News Summary
Generated by OK AI. Editorially reviewed.- गायक शिव परियारले जेनजी आन्दोलनको उच्चस्तरीय आयोगको प्रतिवेदनमा आफूलाई 'भ्रामक प्रचार गर्ने व्यक्ति' भनिएकोमा आपत्ति जनाएका छन्।
- परियारले आयोगको निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका छन्।
- उनले सरकारसँग प्रतिवेदनको निष्कर्ष पुनर्मूल्याङ्कन गर्न अनुरोध गरेका छन् र सत्यको पक्षमा रहेको बताएका छन्।
काठमाडौं । गायक शिव परियारले जेनजी आन्दोलनमा भएका घटनाहरूको छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको हालैको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालबाट सोमबार विज्ञप्ति जारी गर्दै परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका हुन् ।
उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन् । आफूले त्यतिबेला लेखेको स्क्रिनसटमा समेत सेयर गर्दै आफूले जिज्ञासा राखेको र पछि हटाएको कुरालाई सञ्चारमाध्यमले बङ्गाएर प्रेषण गरेको आरोप लगाए ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा फैलिएको हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले बताएका छन् । ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?’ भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन् ।
गायक परियारले भनेका छन्, ‘मेरो पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले थिएन, केवल सत्य तथ्य बुझ्नका लागि गरिएको एउटा प्रश्न मात्र थियो । तर केही सञ्चारमाध्यमले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरे र सोही आधारमा आयोगले मलाई दोषीका रूपमा चित्रण गर्यो ।’
यसबाट आफ्नो प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन् ।
उनी लेख्छन्- हालको नेपाल सरकार तथा यसका सम्बन्धित निकायसमक्ष विनम्रतापूर्वक अनुरोध गर्दछु कि भ्रामक समाचार सूचनाका आधारमा गरिएका निष्कर्षलाई पुनर्विचार गरी म माथि पर्न गएको अन्यायका विषयमा पुनर्मूल्याङ्कन गरियोस् ।’
आफू एक जिम्मेवार नागरिक र कलाकार भएको नाताले सँधै सत्यको पक्षमा रहेको र राज्यलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत परियारले बताएका छन् ।
प्रतिक्रिया 4