News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले रास्वपाको शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन्।
- भट्टराईले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेकाले दलहरूबीच राष्ट्रिय एकता कायम गर्न ढिलाई गर्न नहुने बताएका छन्।
- उनले दलहरूबीच सम्वाद शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको बताए।
२१ चैत, काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताएका हुन् ।
‘हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ । उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकी नै छ,’ उनले भनेका छन् ।
साथै, उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
दलहरूबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाइ थियो ।
‘नेपाल भित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक संवेदनशीलता बढेर जान खोजेको छ । यतिबेला गर्ने के ? यतिबेला सबैभन्दा गर्ने काम के हो भने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रुपमा प्रतिष्पर्धा गरौँ, विवाद गरौ । सबै चिज गरौं,’ भट्टराईले भने, ‘यो संवेदनशील विश्व व्यवस्था आइसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक सम्वादबाटै अगाडि बढाइनु पर्छ । हाम्रा केही केही मान्यताहरू फरक हुन सक्छन् । हिजो देखि फरक मान्यता बोकि आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ ।’
प्रतिक्रिया 4