादित बनाउने संकल्प गरेको बताए ।
‘निर्वाचनको दिन मात्रै होइन । प्रचार-प्रसार पनि मर्यादित भयो । सुरक्षा निकाय पनि अति धेरै चनाखो थियो,’ सभापति थापाले अनलाइनखबरसँग भने,‘दलहरु पनि सबै आ–आफ्नो संहिताभित्र बसे । कुनै पनि मतदान केन्द्रमा कोही कसैले केही नगरोस् भन्नेमै सबै दल रहे ।’

सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरुका अनुसार सर्लाही–४ लाई उच्च प्राथमिकतामा राखेर सुरक्षाकर्मी तैनाथ गरिएको थियो । बिहीबारको निर्वाचनलाई ख्यालमा राखी अघिल्लो दिनहरुमा गस्ती बढाउने कार्य भएको थियो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार प्रदेश प्रहरीबाट यस क्षेत्रका लागि सुरक्षाकर्मीको संख्या बढाएको थियो ।
प्रवक्ता राईले अनलाइनखबरसँग भने,‘व्यापक सुरक्षाकर्मी परिचालन, सूचना संकलन गरेका थियौं । सबै सुरक्षा निकायको प्रयत्नले यो सफलता हामीले प्राप्त गरेका हौं ।’ मतदान प्रक्रियामा व्यवधान आउन नदिन सुरक्षाकर्मीले अनुमति विना चलेका सवारी साधनलाई बीचमै रोकेको थियो ।
१ लाख २१ हजार १२ जना मतदाता रहेको सर्लाही–४ मा दलीय र स्वतन्त्र गरी २८ उम्मेदवार छन् । सर्लाही–४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार ६० प्रतिशत भन्दा बढी मत खसेको जानकारी गराए ।
उनले साँझ ८ बजेसम्म सबै ठाउँको मतपेटिका संकलन गरिसक्ने जानकारी गराए । ‘साँझ ८ बजेसम्म सबै मतदान स्थल–केन्द्रको मतपेटिका गणनास्थलमा ल्याइसक्छौँ,’ उनले भने, ‘हामी आजै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।’ सर्लाही ४ को मतगणना वेणी भोला माध्यामिक विद्यालय गोडैतामा गर्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया 4