News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी महोत्तरी-२ मा रास्वपाका दीपककुमार साहसँग पराजित भएका छन्।
- पूर्व श्रम मन्त्री गोकर्णराज विष्ट गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थीसँग ५६१ मतान्तरले पराजित भएका छन्।
- पूर्व श्रम मन्त्री डीपी अर्याल र पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ क्रमशः काठमाडौं-९ र मनाङबाट विजयी भएका छन्।
२४ फागुन, काठमाडौं । यस पटक पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी पराजित भएका छन् । १८ पटकभन्दा बढी मन्त्री भइसकेका भण्डारी यो पटक भने महोत्तरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार दीपककुमार साहसँग पराजित भएका हुन् । साहले ३२ हजार ७२२ मत पाउँदा भण्डारीले १० हजार १९८ मत मात्रै प्राप्त गरे । दुईबिचको मतान्तर २२ हजार ५२४ छ ।
२०७९को निर्वाचनमा भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका थिए । २०६४, २०७४ र २०७९ मा निर्वाचन जितेका उनले २०७० र यस पटक मात्रै चुनाव हारेका छन् ।
अर्का पूर्व श्रम मन्त्री गोकर्णराज विष्ट गुल्मी-२ मा पराजित भएका छन् । उनी पनि रास्वपा उम्मेदवार गोविन्द पन्थीसँग ५६१ मतान्तरले पराजित भएका छन् । पन्थीले १६ हजार ९६७ मत पाउँदा विष्टले १६ हजार ४०६ मत पाएका छन् ।
अर्का पूर्व श्रम मन्त्री डीपी अर्याल र पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ भने विजयी भएका छन् । रास्वपाका उपसभापति अर्याल काठमाडौं- ९ बाट निर्वाचित भएका हुन् । उनले ३५ हजार ९३ मतसहित जित निकाल्दा नेपाली कांग्रेसकी नानु मैयाँ बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन् ।
पूर्व श्रम राज्यमन्त्री गुरुङ मनाङबाट विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार रहेका गुरुङ २ हजार ४१५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन् ।
यीबाहेक वैदेशिक रोजगार व्यवसाय क्षेत्रको पृष्ठभूमि भएका अन्य केही उम्मेदवार पनि पराजित भएका छन् । जसमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरू लालप्रसाद साँवा लिम्बू, तिलकबहादुर रानाभाट, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष किरण किशोर घिमिरे पराजित भएका छन् ।
यस्तै नेकपाको तर्फबाट उम्मेदवार बनेका रनबहादुर राईसमेत हालसम्मको मतगणनामा पाँचौँ नम्बरमा छन् ।
झापा-४ मा एमालेका तर्फबाट उम्मेदवार बनेका लालप्रसाद साँवा लिम्बू रास्वपा उम्मेदवार शम्भुप्रसाद ढकालसँग पराजित भएका हुन् । ढकालले ४३ हजार ६३१ मत ल्याउँदा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरे ।
कास्की-१ बाट उम्मेदवार कांग्रेसको बनेका म्यानपावर व्यवसायी तिलकबहादुर रानाभाट रास्वपाका खडकराज पौडेलसँग पराजित भएका हुन् । रानाभाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हुन् । कास्कीऔ१ मा पौडेलले ३९ हजार ८८३ मत पाउँदा रानाभाटले ११ हजार २१४ मत पाए ।
दाङ-२ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष किरण किशोर घिमिरे रास्वपाका विपिनकुमार आचार्यसँग पराजित भए ।
आचार्यले ४३ हजार ५५९ मत पाउँदा घिमिरेले भने ११ हजार ५५८ मतसहित तेस्रो रहे । एमाले महासचिव शंकर पोखरेलले १५ हजार २८७ मतसहित दोस्रो स्थानमा रहे ।
इलाम-१ मा नेकपाका तर्फबाट उम्मेदवार रहेका म्यानपावर व्यवसायी रनबहादुर राई पाँचौँ स्थानमा छन् । त्यो क्षेत्रमा एमालेका काजीमान कागतेले अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया 4