News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै तरकारी र फलफूलको आयात, बजारीकरण र भन्सार प्रक्रियामा सुधार गर्न सरकारसँग माग गरेको छ।
- महासंघले हानिकारक विषादीको प्रयोग रोक्न, सीमा नाकाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न र उच्च जोखिमयुक्त विषादीमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेको छ।
- अवैध कारोबारले राज्यलाई दैनिक करोडौं राजस्व घाटा पुर्याएको र उपभोक्ताले ३०० प्रतिशतसम्म महँगो मूल्य तिर्न बाध्य भएको भन्दै महासंघले तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
२४ चैत, काठमाडौं । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै तरकारी तथा फलफूलको आयात, बजारीकरण र भन्सार प्रक्रियालाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न महासंघको तेस्रो पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्दै व्यवसायीहरूले हानिकारक विषादीको प्रयोग रोक्न र सीमा नाकाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न माग गरेका हुन् ।
मानव स्वास्थ्यलाई ध्यानमा राख्दै व्यवसायीहरूले तरकारी र फलफूलमा प्रयोग हुने उच्च जोखिमयुक्त विषादी र रासायनिक हर्मोनको बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन सरकारलाई आग्रह गरेका छन् ।
कृषि उत्पादनलाई जैविक तथा आईपीएम पद्धतिमा लैजानुपर्नेमा जोड दिँदै महासंघले बजारमा पठाइने वस्तुको विषादी परीक्षण उत्पादन क्षेत्रमै गर्नुपर्ने र आयातित वस्तुको भन्सार बिन्दुमै अनिवार्य परीक्षण हुनुपर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
साथै, स्वस्थ र गुणस्तरीय वस्तु मात्र बिक्री–वितरण गर्न महासंघले सम्पूर्ण व्यवसायीलाई अपिल समेत गरेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै फलफूल र तरकारीमा आत्मनिर्भर बन्न व्यावसायिक खेती र प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने महासंघको निष्कर्ष छ ।
नेपाली उत्पादन पर्याप्त रहेसम्म विदेशी उत्पादन आयात नगर्ने नीति महासंघले लिएको छ । तर, स्वदेशी उत्पादन अभाव भएको बेला आयात अनुमति नपाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउने भन्दै त्यस्तो बेला आयातमा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘फलफूल तथा तरकारी छिटो बिग्रने (नाशवान) प्रकृतिका वस्तु भएकाले बिदाको दिनमा पनि भन्सारलगायतका सम्बन्धित कार्यालय खुला राखेर ढुवानीमा सहजता ल्याउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि माग गरिँदै आएको ‘कृषि बजार ऐन’ तत्काल तर्जुमा गर्न र फलफूल तथा तरकारीलाई ‘अत्यावश्यक वस्तु’को सूचीमा राखेर ढुवानी र बजारीकरणमा विशेष व्यवस्था गर्न महासंघले अनुरोध गरेको छ ।
सरकारको सुशासन मार्गचित्रअन्तर्गत ल्याइएका कृषि बजार मूल्य सूचना प्रणाली र समर्थन मूल्य निर्धारण जस्ता कार्यक्रमको स्वागत गर्दै महासंघले आगामी कृषि नीति तथा कानुन निर्माण प्रक्रियामा आफूहरूलाई पनि सहभागी गराउन माग गरेको छ ।
पछिल्लो समय केरा लगायतका फलफूलको आयातमा लगाइएको प्रतिबन्धका कारण सीमा नाकाबाट ठूलो मात्रामा अवैध कारोबार भइरहेको भन्दै महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । गैरभन्सार मार्गबाट भित्रिएका सामानलाई नेपाली किसानकै बिलबिजक बनाएर खुलमखुला बिक्री वितरण भइरहेको र यसले वैध रूपमा व्यवसाय गर्नेहरू मर्कामा परेको महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले बताए ।
अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौं रुपैयाँ राजस्व घाटा भइरहेको र बजार अभाव देखाएर उपभोक्ताले ३०० प्रतिशतसम्म महँगो मूल्य तिर्न बाध्य भएको भन्दै महासंघले यस्ता अवैध गतिविधि तत्काल नियन्त्रण गर्न र आयातलाई सहज बनाउन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया 4