News Summary
Generated by OK AI. Editorially reviewed.- डिभिजन क्लबहरूले एन्फाले गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्।
- क्लबहरूले एन्फाको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल व्यवस्थापन पारदर्शी र व्यावसायिक बनाउन आग्रह गरेका छन्।
- फ्रेण्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले एन्फाले तोकिएको समयमा ए डिभिजन लिग आयोजना गर्ने विषयमा शंका व्यक्त गरेका छन्।
२६ फागुन, काठमाडौं । एन्फाले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएका छन्। क्लबहरूले मंगलबार एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण पत्र पनि बुझाउने बताएका छन्।
हिमालयन क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एन्फाले क्लबहरूसँग यसअघि गरेका सहमति र निर्णयहरू कार्यान्वयन गर्नुपर्ने क्लबहरूको माग छ।
क्लबहरूले अहिलेको एन्फा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासनमा सुधार तथा सहमतिहरू कार्यान्वयन गर्न आग्रह गरेका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत क्लबहरूले फुटबल व्यवस्थापन पारदर्शी, व्यवस्थित र व्यावसायिक बनाउन तत्काल कदम चाल्न एन्फालाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा नेपालमा फुटबल अत्यन्त लोकप्रिय भए पनि नेतृत्वको अदूरदर्शी सोच र गैरजिम्मेवार निर्णयका कारण खेलको विकास प्रभावित भएको उल्लेख गरिएको छ। क्लबहरूले विशेषगरी शहीद स्मारक लिग सञ्चालनसम्बन्धी गरिएको सहमति कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
क्लबहरूले एन्फालाई पूर्व सहमति र निर्णयहरू कार्यान्वयन गर्न आग्रह गर्दै केही मुख्य माग अघि सारेका छन्। उनीहरूले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ती मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।
क्लबहरूले विगत तीन वर्षदेखि समाधान हुन नसकेका विषयहरू अहिलेको नेतृत्वले तत्काल सुरु नगरे नेपाली फुटबलको हितका लागि थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।
यसैबीच फ्रेण्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले एन्फाले तोकिएको समयमा ए डिभिजन लिग आयोजना गर्ने विषयमा शंका व्यक्त गरे। उनले भने, ‘एन्फाले तोकिएको समयमै ए डिभिजन लिग गर्छ भन्नेमा शंका छ। एन्फाले सबैलाई झुक्काइरहेको छ।’
एन्फाले घरेलु मैदान दिलाउने प्रतिबद्धता समेत पूरा नगरेको शाहले बताए । ‘होम ग्राउन्ड उपलब्ध गराएकै छैन । क्लबलाई ट्रेनिङ गर्ने ठाउँ छैन, कहाँ गएर ट्रेनिङ गर्ने?’ शाहले प्रश्न गरे ।
यसअघि एन्फा र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिग सञ्चालन गर्नेबारे सहमति भएको थियो ।
प्रतिक्रिया 4