धनकुटा, २५ फागुन । धनकुटामा यसपटक मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ । विगतका निर्वाचनभन्दा यसपटक बढी दरमा मत बदर भएको पाइएकाले मतदाता शिक्षामाथि प्रश्न उठेको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । मतदाता शिक्षाका लागि धनकुटामा रहेका ७ वटै स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखलाई अनुगमन अधिकृत तोकिएको थियो । सबै वडामा स्वयंसेवक पनि परिचालन गरिएका थिए ।
तर, मतगणनाको परिणाम हेर्दा ठुलो मात्रामा मत बदर भएको छ । यहाँ प्रत्यक्षतर्फ कुल एक लाख १८ हजार ४२५ मतदातामध्ये ६४ हजार ९१ र समानुपातिक तर्फ एक लाख २० हजार ६४ मतदातामध्ये ६४ हजार ८८६ मत खसेको थियो । जसमध्ये प्रत्यक्षमा ५९ हजार २०८ र समानुपातिकमा ६१ हजार २९२ मत मात्रै सदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटामा प्रत्यक्षतर्फ ४ हजार ८८३ र समानुपातिक तर्फ ३ हजार ५९४ मत बदर भएको छ । जसअनुसार यसपटक प्रत्यक्षमा खसेको मतमध्ये ७.६२ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ ५.५४ प्रतिशत मत बदर भएको छ ।
२०७४ यताकै बढी मत बदर
यसपटकको निर्वाचनमा २०७४ प्रतिनिधिसभा निर्वाचन यताकै सर्वाधिक दरमा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ यहाँको बदर मतको दर ३.९१ प्रतिशत मात्रै थियो । त्यो बेला प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । समानुपातिकमा ५.५५ प्रतिशत मत बदर भएको थियो ।
यस्तै, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा ५.४८ प्रतिशत र समानुपातिकमा ५.६५ प्रतिशत मत बदर भएको थियो ।
‘अधिकतम प्रयास भएकै हो’
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले मतदाता शिक्षामा अधिकतम प्रयास भएको दाबी गरे । उनले स्थानीय निर्वाचनको प्रभावले मत बदर भएको अनुमानसमेत गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले जिल्लाका ७ वटै स्थानीय तहका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि सीमित समय र स्रोत साधनका कारण प्रभावकारी हुन नसकेको दाबी गरे ।
मत बदरको अर्को कारण मतदान अधिकृतहरूको लापरबाही पनि एक देखिएको छ । साँगुरीगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षर बिनाको २० भन्दा बढी मतपत्र फेला परेका थिए ।
यस्तै बदर हुने मुख्य मतपत्रको चिन्हमा स्वस्तिक छापको ठाउँमा औँठा छाप लगाइएका मतपत्रको संख्या पनि ठुलै भेटिएको छ ।
प्रतिक्रिया 4