आजभोलिको व्यस्त जीवनशैलीमा आफ्नो लागि ताजा र सन्तुलित आहार तयार पार्न गाह्रो भएको छ । यही कारणले गर्दा मानिसहरू घरको खानाभन्दा बाहिरको खानामा बढी निर्भर हुन थालेका छन् । बजारमा स्वस्थ भनेर धेरै खानेकुराका उत्पादनहरू बेचिन्छन्, जसमा नक्कली स्वाद र चिनी नभएको दाबी गरिन्छ । तर यी खानेकुराहरू भनिएजस्तै स्वास्थ्यवर्द्धक छन् त ?
बजारका कुन खानेकुराहरू हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् ?
१. फ्रुट जुस
हामी स्वस्थ भनेर फ्रुट जुस पिउने गर्छौं । बोतल तथा डिब्बामा बन्द जुसलाई स्वस्थ भनेर बेचिन्छ तर त्यसमा रङ र चिनी मिसाइएको हुन्छ । त्यस्तै, फलफूल पसलमा मिल्ने जुसमा पनि फाइबर हुँदैन ।
डिब्बामा बन्द फ्रुट जुसमा थपिएको चिनी, नक्कली रङ, संरक्षक र स्वाद बढाउने रसायन मिसाइएको हुन्छ । नेपाल र भारतमा बिक्री हुने धेरै जुसमा १०० मिलिलिटरमा १० देखि १५ ग्रामसम्म चिनी हुन सक्छ, जुन कोककोला जत्तिकै वा बढी हुन्छ । ‘१०० प्रतिशत फ्रुट जुस’ भनेर बेचिनेमा पनि रेसा हटाइएको हुन्छ, जसले फलमा भएको प्राकृतिक चिनीलाई ‘स्वतन्त्र चिनी’ बनाउँछ ।
फलफूल पसलको ताजा जुसमा पनि रेसा छानिएर हटाइन्छ ।
फ्रुट जुसले रगतमा चिनीको मात्रा छिटो बढाउँछ, पेट भरिएको अनुभूति कम गर्छ र लामो समयमा तौल बढ्ने, मधुमेह, हृदयरोगको जोखिम बढाउँछ । पूरा फल खाँदा रेसाले पाचन प्रक्रिया ढिलो बनाउँछ, आन्द्राको स्वास्थ्य राम्रो गर्छ र क्यालोरी नियन्त्रणमा सहयोग गर्छ । एउटा सानो गिलास जुस= ३–४ वटा फलको चिनी बराबर हुन्छ, तर रेसा शून्य हुन्छ ।
२.ओट्स
बजारमा पाइने इन्स्टयान्ट ओट्स पनि हामी स्वस्थ्यकर भन्दै खान्छौँ । तर, ओट्सलाई अत्यधिक प्रशोधन गरी तयार गरिएको हुन्छ। बाफमा पकाएर, काटेर र रोल गरेर । यसले रगतमा चिनी बढाउने सूचकांक ‘ग्लाइसेमिक इन्डेक्स’ बढाउँछ । साथै यसको प्याकेटमा चिनी, नुन, नक्कली स्वाद र रङ भरपुर मात्रामा थपिएको हुन्छ, जसले पौष्टिकताको फाइदा घटाउँछ ।
साधारण ओट्सको पौष्टिक तत्व क्यालोरी, प्रोटिन, रेसा सबै प्रकारमा लगभग उस्तै हुन्छ, तर प्रशोधनले रेसाको प्रभावकारिता घटाउँछ । स्टिल कट ओट्स वा पुरानो शैलीका रोल्ड ओट्स कम प्रशोधित हुन्छन् । यिनमा भएको विशेष रेसाले कोलेस्टेरोल घटाउँछ, पाचन सुधार्छ र लामो समयसम्म ऊर्जा दिन्छ । इन्स्टयान्ट ओट्सले रगतमा चिनी छिटो बढाउँछ जसले ऊर्जा घट्ने समस्या निम्त्याउँछ ।
३. ब्राउन ब्रेड
बजारमा ‘ब्राउन’, ‘मल्टिग्रेन’, ‘आटाको ब्रेड’ वा ‘पूर्ण गहुँको ब्रेड’ भनेर बेचिने ब्रेड प्रायः मुख्य रूपमा मैदा परिष्कृत गहुँको पिठोबाट बनेको हुन्छ । यसमा ब्राउन रङ, गुड़ वा नक्कली रङ थपेर दिइन्छ । आटाको प्रतिशत निकै कम २०–३६ प्रतिशतसम्म हुन्छ र रेसा तथा पौष्टिक तत्व पनि न्यून हुन्छ ।
परिष्कृत पिठोले रगतमा चिनी छिटो बढाउँछ । पौष्टिक तत्वको कमी निम्त्याउछ र आन्द्राको स्वास्थ्य बिगार्छ । पूर्ण अनाजको ब्रेडमा पहिलो सामग्री ‘पूर्ण गहुँको पिठो’ लेखिएको हुनुपर्छ र रेसा उच्च हुनुपर्छ । अध्ययनहरूले परिष्कृत अनाजलाई मोटोपन, मधुमेह र हृदयरोगसँग जोडेका छन् ।
४. दही र लस्सी
बजारमा प्याकेट गरिएको स्वादयुक्त दही वा लस्सीमा थपिएको चिनी अत्यधिक हुन्छ । एक पटकको सेवन १००–१५० ग्राममा १०–२० ग्राम वा बढी चिनी हुन सक्छ । साथै नक्कली स्वाद, रङ, स्थिरता दिने रसायन र संरक्षक थपिन्छन् ।
साधारण दही-लस्सीमा प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्य सुधार्छ, प्रोटिन र क्याल्सियम दिन्छ र रोगप्रतिरोधक क्षमता बढाउँछ । बढी चिनीले तौल बढ्ने, इन्सुलिन प्रतिरोध, दाँतको समस्या र चयापचय सम्बन्धी समस्या निम्त्याउँछ । स्वादयुक्त दहीले प्रोबायोटिक्सको फाइदा पनि घटाउँछ । त्यसैले प्याकेटबन्द दही लस्सी किनेर खानु भन्दा घरमै बनाउनु राम्रो हुन्छ ।
५. चिनीरहित भनिएका उत्पादनहरू
आजभोलि धेरै मानिसहरू मोटोपना र मधुमेहबाट बच्न सुगर फ्री खानेकुरा खान्छन्, तर यिनमा कृत्रिम मिठास दिने पदार्थ जस्तै एस्पार्टेम, सुक्रालोज, एसेसल्फेम–के आदि प्रयोग हुन्छन् । यी क्यालोरी–रहित देखिन्छन् तर लामो समयसम्म प्रयोग गर्दा तौल नियन्त्रणमा कुनै फाइदा हुँदैन ।
बरु तौल बढ्ने, मिठासको लोभ बढ्ने, आन्द्राको ब्याक्टेरिया बिगार्ने र पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छन् । केही अध्ययनले यिनलाई हृदयरोग र मधुमेहसँग जोडेका छन् ।
शरीरले केही कृत्रिम मिठासलाई चिनीजस्तै व्यवहार गर्छ । प्राकृतिक विकल्प जस्तै गुड़ वा मह पनि मध्यम मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।
प्रतिक्रिया 4