News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तर २०८२ मापदण्ड कडाइसाथ पालन गर्न अनुरोध गरेको छ।
- श्रम मन्त्रालयले ३० पुस २०८२ मा कार्यस्थलका लागि अधिकतम तापको स्तर २०८२ स्वीकृत गरेको थियो।
- मापदण्ड अनुसार कार्यलाई हल्का, मध्यम, गाह्रो र धेरै गाह्रो चार भागमा विभाजन गरिएको छ र प्रत्येकको तापक्रम सीमा तोकिएको छ।
१६ चैत, काठमाडौं । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड) २०८२ कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त मापदण्ड कडाइसाथ पालन गर्न अनुरोध गरेको हो ।
श्रम मन्त्रालयले ३० पुस २०८२ मा कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड) २०८२ स्वीकृत गरेको थियो । १५ चैतमा विभागलाई पत्राचार गर्दै उक्त मापदण्ड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।
मापदण्डको प्रभावकारी कार्यान्वय गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकारवाला सबैमा अनुरोध गरेको हो ।
विभाग प्रवक्ता मणिनाथ गोपले स्वीकृत मापदण्ड अनुसार काम कारबाही नभएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने बताए ।
मापदण्ड अनुसार कार्यचापलाई हल्का, मध्यम, गाह्रो र धेरै गाह्रो कार्य गरेर चार भागमा विभाजन गरिएको छ । त्यसका लागि हल्का कार्यका हकमा वेटबल्ब ग्लोबटेम्प्रेचर, अधिकतम तापको स्तरलाई ३२.२ डिग्री सेल्सियस हुनुपर्ने छ ।
त्यस्तै मध्यम कार्यका हकमा ३०.६ डिग्री, गाह्रो कार्यका हकमा २८.९ डिग्री र धेरै गाह्रो कार्यका हकमा २६.९ डिग्री सेल्सियस तापक्रम हुनुपर्ने छ ।
मापदण्ड अनुसार हल्का कार्य भन्नाले बसेर वा उभिएर मेसिन नियन्त्रण गर्ने, हातको प्रयोगले गर्ने हल्का कार्य जस्तै हाते औजारले काट्ने कार्य, हलुका सामान ओसारपसार गर्ने छन् ।
त्यस्तै मध्यम कार्यमा निरन्तर हात र पाखुराले गर्ने काम, हल्का धकेल्ने वा तान्ने काम जस्तै टेबुलमा कुर्सी सार्ने काम, सामान तलमाथि लैजाने काम छन् ।
गाह्रो कार्यमा हात र शरीरको मांसपेसीमा असर पर्ने कडा काम, उठाउने र बेल्चा लगाउने काम, खन्ने, बोक्ने, गह्रौं भारी धकेल्ने/तान्ने, तीव्र गतिमा हिँड्ने काम र धेरै गाह्रो कार्यमा द्रुत गतिदेखि अधिकतम गतिमा गरिने धेरै कडा गतिविधि छन् ।
कोठाभित्र मापन गर्दा भुइँ तहभन्दा १.५ मिटर उचाइमा हावाको गति १.५ मिटर प्रतिसेकेन्डभन्दा बढी हुनुपर्ने व्यवस्था मापदण्डमा तोकिएको छ ।
त्यस्तै वेट बल्बको तापक्रम सधैं ड्राई बल्बको तापक्रमभन्दा कम हुने तर शतप्रतिशत सापेक्षिक आर्द्रतामा समान हुने मापदण्ड छ ।
उक्त तापको स्तरभन्दा फरक तापक्रममा कार्य सञ्चालन गर्नुपर्ने भए आवश्यकता अनुसार सुरक्षाको नियन्त्रणात्मक उपाय अपनाउनुपर्ने छ । यसका लागि व्यक्तिगत सुरक्षाको उपकरण, जब रोटेसन आदिको व्यवस्था गरी गर्न सकिने मापदण्डमा उल्लेख छ ।
प्रतिक्रिया 4