+
एसियन कप छनोट :

नेपाल भर्सेस लाओस : गुग्लिएल्मो एरेनाको पहिलो परीक्षा

२०८२ चैत  १६ गते १५:२३ २०८२ चैत १६ गते १५:२३

इटालियन मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक हुन् । उनी लाओसविरुद्धको खेलबाटै नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन् ।

नेपाल भर्सेस लाओस : गुग्लिएल्मो एरेनाको पहिलो परीक्षा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।
  • गुग्लिएल्मो एरेना ५२ वर्षीय इटालियन प्रशिक्षक हुन् जसले लाओस टिम छाडेर नेपालका मुख्य प्रशिक्षक बनेका छन्।
  • नेपालले दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेपछि घरेलु मैदानमा खेल्न नसक्दा लाओससँगको खेल विदेशमा हुन लागेको छ।

१६ चैत, काठमाडौं । नेपाली फुटबलको अहिलेको सबै अवस्था ठिक हुन्थ्यो भने नेपाल भोलि लाओससँग दशरथ रंगशालामा हुने एएफसी एसियन कप छनोटको खेलको अन्तिम तयारीमा हुन्थ्यो ।

नेपाली टिम र खेलाडीको प्रदर्शन कस्तो होला? नेपालको नतिजा के आउला भन्ने उत्सुकता हुन्थ्यो । तर अवस्था त्यस्तो छैन । नेपाली फुटबल अहिले संकटको स्थितिमा छ । यो स्थितिबाट फुटबल कतातिर जान्छ भन्ने टुंगो छैन ।

ठीक यसैबेला नेपाली पुरुष राष्ट्रिय फुटबल टिम भने लाओसमा छ, एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटको अन्तिम खेल खेल्न ।

यो खेलबाट नेपालको खासै ठूलो अपेक्षा छैन । यसमा खेलमा जस्तो नतिजा आएपनि नेपाली फुटबलमा कुनै अचम्म हुने छैन । तर यो खेल खेल्ने नेपाली टोली सम्हालिरहेका गुग्लिएल्मो एरेनाका लागि भने यो खेल आफ्नो कोचिङ करियरका लागि महत्वपूर्ण बन्न सक्छ ।

५२ वर्षीय यी इटालियन मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक हुन् । उनी लाओसविरुद्धको खेलबाटै नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन् । साथै उनका लागि कुनै पनि राष्ट्रिय टिमबाट यो पहिलो खेल समेत हुनेछ । त्यसैले स्वीट्जरल्यान्डमा जन्मेर युरोप, अफ्रिका, एसिया महादेशका विभिन्न राष्ट्रका क्लबहरु हेरिसकेका एरेनाका लागि यो खेल विशेष बन्न सक्छ ।

गत महिना अखिल नेपाल फुटबल संघ (एन्फा) ले एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसबेला उनको डेब्यु खेल हङकङविरुद्धको मैत्रीपूर्ण खेल हुने तय थियो ।

लाओससँगको खेलको तयारीकै लागि नेपालले चैत १२ गते (मार्च २६) मा घरेलु मैदान दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्ने तय थियो । तर चैत १३ गते झापामा अर्ली इलेक्सन गर्न कसिएर लागेको एन्फा र निर्वाचन गर्न स्वीकृति नदिने राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको जुहारी चल्दा नेपालले हङकङ विरुद्धको खेल खेल्न पाएन । अन्तिम समयमा एन्फाले नै उक्त खेल स्थगित भएको घोषणा गर्‍यो ।

फुटबलभित्रको राजनीति र एन्फाको आफ्नै विवादले गर्दा हङकङसँगको खेल गुमाएपछि उत्पन्न पछिल्लो परिस्थितीले गर्दा नेपालले लाओससँग खेल्ने/नखेल्ने पनि टुंगो थिएन ।

तर एन्फाले अन्तिम समयमै भएपनि राखपसँग स्वीकृति लिएर नेपाली टोलीलाई सुटुक्क लाओस उठाएको थियो । कम्तीमा नेपालले एसियन कप छनोटको अन्तिम खेल खेल्ने पक्का भयो । त्यसपछि भने सायद गुग्लिएल्मोले पनि राहतको सास फेरे ।

किनभने लगभग तय भएको दुवै खेल नभएको स्थितिमा उनले नेपाली टोलीबाट प्रशिक्षकको रुपमा कहिले डेब्यु गर्ने नै टुंगो थिएन । अब नेपालले खेल्ने साफ च्याम्पियनसिप २०२६ को अन्त्यतिर हुने भनिएपनि यसबारे आधिकारिक रुपमा केही सार्वजनिक भइसकेको छैन ।

त्यसैले यस्तै मैत्रीपूर्ण खेलहरूमै भर पर्नुपर्ने स्थिति आउन सक्थ्यो । तर अब भने गुग्लिएल्मो एरेनाले कुनैबेला आफैं मुख्य प्रशिक्षक रहेको लाओसकै टिमविरुद्ध डगआउटमा बस्दै नेपालका लागि डेब्यू गर्नेछन् ।

यसअघि गुग्लिएल्मो एरेना सन् २०२३ मा लाओसको मुख्य प्रशिक्षक बनेका थिए । तर उनले लाओसको सिनियर टिम हेर्ने साइत भने जुरेन । २०२३ सेप्टेम्बरमा लाओस टिम छाड्नुअघि उनले लाओस यू-२३ टिमका लागि चार खेलमा प्रशिक्षण सम्हालेका थिए ।

त्यही लाओसमा हुँदा नेपाली टिमको बारेमा जानकारी पाएर उनले नेपालको प्रशिक्षक बन्न आवेदन दिएका थिए । त्यही आवेदन दिनेमध्येबाट एन्फाले उनै गुग्लिएल्मो एरेनालाई नेपालको नयाँ मुख्य प्रशिक्षक बनाएको हो ।

घरको खेल विदेशमा

फाइल

नेपाल र लाओसबीचको खेल मार्च ३१ (चैत १७) गते भिएनटियनस्थित न्यु लाओस नेशनल स्टेडियममा हुनेछ ।

खासमा यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपर्ने थियो । एसियन कप छनोटको तेस्रो चरणमा चार टोलीले होम एण्ड अवे प्रणालीमा घरमा तीन र बाहिर तीन खेल खेल्ने प्रावधान छ ।

तर पछिल्लो दुई वर्षपछि दशरथ रंगशाला अन्तर्राष्ट्रिय रुपमा ‘अयोग्य’ बन्दा नेपालले कुनै पनि खेल घरेलु मैदानमा खेल्न पाएन । जुन नेपाली फुटबल र सर्मथकका लागि पनि दुर्भाग्य हो । नेपालले समूह एफमा यसअघि मलेसिया र भियतनाम विरुद्धको होम म्याच सोही देशकै घरेलु मैदानमा गएर खेलेको थियो ।

अहिले लाओस विरुद्धको खेलमा पनि त्यस्तै स्थिती रह्यो । नेपाली फुटबल अहिले राखेपबाट निलम्बन रहेको अवस्था, एन्फा आन्तरिक विवादमै रुमल्लिरहेको र फुटबलमा आइपरेको यो संकटबाबीचमा नेपालले लाओसमा गएर खेल्न पाउनु नै अहिलेका लागि सकरात्मक पक्ष मान्न सकिन्छ ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसिया कपमा पुग्ने होडबाट बाहिरिसकेको नेपालका लागि लाओसविरुद्धको अन्तिम खेल पोजिटिभ नोटमा सकाउने अवसर हुनेछ ।

छनोटको समूह एफमा रहेको नेपाल र लाओसको ५ खेलबाट समान ५ अंक छ । यसअघि लाओसमा भएको खेलमा नाल २-१ ले पराजित भएको थियो । नेपाल लाओससँग ६ खेलमा पराजित भएको त्यो नै पहिलो हो ।

त्यसअघि नेपालले चार खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो । यस पटक लाओससँग उसैको मैदानमा बेहोरेको हारको बदला लिने अवसर समेत नेपाल सामु छ । ‘हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं’ मंगलबार भएको प्रि-म्याच कन्फेरेन्समा एरेनाले भनेका छन् ।

को हुन् गुग्लिएल्मो एरेना ?

५२ वर्षीय गुग्लिएल्मो एरेना स्वीट्जरल्यान्डमा जन्मिए । हाल उनी इटालियन नागरिक हुन् । उनीसँग दुवै देशको नागरिकता छ । उनी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनी अंग्रेजी, फ्रेन्च र इटालियन तीन भाषा बोल्छन् ।

एरेनासँग जाम्बिया र मोरक्को लगायत विभिन्न देशको लिगमा काम गरिसकेको अनुभव छ । यस्तै उनले लाओसको यू-२३ टोलीको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए ।

उनले एसिया, युरोप र अफ्रिकामा गरी ३०० भन्दा खेलमा प्रशिक्षण गराइसकेका छन् ।

एरेनासँग दुई दशक लामो फुटबल प्रशिक्षणको अनुभव छ । उनले सन् २००३-४ बुर्किनाफासोको क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यसयता उनले बेनिन, मोरोक्को, सिंगापुर, अल्जेरिया, युएई, ओमान, चीन लगायत देशको लिगमा क्लबमा प्रशिक्षण सम्हालेका थिए । यसैगरी उनले सन् २०२३ मा लाओस यू-२३ फुटबल टिमको प्रशिक्षण पनि सम्हालेका थिए ।

पछिल्लो पटक एरेनाले सन् २०२४-२५ को सिजन मोरोक्कन शीर्ष डिभिजन बोटोलो ब्रो मा मेघ्राव डे फासमा प्रशिक्षण सम्हालेका थिए । त्यसबेला अब्देल्हेय बेन सोल्तानेले बीचमै क्लब छाडेपछि एरेनाले सम्हालेका थिए ।

गुग्लिएल्मो एरेनलाई सन् २०२३ जुनमा मा लाओसले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै लाओस यू-२३ टिमको पनि जिम्मेवारी दिएको थियो । तर लाओसको राष्ट्रिय टिममा उनले कुनै खेलमा प्रशिक्षण सम्हालेनन् । सन् २०२३ सेप्टेम्बरमै एरेनाले लाओसको टिम छाडेका थिए ।

गुग्लिएल्मो एरेना नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय