+

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

२०८२ चैत  १९ गते १२:०८ २०८२ चैत १९ गते १२:०८

एनआईपीटीको रिपोर्टमा उच्च जोखिम देखिनु अन्तिम निदान होइन, यो थप जाँचको संकेत मात्र हो । यस्तो अवस्थामा चिकित्सकले एम्नियोसेन्टेसिस सिफारिस गर्छन् ।

Shares
एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईपीटी परीक्षणले गर्भवती आमाको रगतबाट भ्रूणमा क्रोमोजोम असामान्यताको जोखिम पत्ता लगाउँछ र यो १० हप्तापछि गर्न सकिन्छ।

‘गर्भमा रहेको मेरो बच्चा ठिक छ कि छैन ?’

यो प्रश्न हरेक गर्भवती आमाको मनमा कुनै न कुनै बेला आउँछ ।

आजको युगमा यस चिन्ताको वैज्ञानिक र भरपर्दो उत्तर दिन सक्षम छ– एनआईपीटी, अर्थात् नन–इनभेसिभ प्रिनेटल टेस्टिङ ।

पछिल्लो समय चिकित्सा विज्ञानमा भएको द्रुत प्रगतिसँगै गर्भावस्थामै शिशुको स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिने प्रविधिहरू निकै परिष्कृत भएका छन् ।

तीमध्ये एनआईपीटी एक सुरक्षित, सरल र अत्यन्त भरपर्दो परीक्षणको रूपमा विश्वभर स्थापित हुँदै गएको छ । साधारण रगत परीक्षणमार्फत गरिने यो विधिले शिशुमा हुन सक्ने सम्भावित क्रोमोजोम समस्याहरू गर्भमै पत्ता लगाउन मद्दत गर्छ, त्यो पनि आमा वा शिशुलाई कुनै जोखिमबिना ।

समस्या भए सुरुमै विशेषज्ञसँग सल्लाह लिएर तयारी गर्न सकिन्छ । सबै ठिक भए अनावश्यक तनाव हट्छ र गर्भावस्थाको यात्रा खुसीसाथ अघि बढाउन मद्दत पुग्छ ।

एनआईपीटी कस्तो परीक्षण हो ?

एनआईपीटी एउटा अत्याधुनिक प्रसवपूर्व, गर्भवती आमाको रगतबाट गरिने परीक्षण हो, जसले गर्भवती आमाको रगतभित्र पाइने गर्भनाल (प्लेसेन्टा)बाट आएको सेल–फ्री डीएनए (सिएफडीएनए) का टुक्राहरूको विश्लेषण गर्छ । यस परीक्षणले भ्रूणमा केही विशिष्ट क्रोमोजोम असन्तुलनको जोखिम उच्च छ वा कम भए/नभएको पहिचान गर्छ ।

तथापि, यसले भ्रूणको सम्पूर्ण स्वास्थ्यको सतप्रतिशत निदान गर्दैन । तर स्वास्थ्य समस्याको जोखिम आकलन गर्ने उपयुक्त परीक्षण हो । परिणाम असामान्य आएको खण्डमा पुष्टि गर्न थप डायग्नोस्टिक परीक्षण आवश्यक पर्न सक्छ ।

परीक्षण कहिले गर्ने ?

यो परीक्षण गर्भ रहेको १० हप्तापछि गर्न सकिन्छ, किनभने त्यसपछि मात्र आमाको रगतमा पर्याप्त मात्रामा सिएफडीएनए उपलब्ध हुन्छ । नेपालमा प्रायः साढे १० वा ११ हप्ताबाट सुरु गरिन्छ र २४ हप्तासम्म गर्न सकिन्छ।

विशेष गरी कसलाई सिफारिस गरिन्छ ?

एनआईपीटी सबै गर्भवती महिलाले गर्न सक्ने भए पनि निम्न अवस्थामा चिकित्सकले यसलाई सिफारिस गर्छन्:

१. आमाको उमेर ३५ वर्ष वा माथि भएमा : उमेरसँगै अण्डाको गुणस्तरमा आउने परिवर्तनका कारण क्रोमोजोम असामान्यताको जोखिम बढ्दै जान्छ।

२. पारिवारिक इतिहास : अघिल्लो गर्भावस्था वा परिवारमा क्रोमोजोम असामान्यता भएको बच्चा जन्मिएको इतिहास भएमा।

३. बारम्बार गर्भपतन : दुई वा सोभन्दा बढी पटक गर्भपतन भएका महिलामा क्रोमोजोम–सम्बन्धी कारण निहित हुन सक्छ।

४. अल्ट्रासाउन्डमा असामान्य देखिएमा : पहिलो वा दोस्रो त्रैमासिकको अल्ट्रासाउन्डमा नुचल ट्रान्सलुसेन्सी बढेको वा स्ट्रक्चरल एब्नर्मालिटी देखिएमा । यसको अर्थ हो, बच्चाको शरीरको कुनै अंग सामान्य रूपमा नबन्नु । बच्चामा केही क्रोमोसोम सम्बन्धी समस्या (जस्तै डाउन सिन्ड्रोम) हुन सक्ने संकेत हुन सक्छ । कहिलेकाहीँ मुटु वा अन्य अंगको समस्या पनि हुन सक्छ ।

५. पहिले गरिएको स्क्रिनिङमा उच्च जोखिम देखिएमा : डबल मार्कर वा क्वाड्रपल मार्कर परीक्षणमा उच्च जोखिम देखिएमा ।

कुन–कुन समस्या पत्ता लगाउँछ ?

एनआईपीटीले मुख्य रूपमा क्रोमोजोम संख्यामा हुने असामान्यताहरू जाँच्छ ।

-डाउन सिन्ड्रोम (ट्राइसोमी २१)

क्रोमोजोम २१ एउटाभन्दा बढी (तीनवटा) हुँदा यो अवस्था उत्पन्न हुन्छ। यसले शिशुको बौद्धिक र शारीरिक विकासमा प्रभाव पार्न सक्छ ।

-एडवड्र्स सिन्ड्रोम (ट्राइसोमी १८)

क्रोमोजोम १८ बढी भएमा देखिने यो अवस्था अत्यन्त गम्भीर हुन्छ । यस अवस्थामा जन्मेका धेरै शिशु जन्मपछि अल्पकालमै जीवन गुमाउँछन् ।

-पाटाउ सिन्ड्रोम (ट्राइसोमी १३)

क्रोमोजोम १३ बढी हुँदा उत्पन्न यो अवस्थाले पनि शिशुमा गम्भीर शारीरिक समस्याहरू निम्त्याउँछ ।

यसबाहेक एनआईपीटीले यौन क्रोमोजोम सम्बन्धी केही असामान्यताको जोखिम मूल्यांकन पनि गर्न सक्छ :

-टर्नर सिन्ड्रोम (४५, एक्स)

यो अवस्था जेनेटिक फिमेल (छोरी) मा मात्र देखिन्छ । सामान्यतया महिलामा दुईवटा एक्स क्रोमोजोम (४६, एक्स–एक्स) हुन्छन्, तर यसमा एउटा एक्स पूर्णरूपमा हराएको वा आंशिक मात्र उपस्थित हुन्छ ।

यसका कारण उचाइ सानो हुनु, किशोरावस्थामा सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्स ढिलो विकसित हुनु, जस्तै महिनावारी ढिला वा नआउनु र भविष्यमा सन्तानोत्पत्तिमा कठिनाइ हुन सक्छ । केही बिरामीमा हृदय, र्मिगौला, थाइराइड र मेटाबोलिक समस्या पनि सँगसँगै देखिन सक्छन्।

-क्लाइनफेल्टर सिन्ड्रोम (४७, एक्स–एक्स–वाई)

यो अवस्था जेनेटिक मेल (छोरा) मा देखिन्छ। सामान्यतया पुरुषमा एउटा एक्स र एउटा वाई क्रोमोजोम (४६, एक्स–वाई) हुन्छन्, तर यसमा एक्स क्रोमोजोम एउटा बढी (४७, एक्स–एक्स–वाई) हुन्छ । कहिलेकाहीँ मोजाइक वा हायर कपी भेरियन्ट्स पनि पाइन्छन् ।

यो भन्नुको अर्थ हो, दाह्री–जुँगा र शरीरको रौँ कम हुनु, अलि महिलाको जस्तो हाउभाउ बढी देखिनु, र शुक्रकीट उत्पादन कम वा नहुँदा बाँझोपनको जोखिम बढ्ने गर्छ । सिकाइमा हल्का कठिनाइ पनि कहिलेकाहीँ देखिन सक्छ ।

परीक्षण कसरी काम गर्छ ?

वीर्य र अण्डा मिलेपछि बन्ने पहिलो कोषबाट नै प्लेसेन्टा र भ्रूण दुवैको विकास हुन्छ । यसकारण तिनको डीएनए प्रायः एकै खालको हुन्छ । गर्भावस्थाभरि प्लेसेन्टाका कोषहरू स्वाभाविक रूपमा नष्ट हुँदै जान्छन् र तिनबाट निस्कने स–साना डीएनए टुक्राहरू आमाको रक्तप्रवाहमा मिसिन्छन् ।

यिनलाई नै सेल–फ्री डीएनए (सिएफडीएनए) भनिन्छ । एनआईपीटीले यही सिएफडीएनएको विश्लेषण गरेर क्रोमोजोम असामान्यताको जोखिम पहिचान गर्छ ।

प्रक्रिया यस्तो हुन्छ :

१. रगत सङ्कलन : गर्भवती आमाको करिब १० मिलिलिटर रगत लिइन्छ । यो पूर्णतः सामान्य र पीडारहित प्रक्रिया हो ।

२. सेल–फ्री डीएनए छुटाउनु : प्रयोगशालामा रगतबाट प्लाज्मा अलग गरी त्यसमा रहेका सिएफडीएनए टुक्राहरू विशेष प्रविधिबाट छुट्याइन्छ । यस मिश्रणमा आमाको र प्लेसेन्टाबाट आएको भ्रूणसम्बन्धी डीएनए दुवै हुन्छन् ।

३. नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ (एनजिएस) : अत्याधुनिक एनजिएस प्रविधिबाट प्रत्येक डीएनए टुक्राको अनुक्रम र ती कुन क्रोमोजोमबाट आएका हुन् भन्ने पहिचान गरिन्छ ।

४. कम्प्युटर विश्लेषण : उन्नत सफ्टवेयर ले प्रत्येक क्रोमोजोमबाट आएका टुक्राको संख्या गणना गरी सामान्य अपेक्षित अनुपातसँग तुलना गर्छ । उदाहरणका लागि, २१ नम्बर क्रोमोजोमबाट अपेक्षाभन्दा बढी टुक्रा देखियो भने डाउन सिन्ड्रोमको जोखिम उच्च भएको संकेत मानिन्छ ।

५. रिपोर्ट : रगत सङ्कलनदेखि रिपोर्ट तयार हुनसम्म प्रायः ७ देखि १२ दिन लाग्छ ।

कति भरपर्दो छ ?

आधुनिक प्रसवपूर्व परीक्षणहरूमध्ये एनआईपीटी हाल सबैभन्दा सटिक नन–इनभेसिभ स्क्रिनिङ उपकरण मानिन्छ । डाउन सिन्ड्रोम पहिचानमा यसको सेन्सिटिभिटी ९९ प्रतिशतभन्दा बढी र स्पेसिफिसिटी ९९.९ प्रतिशत हाराहारी रहेको अध्ययनहरूले पुष्टि गरेका छन् ।

भनिहालौं, सेन्सिटिभिटी भन्नाले रोग भएको व्यक्तिलाई सही रूपमा ‘रोग छ’ भनेर चिन्ने क्षमता र स्पेसिफिसिटीको अर्थ रोग नभएको व्यक्तिलाई सही रूपमा ‘रोग छैन’ भनेर छुट्याउने क्षमता हो ।

दुईगुणा र चौगुणा परीक्षणहरू बायोकेमिकल मार्कर्स र अल्ट्रासाउन्ड प्यारामिटर्सको अप्रत्यक्ष संयोजनमा आधारित हुन्छन्, यिनले भ्रूणको डीएनए सिधै हेर्दैनन् ।

डबल र क्वाड्रपल मार्करको फल्स पोजिटिभ रेट करिब ५ प्रतिशत हुन्छ, अर्थात् १०० जना सामान्य गर्भवती महिलामध्ये ५ जनालाई गलत रूपमा ‘उच्च जोखिम’ देखाउन सक्छ ।

एनआईपीटीको फाल्स पोजिटिभ रेट ०.१ प्रतिशतभन्दा कम हुने भएकाले यो समस्या उल्लेखनीय रूपमा न्यून हुन्छ ।

यिनै कारणले एसीओजी र आईएसयूओजी जस्ता अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूले उच्च जोखिम समूहमा एनआईपीटीलाई पहिलो पंक्तिको स्क्रिनिङका रूपमा सिफारिस गर्न थालेका छन् ।

उच्च जोखिम देखिए के गर्ने ?

एनआईपीटीको रिपोर्टमा उच्च जोखिम देखिनु अन्तिम निदान होइन, यो थप जाँचको संकेत मात्र हो । यस्तो अवस्थामा चिकित्सकले एम्नियोसेन्टेसिस सिफारिस गर्छन् ।

यो प्रक्रियामा फिटल मेडिसिन विशेषज्ञले अल्ट्रासाउन्डको मार्गदर्शनमा गर्भवती आमाको पेटबाट सानो सुईद्वारा थोरै तरल पदार्थ एम्नियोटिक फ्लुइड निकाल्छन् ।

तथापि, एम्नियोसेन्टेसिस एक इनभेसिभ प्रक्रिया भएकाले यसमा गर्भपतनको (०.१ देखि ०.५ प्रतिशत) अति कम जोखिम रहन्छ । यो निर्णय सधैँ फिटल मेडिसिन विशेषज्ञसँगको परामर्श र इनफम्र्ड कन्सेन्टका आधारमा गर्नुपर्छ ।

नेपालमा उपलब्धता, शुल्क कति लाग्छ ?

नेपालमा एनआईपीटी अझै नयाँ छ । नेपालमा एनआईपीटी अझै सीमित ठाउँमा मात्र उपलब्ध छ ।

हाल नेशनल प्याथ ल्याब, काठमाडौंमा यो सुविधा उपलब्ध छ । पहिले भारत वा बाहिर पठाउँदा ४०–५० हजार रुपैयाँ लाग्थ्यो । अहिले नेशनल प्याथ ल्याबमा २५ हजार रुपैयाँमा उपलब्ध छ जुन धेरै परिवारका लागि सस्तो र सम्भव भएको छ।

एनआईपीटी
डा. जीवन अधिकारी
लेखक
डा. जीवन अधिकारी
कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब

डा. अधिकारी नेशनल प्याथ ल्याबका विभागीय प्रमुख हुन्। प्याथोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९७९३ हो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

स्वस्थ ठान्दै खाइने बजारका खानेकुरा हुँदैनन् साँच्चिकै स्वस्थ

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?