+
+
Shares

हिजबुल्लाह : इजरायलको जन्मजात गैर-राज्य शत्रु

आफ्नै सशस्त्र दस्ता र अत्याधुनिक हातहतियार समेत रहेको यो समूह पश्चिम एसियामा इजरायलको सधैँको टाउको दुखाइ बनेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेबनानमा आधारित शिया मुस्लिम समूह हिजबुल्लाहले इजरायलसँगको द्वन्द्वमा सशस्त्र र राजनीतिक दुवै भूमिका खेलेको छ।
  • सन् २०२४ मा हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या पश्चात नयाँ महासचिव नइम कासिमले नेतृत्व सम्हालेका छन्।
  • सन् २०२३ को हमासको इजरायल आक्रमणपछि हिजबुल्लाहले पनि रकेट र ड्रोनमार्फत इजरायलमाथि हमला सुरु गरेको छ।

१७ चैत, काठमाडौं । लेबनानमा आधारित ‘हिजबुल्लाह’ शिया मुस्लिम धार्मिक कट्टरपन्थी समूह हो । आफ्नै सशस्त्र दस्ता र अत्याधुनिक हातहतियार समेत रहेको यो समूह पश्चिम एसियामा इजरायलको सधैँको टाउको दुखाइ बनेको छ ।

लेबनानमा हिजबुल्लाको पहिचान ‘राज्यभित्रको राज्य’ जस्तो बनेको छ । सन् १९७५ देखि १९९० सम्म १५ वर्ष लामो चलेको लेबनानी गृहयुद्धका बीच हिजबुल्लाहको जन्म भएको मानिन्छ । जसले स्थापनाकालदेखि नै इजरायली अस्तित्व अस्वीकार गर्छ ।

हिजबुल्लाहलाई इरानले सैन्य प्रविधि र उपकरणमा सहयोग पुर्‍याउँदैआएको मानिन्छ । यही कारण उसको पहिचान इरानको सबैभन्दा शक्तिशाली ‘प्रोक्सी’ समूह पनि मानिन्छ । यसको सम्बन्ध इरान र सिरियाको संस्थापन र इजरायल तथा पश्चिमा शक्तिको विरोधीसँग रहँदैआएको छ ।

हिजबुल्लाहलाई अमेरिका र अन्य धेरै देशले आतंकवादी संगठन मान्दछन् । ७ अक्टोबर २०२३ मा गाजा पट्टीबाट हमास समूहले इजरायलमाथि हमला गरेपछि सुरु भएको पश्चिम एसियाको तनावमा हिजबुल्लाहको नाम बारम्बार आइरहन्छ ।

हिजबुल्लाहले इजरायलका लगातार मिसाइल र ड्रोनबाट हमला गर्दा इजरायली सेना(आईडीएफ) झन् आक्रमक भएर लेबनानको भूमिमै आक्रमण गरिरहेको छ ।

यही युद्धका क्रममा आईडीएफले सन् २०२४ मा हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्यासमेत गरेको थियो । लगत्तै आईडीएफले दक्षिणी लेबनानमा स्थलगत सैन्य कारबाही सुरु गरेको थियो ।

सोही वर्षको अन्त्यतिर युद्धविराम सम्झौता भएको थियो । जुन अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि हिजबुल्लाहले तोडेको छ ।

२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको हमलामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्या भएको थियो । त्यसको बदलामा हिजबुल्लाहले इजरायलमाथि हमला गर्दा फेरि उ युद्धको मोर्चामा उत्रिएको छ ।

मारिएका इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनी

हिजबुल्लाहको उदय

दोस्रो विश्वयुद्धपद्धि पश्चिम एसियामा इजरायलको देश स्थापित भएपछि सुरु भएको युद्धका कारण त्यहाँबाट ठूलो संख्यामा प्यालेस्टाइनीहरू विस्थापित भएका थिए ।

विस्थापित प्यालेस्टाइनीहरू लेबनानमा बाक्लिए । उनीहरूको उपस्थितिले गुम्सिएको असन्तुष्टि लेबनानमा युद्धका रूपमा विष्फोट भएको थियो । त्यसैको जगमा गृहयुद्ध भड्कियो ।

त्यसअघि नै सन् १९४३ को एक राजनीतिक सम्झौताअनुसार लेबनानमा राजकीय शक्ति धार्मिक समुदायअनुसार बाँडिएका थिए । जनसंख्याको अनुपातअनुसार पदको बाँडफँट मिलाउँदा लेबननमा सुन्नी मुस्लिम समुदायको बहुल्यता थियो ।

सोहीअनुसार सुन्नी मुस्लिम प्रधानमन्त्री, मारोनाइट इसाई राष्ट्रपति र शिया मुस्लिम संसदको सभामुख हुने व्यवस्था गरियो ।

तर, प्यालेस्टिनी शरणार्थीको आगमनले सुन्नी जनसंख्या बढ्दै जाँदा शियाहरू आक्रोशित बन्दैगएका थिए । यस्तै उनीहरू अल्पसंख्यक इसाई राष्ट्रपति भएकामा पनि असन्तुष्ट थिए । त्यसैको जगमा गृहयुद्ध सुरु भएको थियो ।

गृहयुद्धकै समयमा इजरायली सेनाले सन् १९७८ र १९८२ मा दक्षिण लेबनानमा आक्रमण गर्‍यो । इजरायलको उद्देश्य आफ्नो भूमिमा छापामार शैलीमा आक्रमण गर्ने प्यालेस्टिनी लडाकु धपाउनु थियो । तर, त्यसले इजरायलविरुद्ध लेबनानका शिया समुदायमा पनि आक्रोश पैदा गर्‍यो । त्यसैको जगमा हिजबुल्लाहको स्थापना भएका मानिन्छ ।

सन् १९७९ मा इरानको इस्लामिक क्रान्तिपछि नयाँ शिया शासन स्थापना भयो । त्यसबाट लेबनानका शिया समुदाय आकर्षित थियो । इरानको नयाँ सत्ताले इजरायलविरोधी भावना राख्थ्यो । उसले इजरायलविरुद्ध ‘प्रोक्सी रणनीति’ सुरु गर्नथाल्यो ।

Claude Salhani riding atop an amphibIous landing craft with US Marines in Lebanon, 1983.

सोहीक्रममा लेबनानमा इजरायलको कब्जा र हमलाविरुद्ध आक्रोशित रहेको हिजबुल्लाह इरानको रोजाइमा पर्‍यो । त्यो बेला इरानले ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ (आईआरजीसी)मार्फत इजारयलविरुद्ध अरब देशका मिलिसियालाई आर्थिक सहयोग र तालिम प्रदान गर्न थाल्यो । सोही क्रममा ‘हिजबुल्लाह’ पनि बलियो हुँदैगयो ।

हिजबुल्लाहको शाब्दिक अर्थ ‘परमेश्वरको दल’ हुन्छ । त्यही हिजबुल्लाह इरानका लागि आफ्ना विरोधीसँग लड्ने शक्तिशाली प्रोक्सीका रूपमा उदाउँदै गयो ।

सन् १९८३ मा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी र फ्रान्सेली सेनाको ब्यारेकमा भएको आत्मघाती बम विष्फोटमा ३०० भन्दा बढीको ज्यान गयो । जसमा हिजबुल्लाहको हात थियो ।

हिज्बुल्लाहले सशस्त्र समूहमात्रै रहेन, उसले आफूलाई एक शिया समुदायको बचाउ आन्दोलनका रूपमा प्रस्तुत गर्दछ । सन् १९८५ को एक घोषणापत्रमार्फत उसले लेबनानबाट पश्चिमा शक्तिलाई धपाउने प्रतिज्ञा गरिएको थियो र इजरायली राज्यको विनाशको आह्वान गरेको थियो ।

सैन्य शक्ति

हिजबुल्लाह लेबनानको सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो । अहिले भने इजरायलसँगको युद्धमा ठूलो क्षति बेहोरेको उसको वर्तमान शक्ति आकलन गर्न कठिन छ ।

सन् २०२१ मा नसरल्लाहले आफूसँग एक लाख लडाकु रहेको बताएका थिए । सन् २०२२ मा अमेरिकी विदेश मन्त्रालयले हिजबुल्लाहका ‘१० औँ हजार समर्थक र सदस्य’ रहेको अनुमान गरेको थियो । हालैका विश्लेषणमा ४० हजारदेखि ५० हजारका बीचमा यसको सैन्य दस्ता रहेको उल्लेख छ ।

पूर्व इजरायली सैन्य अधिकारीसमेत रहेका सुरक्षा विश्लेषक आसाफ ओरियन भन्छन्, ‘धेरैजसो राष्ट्रसँग हुनेभन्दा पनि ठूलो मात्रामा आर्टिलरीको भण्डार हिजबुल्लाहसँग छ ।’

सन् २०१८ को ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को एक प्रतिवेदनले हिजबुल्लाहलाई ‘विश्वकै सबैभन्दा धेरै सशस्त्र हतियार भएको गैर–राज्य समूह’ भनेको थियो ।

हिजबुल्लाहसँग विभिन्न दुरीमा प्रहार गर्न सक्ने एक लाख ५० हजार  देखि दुई लाखसम्म रकेट र क्षेप्यास्त्र रहेको मानिन्छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार हिजबुल्लाहलाई इरानले सैन्य तालिम, हतियार र आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ भने सिरियाको बसर अल असद शासनबाट पनि केही सहयोग प्राप्त गरेको थियो ।

हसन नसरल्लाह

सन् २०२४ मा मारिएका हसन नसरल्लाहले हिजबुल्लाह स्थापना गर्न सहयोगी भूमिका खेलेका थिए । उनले तीन दशकभन्दा बढी समय त्यसको नेतृत्व पनि गरे ।

बेरुतमा जन्मेका यी शिया धर्मगुरुलाई हिज्बुल्लाहलाई पश्चिम एसियाको शक्तिशाली गैर–राज्य सैन्य शक्ति बनाउन भूमिका खेलेको जानकारहरूको बुझाइ छ ।

हसन नसरल्लाह

नसरल्लाह नेतृत्वकै हिजबुल्लाहको प्रतिवादका कारण सन् २००० मा इजरायली सेना दक्षिण लेबनानबाट एकतर्फी फिर्ता हुन बाध्य भएको थियो । जहाँ उसले १८ वर्ष कब्जा जमाएको थियो । यही कारण उनको लोकप्रियता इस्लामिक विश्वमा झन् बलियो भएको थियो ।

पछिल्लो समय उनको हत्यापछि भने हिजबुल्लाह कमजोर भएको मानिएको छ ।

नसरल्लाहपछिको नेतृत्व

नसरल्लाहको मृत्युपछि हिजबुल्लाहको नेतृत्व ७१ वर्षीय नइम कासिमले गरिरहेका छन् । सन् २०२४ अक्टोबरमा ‘शुरा काउन्सिल’ ले उनलाई महासचिवमा निर्वाचित गरेको थियो ।

Who Is Naim Qassem? Longtime Deputy Now Leading Hezbollah - Business Insider
नइम कासिम

बेरुतमा जन्मेका कासिम हिजबुल्लाहका संस्थापक नेता हुन् । कासिम अवस्था अहिले अज्ञात छ । हालैको एक रिपोर्टअनुसार उनी बेरुत छाडेर तेहरानमा शरण लिएर बसेका छन् ।

हिजबुल्लाहले लेबनानका शिया बहुल्य क्षेत्रमा आफ्नो नियन्त्रण कायम राखेको छ, जसमा बेरुतका केही भाग, दक्षिण लेबनान र पूर्वी बेका भ्याली क्षेत्र पर्दछन् ।

लेबनानी राजनीतिमा भूमिका

हिजबुल्लाह सन् १९९२ देखि लेबनानी सरकारको अभिन्न अंग नै बन्दैआएको छ । त्यो बेला यसका आठजना सांसद निर्वाचित भएका थिए । सन् २००५ देखि सरकारमै यसको प्रतिनिधित्व छ ।

सन् २००९ मा घोषणापत्र परिमार्जन गर्दै हिजबुल्लाहले सत्ता राजनीतिमा पनि आफ्नो धारणा राखेको छ । जसमा ‘वास्तविक लोकतन्त्र’को वकालत गरेको थियो ।

सन् २०२२ को लेबनानको राष्ट्रिय निर्वाचनमा हिज्बुल्लाहले १२८ सदस्यीय संसदमा १३ वटा सिट जितेको छ । तर, उसका सहयोगीहरूले संसदको बहुमत भने गुमाएका थिए ।

आफ्नो नियन्त्रण क्षेत्रमा भने हिज्बुल्लाह सरकारकै रूपमा काम गर्छ । त्यहाँ न त सेना, न त संघीय अधिकारीले उसको प्रतिवाद गर्न सक्छन् ।

इजरायलप्रतिको दृष्टिकोण

हिजबुल्लाहले इजरायललाई आफ्नो प्रमुख शत्रु मान्दछ । हिज्बुल्लाहले विदेशमा रहेका यहुदी र इजरायली भूमिमा आक्रमण गर्दैआएको आरोप छ । सन् १९९४ मा अर्जेन्टिनाको एक यहुदी सामुदायिक केन्द्रमा कार विष्फोट हुँदा ८५ जना मारिएका थिए । यस्तै लन्डनस्थित इजरायली दूतावासमा बम विष्फोट भएको थियो । त्यसमा हिजबुल्लाहलाई जोडिन्छ ।

सन् २००० मा इजरायली सेना दक्षिण लेबनानबाट फिर्ता भएपछि हिजबुल्लाहसँगको तनाव कहिल्यै रोकिएन । विशेषगरी लेबनान–सीरियासँग जोडिएको इजरायली सीमा क्षेत्रमा सधैँ मुठभेड भइरहन्छ ।

अमेरिका र अन्य देशसँगको व्यवहार

अमेरिकाले बिल क्लिन्टन राष्ट्रपति रहेका बेला सन् १९९७ मा हिजबुल्लाहलाई ‘आतंकवादी संगठन’ घोषणा गरेको थियो । सँगै कमान्डर नसरल्लाहलगायत हिजबुल्लाहका नेताहरूलाई ‘विश्वव्यापी आतंकवादी’ को सूचीमा राखेको थियो ।

सन् २०१० मा बाराक ओबामा प्रशासनले लेबनानमा हिजबुल्लाहको विश्वासनीयता घटाउन लेबनानको सैनिकलाई सहायता प्रदान गरेको थियो ।

सन् २०१५ मा अमेरिकी कांग्रेसले ‘हिजबुल्लाह इन्टरनेसनल फाइनान्सिङ प्रिभेन्सन एक्ट’ पारित गरेर उसलाई वित्तीय सहायता दिने विदेशी संस्थामाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि पनि अमेरिकाले हिजबुल्लाहका सहयोगीहरूलमाथि बारम्बार आर्थिक नाकाबन्दी लगाउने गरेको छ ।

पछिल्लो युद्धमा भूमिका

सन् २०२३ मा हमास समूहले इजरायलमा आक्रमण गरेपछि हिजबुल्लाहले पनि लेबनानबाट रकेट, मोर्टार र ड्रोनमार्फत इजरायलमा आक्रमढा सुरु गरेको थियो । जसमा उसले हमासप्रति ऐक्यबद्धता भनेको थियो ।

हिजबुल्लाहको त्यो आक्रमणबाट उत्तरी इजरायलका करिब ६० हजार बासिन्दा घर छोडेर भाग्न बाध्य भएका थिए ।

२०२४ को जुलाईमा गोलन हाइट्समा भएको मिसाइल आक्रमणका लागि इजरायलले हिजबुल्लाहमाथि दोष लगाएको थियो । जसमा १२ जना बालबालिकाको मारिएका थिए ।

सन् २०२४ को नोभेम्बरमा अमेरिकाको मध्यस्थतामा हिजबुल्ला र इजरायलको युद्धविराम भएपनि अहिले फेरि युद्धमा होमिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?