News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक सङ्ग्रहालयको ३१औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।
- सभाले संस्थापक अध्यक्ष स्वर्गीय क्षितिज अरुण श्रेष्ठ र कोषाध्यक्ष स्वर्गीय मन्जु तुलाधरको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
- संसदीय सभाले सन्सी श्रेष्ठलाई अध्यक्ष चयन गरी सङ्ग्रहालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
२२ चैत, काठमाडौं । दक्षिण एसियाकै पहिलो र एक मात्र ओलम्पिक सङ्ग्रहालय, नेपाल ओलम्पिक सङ्ग्रहालय को ३१औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थापक अध्यक्ष स्वर्गीय क्षितिज अरुण श्रेष्ठ र कोषाध्यक्ष स्वर्गीय मन्जु तुलाधरको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै योगदानको स्मरण गरेको छ। स्व. श्रेष्ठले सन् १९९४ मा संग्रहालय स्थापना गरी नेपाली खेलकुद इतिहास संरक्षणको थालनी गरेका थिए ।
सभाबाट उनकी सुपुत्री सन्सी श्रेष्ठ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको छ। अध्यक्ष बनेपछि उनले आफ्ना बुवा–आमाको सपना पूरा गर्दै सङ्ग्रहालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा जित बहादुर केसी र भैरव शाही, महासचिवमा किशोर केसी तथा कोषाध्यक्षमा रन्जन नगरकोटी चयन भएका छन् ।
ओलम्पियन टीका राम श्रेष्ठ र ओलम्पियन विमला राना मगर सहित सुलोजना सिजाख्वा, सूर्य नेपाल, कुमार श्रेष्ठ, गणेश थापा, गणेश भट्टराई, जी.आर. खत्री र प्रजापति दाहाल सदस्यमा चयन भएका छन्।
सन् १९९९ मा आठौं दक्षिण एसियाली खेलकुदका क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट औपचारिक रूपमा सुरु भएको सङ्ग्रहालयले खेल सामग्री संरक्षण, खेलाडीहरूको विवरण संकलन, परम्परागत खेल प्रवर्द्धन तथा खेल अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको छ ।
सङ्ग्रहालयले आगामी दिनमा डिजिटलाइजेशन, खेलाडीहरूको डिजिटल अभिलेख निर्माण तथा युवालाई खेल इतिहाससँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ ।
साथै, ३२औं वार्षिकोत्सवमा संस्थापकहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिने पनि जानकारी दिइएको छ ।
प्रतिक्रिया 4