News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बक्सिङ महासंघमा बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिको गठनलाई लिएर अध्यक्ष र महासचिवबीच विवाद देखिएको छ ।
- महासचिव मान बहादुर भण्डारीले विधान अनुसार तदर्थ समितिलाई पत्र पठाएपछि अध्यक्ष राम अवालेले फरक धारणा सहित प्रेस विज्ञप्ती निकालेका छन् ।
- बागमती प्रदेश खेलकुद परिषद्ले तदर्थ समितिको कार्यकाल थप गरी स्वीकृति दिएको छ भने महासंघले यसलाई मान्यता नदिने निर्णय गरेको छ ।
२५ चैत, काठमाडौं । चैत २२ गते आइतबार नेपाल बक्सिङ महासंघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा प्रेस विज्ञप्ती पोष्ट गरेको थियो । जहाँ ‘बक्सिङ’ भन्ने मुख्य शब्द नै शुद्ध थिएन ।
पाँच ठाउँमा फरक फरक ‘बक्सिङ’ शब्दहरू लेखिएको थियो । त्यो विज्ञप्तीको मुख्य आशय भन्दा पनि शब्द शुद्ध समेत लेख्न नजानेको भन्दै सामाजिक सञ्जालमै व्यङ्ग र आलोचना भएको थियो ।
पछिल्लो समय बागमती प्रदेश बक्सिङ संघ तदर्थ समिति र जिल्ला संघहरूको गठन विषयलाई लिएर समेत नेपाली बक्सिङमा विवाद देखा परेका छन् ।
बक्सिङ विवादको विषय अदालतमा पुग्ने देखि नेपाल बक्सिङ महासंघका अध्यक्ष र महासचिवकै धारणा फरक-फरक आउनुले केन्द्रको बक्सिङको विवाद फेरि एक पटक सतहमा देखिएको छ । विज्ञप्तीको अशुद्ध शब्द जस्तै बक्सिङ संघको रिङ भित्रको गतिविधिको चर्चा भन्दा रिङ बाहिर हुने विभिन्न गतिविधिको चर्चा बढी हुन्छ ।
सुरुमा महासंघका महासचिवले बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिलाई पत्र पठाएपछि त्यसैको काउन्टरमा अध्यक्ष राम अवालेले प्रेस विज्ञप्ती निकाल्दै फरक धारणा व्यक्त गरेपछि नेपाल बक्सिङ महासंघमै समस्या देखिएको हो ।
नेपाली बक्सिङमा विवाद कुनै नौलो होइन । कहिले नेपाल बक्सिङ महासंघ भित्रको विवाद, कहिले प्रदेश जिल्ला गठनको विषयमा विवाद । यस्तै यस्तै विवादहरू भइरहन्छ ।
सबैले बक्सिङ विकासका लागि आफूले राम्रो काम गरिरहेको भन्दै आफू नै राम्रो भन्दै आएका छन् । अझ नदेखिएका विवादहरू झन् धेरै होलान् ।
यसअघि नै बक्सिङमा विवादहरू नभएका होइनन् । निर्वाचन आउने बेला पनि विभिन्न खालका विवादहरू सार्वजनिक हुँदै आएका छन् ।
पछिल्लो समय नेपाली बक्सिङमा फेरि अर्को विवाद देखिएको छ । बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिको विषयलाई लिएर अहिले नेपाल बक्सिङ महासंघ भित्रै विवाद देखिएको छ ।
महासंघका अध्यक्ष र महासचिवकै परक भर्सन सार्वजनिक भएपछि विवाद सतहमा देखिएको छ ।
के हो विवाद ?
बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिको विषयलाई लिएर पछिल्लो समय बक्सिङ महासंघका विवाद देखिएको हो ।
ललितपुर जिल्ला बक्सिङ संघका सचिव श्यामकाजी अवालेको वारिस ललित के.सी. ले २०८१ चैत २७ गते उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनका कारण यसअघि बागमती प्रदेश बक्सिङ संघको निर्वाचन र सांगठनिक प्रक्रिया रोकिएको थियो । तर २०८२ पुष १६ गते उच्च अदालत पाटनले उक्त मुद्धाको रिट खारेज गरेपछि प्रदेश संघ गठन गर्ने बाटो खुलेको थियो ।
अदालतको त्यही निर्णयलाई आधार मानेर बागमती प्रदेश खेलकुद परिषदले बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिको कार्यकाल एक महिना थप गरी स्वीकृति प्रदान गरिएको जानकारी गरायो ।
२०८२ चैत ९ गते बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापा मगरलाई पत्र पठाउँदै तदर्थ समितिको म्याद थपको जानकारी गराएको थिए । यसको बोदार्थ नेपाल बक्सिङ महासंघलाई पनि गराइएको छ ।
त्यसपछि नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले पनि २०८२ चैत १८ गते बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापा मगरलाई पत्र लेख्दै पाटन उच्च अदालतमा परेको रिट खारेज भएको र बागमती प्रदेश खेलकुद परिषदको पत्र अनि नेपाल बक्सिङ महासंघको विधान २०८० को परिच्छेद २ को धारा ९ को उपधारा १ र ६ मा व्यवस्था भएबमोजिम रामचन्द्र थापा मगर संयोजक रहेको तदर्थ समितिलाई कामबाज गर्न परिषदले स्वीकृति प्रदान गरेको उल्लेख गरिएको छ ।
साथै उक्त पत्रमा सोही निर्णय र अदालतको आदेशलाई आधार मानी तोकिएको समयभित्र बागमती प्रदेश र त्यस अन्तर्गतका जिल्लाहरू समेटी निर्वाचन गर्ने र बक्सिङ खेलका गतिविधिहरू सञ्चालन गर्ने गरी आधिकारिक स्वीकृति प्रदान गरिएको जानकारी पनि गराइएको छ ।
तर त्यही पत्रको ठिक विपरित नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले आफैंले फरक धारणासहित प्रेस विज्ञप्ती निकालेर असन्तुष्टि जनाएका हुन् ।

अहिले महासचिवले पठाएको पत्रको बारेमा आफूलाई कुनै जानकारी नभएको अध्यक्ष राम अवाले बताउँछन् । यस्तै चैत २२ गते अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तीको विषयमा पनि सकैसँग छलफल नभएको र अध्यक्षले एकलौटी रुपमा विज्ञप्ती सार्वजनिक गरेको महासचिवको दाबी छ ।
अध्यक्ष अवालेले महासचिवले कसैलाई जानकारी नदिई तदर्थ समितिलाई पत्र पठाएको बताए ।
‘महासंघको पदाधिकारी र पूर्ण बैठकमा छलफल नभई नै महासचिवले पत्र पठाउनुभएको छ । यो विषयमा कतै कोहीसँग केही सल्लाह छलफल नै नगरी गर्नुभाछ’ अवालेले अनलाइनखबरसँग भने, ‘चैत १८ गते अनौपचारिक छलफल भएको हो, औपचारिक छलफल भाछैन । त्यसमा यो विषयमा छलफल त भएन । आधिकारिक रुपमा छलफल नगरी त्यसरी गर्नहुन्छ र ? सबैसँग सल्लाह नगरी पठाएको हो ।’
महासचिव भण्डारीले विधान अनुसार बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिलाई पत्र पठाउँदा अध्यक्षलाई चित्त नबुझेपछि आफूलाई मन लागे अनुसार गर्दै आएको बताए ।
आफूले विधान अनुसार प्रदेश संघ गठन गर्न मिल्ने भएकोले महासंघबाट बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिलाई पत्र पठाएको र त्यो पत्र गएपछि अध्यक्ष ज्युलाई अब सक्कियो भन्ने लागेर ड्रामाहरू गरिरहनुभएको छ । भण्डारीले अनलाइनखबरसँग भने । ‘सबै कुरा हतारमा आत्तिएर गरिरहनुभएको छ । उहाँलाई जसरी पनि आफूले भनेजस्तो हुनुपर्यो भन्ने छ । विधि विधान केही मान्नुहुँदैन ।’
के थियो अध्यक्ष अवालेले निकालेको विज्ञप्तीमा ?
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले आफैँले हस्ताक्षर गरेर सार्वजनिक गरेको उक्त विज्ञप्तीमा नेपाल बक्सिङ महासंघको स्वीकृति बेगर बागमती प्रदेश बक्सिङ संघ तदर्थ समिति एवं जिल्ला बक्सिङ संघहरू गठन/पूनर्गठन भएको विषयप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
चैत २२ गते नै बसेको बक्सिङ महासंघको पदाधिकारी स्तरिय बैठकको निर्णय अनुसार भन्दै राष्ट्रिय खेलकुद नियमावली २०७७ एवं नेपाल बक्सिङ महासंघको विवधान विपरित हुने कुनै पनि प्रदेश, जिल्ला संघ गठन वा पुनर्गठनलाई नेपाल बक्सिङ महासंघबाट मान्यता नपाउने हुँदा उक्त कार्य नगर्न/नगराउन आफ्नो मातहतका सबै प्रदेश, जिल्ला संघहरूलाई जानकारी गराइएको कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
तर यसअघि नै बागमती प्रदेश खेलकुद विकास परिषद र नेपाल बक्सिङ महासंघबाट बागमती प्रदेश बक्सिङ संघ तदर्थ समितिलाई पठाइएको पत्रमा भने फरक विषय उल्लेख गरिएको छ ।
यस्तै महासंघका महासचिव भण्डारीले राम अवालेको हस्ताक्षरमा पोष्ट भएको विज्ञप्तीको पोष्टमा कमेन्ट गर्दै बक्सिङ महासंघका महासचिवलाई यो विषयमा कुनै जानकारी नभएको स्पष्ट पार्दै प्रेस विज्ञप्ती बागमती प्रदेश खेलकुद परिषदको विरुद्ध र नेपाल बक्सिङ महासंघको विधान विपरित कोठाभित्र बसेर तयार पारिएको लेखेका छन् । साथै उनले प्रदेश खेलकुदको कानुन र महासंघद्वारा प्रदत्त वैधानिक व्यवस्थालाई पालना गर्नु सबैको दायित्व रहेको भन्दै भ्रामक तथा अनधिकृत गतिविधिप्रति सबै सचेत रहनुपर्ने जनाएका छन् ।
अध्यक्षले निकालेको विज्ञप्तीबारे आफूलाई जानकारी नभएको महासचिव भण्डारीले बताए । ‘बैठक महासचिवले बोलाउनुपर्ने हुन्छ तर अध्यक्ष आफैले बैठक तोक्ने । उहाँलाई जुन बेला आवश्यक पर्यो त्यही बेला गर्ने गरिरहनुभाछ । मलाई विज्ञप्ती निकालेको कुरा केही जानकारी छैन ।’
तर अध्यक्ष राम अवालेले भने आफूले महासचिवलाई चाँडै बैठक बोलाउन आग्रह गरेको तर महासचिवले आजै कसरी हुन्छ भनेर भन्नुभएको बताए । अवालेले विज्ञप्ती निकाल्नुअघि महासचिवलाई यस बारे भनेको पनि दावी गरे ।
उनले पदाधिकारीहरू सुरुमा त्रिपुरेश्वरमा भेटेको र पछि हात्तिवन बैठकमा बसेर विज्ञप्ती निकालेको बताए ।
उता बागमती प्रदेश गठन गर्न बाटो खुल्ला भएपनि अध्यक्षज्युले रोक्नुपर्छ भनेर लाग्नुभएको महासचिव भण्डारीको दावी छ । ‘बागमती प्रदेश राज्यकै एउटा निकाय भएपछि उहाँहरूले गरेको कुरालाई हामीले सहयोग गर्ने हो । तर अध्यक्षज्युहरूले भने हामीले रोक्नुपर्छ भनेर भन्नुभयो । मैले रोक्न मिल्दैन कहाँनिर मिल्छ भनेर सोध्दा उहाँले जवाफ दिन सक्नुभएन ।’
बागमती प्रदेश बक्सिङ संघको निर्वाचनका लागि नेपाल बक्सिङ महासंघले स्वीकृति दिँदा किन आपत्ती हो र भनेर महासंघ अध्यक्ष राम अवालेलाई सोध्दा उनले आपत्ति नभएको तर महासिचवले कसैलाई जानकारी निदई पत्र पठाएको दाबी फेरि दोहोर्याए ।
‘आपत्ति त हुँदैन । महासंघ भनेको सातै प्रदेशको संघको हो । महासचिवले सुचना नै नदिई पत्र पठाएको हो । यसको विषयमा जानकारी भएन । पदाधिकारी कार्यसमतिका ३६ जना छ त्यसमा कुनै जानकारी नभई पठाको हो’ अवालेले भने ।
नेपाल बक्सिङ संघ विधान २०८० अनुसार नेपाल बक्सिङ महासंघको मातहतमा रहने गरी प्रदेश कानुन अनुसार प्रदेश बक्सिङ संघ र जिल्ला बक्सिङ संघ गठन गर्न सकिने व्यवस्था छ । यस्तै प्रदेश बक्सिङ संघ गठन गर्दा वा निर्वाचन गर्दा सम्बन्धित प्रदेश खेलकुद विकास समितिको रोहबरमा गर्ने वा एक तह माथिल्ला संघको प्रतिनिधिको रोहबरमा गर्नुपर्ने छ भनिएको छ ।
साथै जिल्ला संघ गठन गर्दा वा निर्वाचन गर्दा सम्बन्धित जिल्ला खेलकुद विकास समितिको रोहबरमा गर्ने वा एक तह माथिल्ला संघको प्रतिनिधिको रोहबरमा गर्नुपर्ने छ भनिएको छ ।
प्रतिक्रिया 4