News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको पाटन कृष्ण मन्दिरमा २७ चैत साँझ सुमित र सिर्जन नेम्वाङमाथि छुरा प्रहार हुँदा उनीहरू गम्भीर घाइते भएका थिए।
- प्रहरीले छुरा प्रहार गर्ने ३२ वर्षीय सञ्जीव नेपाली र उनका सहयोगीलाई नियन्त्रणमा लिएको छ र प्रारम्भिक अनुसन्धानले आवेशमा घटना भएको देखाएको छ।
- मनोचिकित्सकहरूले आवेग नियन्त्रण नहुँदा र व्यक्तित्वसम्बन्धी समस्याले यस्ता हिंसात्मक घटनाहरू हुन सक्ने बताएका छन्।
२७ चैत, काठमाडौं । साँझ ढल्दै थियो । पाटन कृष्ण मन्दिर पर्यटक र स्थानीयको चहलपहलले भरिएको थियो । ऐतिहासिक मन्दिर, कलात्मक दरबार र भीडबीच एकाएक चिच्याहट सुनियो ।
केही क्षणमै त्यहाँको शान्त वातावरण आतंकित भयो । झापा घर भई ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङमाथि छुरा प्रहार भयो । छुरा प्रहार गर्ने व्यक्ति थिए– ३२ वर्षीय सञ्जीव नेपाली (सञ्जु) । उक्त घटना बुधबार साँझ साढे ७ बजेको थियो ।
गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगियो । तर साढे ८ बजे डाक्टरले दुवै जनालाई मृत घोषणा गरे । उनीहरु सहोदार दाजुभाइ हुन् ।
कसरी भएको थियो घटना ?
प्रहरीको प्रारम्भिक अध्ययनमा उक्त हत्या पुरानो वैमनस्यताबाट नभई गलत फोनकलबाट सुरू भएको देखिन्छ ।
सुमितले फोन गर्दा झुक्किएर अपरिचित नम्बरमा फोन जान्छ । फोनमा सामान्य सोधपुछबाट सुरु भएको संवाद केही समयमै भनाभनमा बदलियो ।
दुवै पक्षबीच शब्दको तिक्तता बढ्दै गयो । अन्तत: ‘भेटेरै कुरा गरौं’ भन्ने सहमतिमा उनीहरू पुगे ।
भाइ सिर्जन र साथीहरू लिएर सुमित बुधबार दिँउसो घुम्न मंगलबजार पुगेका थिए । सञ्जीव नेपाली पनि कृष्णमन्दिर अगाडि पुगेका थिए ।
दुवैपक्ष भेटपछि सुरू भएको सामान्य बहस झगडामा बदलियो । विवाद तीव्र बन्दै जाँदा सञ्जीव नेपालीले साथमा रहेको छुरा निकालेर सुमित माथि प्रहार गरे । त्यसपछि भाइ सिर्जन बचाउन जाँदा उनलाई पनि घाँटी र पेटमा छुरा हाने ।
छुरा प्रहारपछि दुवै जना गम्भीर घाइते भएर ढले । त्यसपछि कसैले प्रहरीलाई खबर गरे, कसैले घाइतेलाई अस्पताल पुर्याउने प्रयास गरे ।

हत्यामा संलग्न सञ्जीव भोलढोकामा मासु पसलमा काम गर्थे । प्रहरीले भागिरहेको अवस्थामा ३२ वर्षीय सञ्जीव नेपाली र उनका सहयोगी च्यासल बस्ने गगन सुनारलाई छुरासहित नियन्त्रणमा लिएको छ ।
मनोवैज्ञानिक पाटो
उक्त घटनाले ‘आवेगमा मानिस किन यस्तो निर्णयमा पुग्छ ? भन्ने मनोवैज्ञानिक प्रश्न उठाउँछ ।
मनोचिकित्सकहरू यस्ता घटनालाई अचानक उत्पन्न हुने तीव्र आवेग कारणसँग जोडेर हेर्छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि यस्तै निष्कर्ष निकालेको छ । ललितपुरका एसएसपी होविन्द्र बोगटीले आवेश र उत्तेजनाका कारण उक्त घटना भएको बताए ।
मनोचिकित्सक डा. सगुनबल्लभ पन्तका अनुसार यस्तो घटना प्राय: अचानक उत्पन्न हुने तीव्र आवेग र नियन्त्रण गुम्दा हुने मनोवैज्ञानिक प्रतिक्रियासँग जोडिएको हुन्छ ।
रिस आफैँमा असामान्य कुरा होइन । यो मानिसको सामान्य भावनात्मक प्रतिक्रिया हो । तर जब रिस अत्यधिक हुन्छ, त्यसको कारण र परिणामबारे सोचेर नियन्त्रण गर्ने क्षमताले कमजोर हुँदा दुर्घटना हुनजान्छ ।
चिकित्सकका अनुसार मानिसको मस्तिष्कको अगाडिको भागलाई प्रि–फ्रन्टल कोर्टेक्स भनिन्छ । त्यसले के गर्ने र के नगर्ने भन्ने निर्णयमा महत्त्वपूर्ण भूमिका खेल्छ । यही भागले सम्भावित जोखिम, क्षति र परिणामबारे चेतावनी दिने काम गर्छ ।
‘सामान्य अवस्थामा मानिसले झगडा बढ्दै गएको महसुस गरेपछि ‘यसले पछि समस्या ल्याउन सक्छ’ भनेर आफैँलाई रोक्ने वा समाधान खोज्ने प्रयास गर्छ,’ पन्तले अनलाइनखबरसँग भने, ‘तर कहिलेकाहीँ व्यक्तित्वको समस्यामा व्यक्तिमा अत्यधिक आवेगमा पुग्दा चेतनशील सोच कमजोर हुन्छ । रिसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना हुनसक्छ ।’
केही अवस्थामा व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिहरूबाट यस्ता घटना गर्ने हुन्छन् । जस्तै एन्टिसोसल पर्सनालिटी, सोसियोप्याथी वा साइकोप्याथीमा यस्तो आवेग नियन्त्रण गर्ने क्षमता झन् कमजोर हुन सक्छ ।
यस्ता व्यक्तिहरूले क्षणिक रिस, झोक वा उत्तेजनामा गम्भीर हिंसात्मक कार्य गर्न सक्छन् ।
व्यक्तित्वसम्बन्धी समस्या
मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालाका अनुसार यस्तो घटनालाई बुझ्न केही फरक–फरक पक्षबाट हेर्नुपर्छ ।
डा. कोइरालाका अनुसार प्रत्येक मानिसको स्वभाव फरक हुन्छ । कोही मानिस सानो कुरामा पनि झनक्क रिसाउने, झगडा गर्ने र आक्रामक हुने स्वभावका हुन्छन् ।
यस्तो व्यवहार कहिलेकाहीँ व्यक्तित्वसम्बन्धी समस्यासँग पनि जोडिन सक्छ । मनोविज्ञानमा यसलाई पर्सनालिटी डिसअर्डरको समूहभित्र राखिन्छ । केही व्यक्तिमा आवेग नियन्त्रण गर्न कठिन हुने अवस्थाका हुन्छन् ।
मानिसले आफ्नो भित्री भावना र आवेगलाई नियन्त्रण गर्न नसक्ने अवस्थालाई ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’ भनिन्छ । यस्तो अवस्थामा व्यक्तिले सोच्न नपाउँदै निर्णय गर्ने र त्यसको परिणाम गम्भीर हुन सक्छ ।
तर, डा. कोइराला भने ललितपुरको घटनामा आवेग मात्र नभई स्वभावको पक्ष पनि बलियो देखिन्छ ।
‘सामान्य झगडा गर्न जाँदा मानिसले छुरा बोकेर जाँदैन । त्यसले के संकेत गर्छ भने व्यक्ति पहिलेबाटै आक्रामक मानसिकतामा रहेको हुन सक्छ,’ डा. कोइराला भन्छन् ।
विज्ञका अनुसार कतिपय अवस्थामा मानिसले घटना भइसकेपछि पछुतो महसुस गर्छन् । तर केही अवस्थामा उसले आफ्नो व्यवहारको परिणामबारे सोच्नै सक्दैन ।
भावनात्मक मन सक्रिय हुँदा मानिसले घटनाको परिणामबारे तत्काल सोच्न सक्दैन । त्यसैले क्षणिक आवेगले हिंसात्मक परिणाम निम्त्याउन सक्छ ।
डा. पन्तको घटनाको वास्तविक कारण बुझ्न आरोपित व्यक्तिको पृष्ठभूमि, उसको मानसिक अवस्था, लागूऔषध प्रयोग वा पहिलेदेखि आवेग नियन्त्रणसम्बन्धी समस्या थियो कि थिएन भन्ने विषयको अध्ययन आवश्यक हुन्छ ।
डा. पन्त भन्छन्, ‘के कुराले सामान्य विवादले क्षणभरमै चरम अवस्थामा पुर्यायो भन्ने बुझ्न मनोवैज्ञानिक मूल्यांकन पनि आवश्यक हुन सक्छ ।’
कसैले अपमानजनक व्यवहार गरेको, चुनौती दिएको वा प्रभुत्व जमाउन खोजेको अनुभव भएमा केही मानिसमा तीव्र प्रतिक्रिया आउन सक्छ । मानिसहरू उक्साहटमा फरक–फरक तरिकाले प्रतिक्रिया दिन्छन् । डा. कोइराला भन्छन्, ‘कोही सानो कुरालाई बेवास्ता गरेर हिँड्छन्, तर कोही त्यसैबाट ठूलो झगडामा पुग्छन् ।’

चिकित्सकका अनुसार मादक पदार्थको प्रयोगले पनि आवेग नियन्त्रण कमजोर बनाउन सक्छ । डा. कोइराला अपराधलाई सिधै मानसिक रोगसँग जोडेर व्याख्या गर्न नहुने बताउँछन् ।
‘धेरैजसो हिंसात्मक घटनामा संलग्न व्यक्ति सामान्य मानिस नै हुन्छन् । कहिलेकाहीँ मानसिक रोग भएको व्यक्तिको घटना बाहिर धेरै चर्चित हुन्छ । तर अधिकांश अपराध सामान्य स्वभाव र परिस्थितिको कारण हुन्छ,’ कोइराला भन्छन् ।
मनोचिकित्सकहरूको भनाइमा, अत्यधिक रिस वा आक्रामक स्वभाव भएका व्यक्तिले परामर्श र उपचारमार्फत आफ्नो व्यवहार सुधार गर्न सक्छन् ।
डा. पन्तका समाजमा बढ्दो आवेगजन्य हिंसालाई रोक्न व्यक्तिले आफ्ना भावनात्मक प्रतिक्रिया पहिचान गर्न, रिस व्यवस्थापन गर्न र विवादको अवस्थामा संयम अपनाउन सिक्नुपर्ने आवश्यकता झन् बढ्दै गएको छ ।
डा. कोइराला भन्छन्, ‘रिस नियन्त्रण गर्न नसक्ने समस्या देखिए मनोपरामर्श वा मानसिक स्वास्थ्य विशेषज्ञसँग सहयोग लिनु आवश्यक हुन्छ । समयमै सम्बोधन गर्न सके यस्ता दुर्भाग्यपूर्ण घटना रोक्न सकिन्छ ।’
प्रतिक्रिया 4