१९ चैत, काठमाडौं । सिरियाको ऐतिहासिक सहर हौम्समा रहेको ‘ग्रेट मस्क’ को पुनर्निर्माणका क्रममा एक प्राचीन ग्रीक शिलालेख फेला परेको छ । उक्त शिलालेख फेला पर्दा दशकौँदेखि चलिरहेको एउटा पुरातात्त्विक बहसले नयाँ मोड पाएको छ ।
विशेषज्ञहरूले त्यो शिलालेख फेला परेपछि रोमन साम्राज्यको पालाको एक प्रसिद्ध ‘टेम्पल अफ सन’ मस्जिदमुनि दबिएको हुनसक्ने बलियो प्रमाण भेटिएको बताएका छन् ।
युनिभर्सिटी अफ शारजाहका पुरातत्त्वविद् प्रोफेसर मामुन सालेह अब्दुलकरिमले यो खोजले धार्मिक स्थलको क्रमिक रूपान्तरणबारे एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।
उनका अनुसार त्यहाँ सुरुमा पेगन मन्दिर थियो, पछि सेन्ट जोन द ब्याप्टिस्टलाई समर्पित चर्च बन्यो र अन्ततः इस्लामिक विजयपछि मस्जिदमा परिणत भयो ।
के छ शिलालेखमा ?
मस्जिदको एउटा ग्रेनाइट खम्बाको फेदमा भेटिएको यो शिलालेख सन् २०१६ को उत्खननका क्रममा पहिलो पटक फेला परेको भए तापनि क्षेत्रमा जारी युद्ध र अस्थिरताका कारण लामो समयसम्म यसको विस्तृत अध्ययन हुन सकेको थिएन ।
यो ऐतिहासिक सामग्रीमा एक ‘योद्धा राजा’ को गौरवशाली वीर गाथा वर्णन गरिएको छ, जहाँ उनको शाही शक्ति र विजयलाई हावा, आँधी र चितुवासँग तुलना गर्दै उच्च प्रशंसा गरिएको देखिन्छ ।
ग्रीक भाषामा लेखिएको यस शिलालेखमा त्यस समयको सिरियामा प्रचलित स्थानीय अरामिक भाषाको व्याकरणगत प्रभाव प्रस्ट रूपमा झल्किएको पाइएको छ । यसको लेखन शैली अत्यन्तै औपचारिक र सम्मानजनक छ, जसले प्राचीन समयमा कुनै मन्दिर वा स्मारक बनाइँदा अपनाइने विशेष पद्धति झल्काउँछ
पुजारी बनेका थिए रोमन सम्राट्
यो मन्दिर ‘एलागाबालस’ नामक सूर्य देवताको सम्प्रदायसँग जोडिएको छ । इतिहासको एउटा रोचक पक्ष के छ भने, यो मन्दिरका मुख्य पुजारी एलागाबालस सन् २१८ मा रोमन साम्राज्यको सम्राट् बनेका थिए । उनले आफ्नो शासनकालमा यस सूर्य देवतालाई रोमन साम्राज्यकै सर्वोच्च देवता बनाउने प्रयास समेत गरेका थिए ।
धार्मिक निरन्तरताको नमुना
प्रोफेसर अब्दुलकरिमका अनुसार एमेसा सहरको यो पछिल्लो खोजले त्यहाँ भएको धार्मिक परिवर्तन कुनै आकस्मिक घटना नभएर एक अत्यन्तै सुस्त र क्रमिक प्रक्रिया भएको स्पष्ट पारेको छ ।
त्यस सहरको धार्मिक इतिहास हेर्दा पुरानो संरचना पूर्ण रूपमा नष्ट नगरेर त्यसैमाथि नयाँ आस्थाअनुसार त थप्दै लगिएको देखिन्छ ।
यसको सुरुवात रोमन कालमा एलागाबालसको भव्य सूर्य मन्दिरबाट भएको थियो भने पछि चौथो शताब्दीमा इसाई धर्मको प्रभाव बढेसँगै सोही स्थानलाई चर्चमा रूपान्तरण गरियो ।
परिवर्तनको यो शृङ्खला त्यतिमा मात्र रोकिएन, बरु १२ औँ शताब्दीमा आएर शासक नुर अद–दिनको शासनकालमा यसै ऐतिहासिक स्थललाई ‘ग्रेट मस्क’ को रूपमा निर्माण गरियो ।
यो अध्ययन ‘सेडेट’ नामक पुरातात्त्विक जर्नलमा प्रकाशित भएको छ । यसले हौम्स सहर केवल व्यापारिक केन्द्र मात्र नभई दुई हजार वर्षदेखि धार्मिक सहिष्णुता र सांस्कृतिक अनुकूलनको केन्द्र रहेको पुष्टि गर्दछ ।
यो शिलालेखको पूर्ण विश्लेषणले मध्यपूर्वको प्राचीन धार्मिक इतिहास बुझ्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4