+
+
Shares

मोरङ ६ : कोइराला परिवारको विरासत ढाल्ने रुविना

सामाजिक क्षेत्रमा सक्रिय रुविनाको राजनीतिक यात्रा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको हो । तत्कालीन समयमा उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीबाट प्रभावित भएर उनी राजनीतिमा जोडिएकी थिइन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २३ गते १०:४०

२३ फागुन, विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुविना आचार्यले संसदको यात्रा तय गरेकी छन् ।

२००७ सालयाता नेपालकाे राजनीतिक आन्दाेलनमा महत्वपूर्ण याेगदान गर्ने कोइराला परिवारको राजनीतिक विरासत बोकेका नेता डाक्टर शेखरसँगै नेकपा एमालेका नेता विनोद ढकाललाई पराजित गर्दै रुविनाले संसदीय राजनीतिमा उदाएकी हुन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरे ।

मोरङ– ६ मा स्थापित दलका हेभिवेट नेता क्षेत्रमा रुविनाको उदयले डाक्टर शेखर कोइरालाको राजनीतिक भविष्यलाई चुनौतिपूर्ण बनाएको छ ।

कोइराला परिवारको राजनीतिक विरासत बोकेका उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । कांग्रेस भित्र विशेष महाधिवेशन भएपछि देखिएकाे विवादका कारण उठ्ने नउठ्ने दाेधारकाबीच चुनावी मैदानमा हाेमिए तर भारी मतान्तरसहित पराजित भए । छैटाैं पटक प्रतिस्पर्धा गरेका काेइरालाकाे याे तेस्राे हार हाे ।

चिकित्सक पेसा छाडेर राजनीतिमा प्रवेश गरेका उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भए ।

मोरङ र सुनसरी दुवै क्षेत्रबाट निर्वाचित गच्छदारले मोरङ–६ छाडेपछि २०६५ सालको उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिककै उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई पराजित गरे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डित पराजित भए । २०७९ मा पण्डिताई नै पराजित गरेका थिए । याे पटक आफूलाई विराटनगरकाे छाेरी बताउने रास्वपा उम्मेदवार रुविना आचार्यसँग पराजित भए ।

विराटनगर– ४, आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाको बाल्यकाल विराटनगरकै माटोमा बितेको थियो । उनले विराटनगरकै इडेन नेशनल सेकेन्डरी बोर्डिङ स्कूलबाट प्रारम्भिक शिक्षा र मेरील्यान्ड कलेजबाट प्लस–टु तहको अध्ययन पूरा गरेकी थिइन् । उच्च शिक्षाका लागि काठमाडौं पुगेकी उनले काठमाडौं विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेकी छन् ।

विराटनगरकी छोरी र चितवनकी बुहारी बताउँने रुविनाले आफ्नाे कर्मथलो भने काठमाडौं बनाएकी थिइन् । जन्मभूमिको सेवा गर्ने भन्दै निर्वाचनमा मोरङ फर्किएकी थिइन् ।

सामाजिक क्षेत्रमा सक्रिय रुविनाको राजनीतिक यात्रा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको हो । तत्कालीन समयमा उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीबाट प्रभावित भएर उनी राजनीतिमा जोडिएकी थिइन् ।

सोही समयमा उनी निर्वाचन प्रचारमा सक्रिय भइन् र पछि विवेकशील साझाको युवा संगठन बागमती प्रदेशको नेतृत्वदायी भूमिकामा रहिन् । उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत बनेकी थिइन् ।

रुविना सामाजिक मुद्दाहरूमा सधैँ अग्रपंक्तिमा रहिन् । नागरिक अधिकार, महिला सहभागिता र समावेशीताकाे क्षेत्रमा उनले काम गरेकी छन् । कोरोना महामारीको कठिन समयमा विपन्न वर्गका लागि सञ्चालन गरिएको ‘तातो भात अभियान’ मा उनको सक्रियता थियो । महिला हिंसा विरुद्धका विभिन्न अभियानहरूमा पनि उनले सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

स्थापित नेताहरूलाई पछि पार्दै विजयी भएकी रुविनाले संसदमा आम नागरिकको आवाज, सुशासन र महिला सशक्तिकरणका मुद्दालाई सशक्त रूपमा उठाउने बताउँदै आएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?