+
+
Shares

सल्यानमा सेवाग्राहीलाई दु:ख दिएको आरोपमा सुब्बा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते ११:१९

२५ चैत, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो ।

परियारमाथि सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने भन्दै आर्थिक लेनदेनको बार्गेनिङ गरेको तथा फेक च्याट निर्माण गरेको आरोपसम्बन्धी उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले उनीमाथि ठगी तथा साइबर अपराध  कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चैत्र २१ गते जेनजी अगुवा युवराज खड्काले सामाजिक सञ्जालमार्फत निरजलाई गम्भीर आरोप लगाएका थिए । उनले प्रशासन कार्यालयमै बसेर सेवाग्राहीलाई दुःख दिने, मुद्दा मिलाइदिने नाममा आर्थिक चलखेल हुने जस्ता गतिविधि भइरहेको दाबी गरेका छन् ।

त्यसको भोलिपल्ट चैत २२ गते उनले पुनः आफूलाई नै जोडेर फेक फेसबुक च्याट तयार पारिएको आरोप लगाएका थिए । ‘मलाई नै जोडेर फेक फेसबुक च्याट बनाइएको छ’, उनले भने, ‘प्रहरीसँग कुरा मिलाइदिन्छु’ भन्दै मैले पैसा लिएको जस्तो म्यासेज तयार गरिएको छ । यसरी झुटा सामग्री बनाएर चरित्र हत्या गर्ने काम भएको छ।”

खड्काले यस्तो गतिविधि गम्भीर अपराध भएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

यसैबीच, सुब्बा परियारले सेवाग्राहीसँग घुस मागेको भनिएको एक अडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उक्त अडियोमा ‘१ लाख २० हजारसम्म दिएमा तपाईंको मुद्दा मिल्छ, नभए नयाँ सीडीओ आउँदा मिलाउन गाह्रो हुन्छ’ भन्ने आशयका कुरा गरिएको सुनिन्छ । यद्यपि, अडियोमा उल्लेख गरिएको व्यक्तिको नाम र सम्बन्धित मुद्दाको प्रकृति भने खुलाइएको छैन ।

गम्भीर आरोप भएकाले दुवै पक्षका विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देश दिइसकेको र प्रहरीले आरोपिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बताए । ‘गम्भीर आरोप लागेको छ । यसको विषयमा सत्यतथ्य छानबिन हुनुपर्छ मैले प्रहरीलाई निर्देश पनि दिइसकेको छु । दोषी जोकोही भए पनि कानुनी दायरामा आउँछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?