News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ।
- पदयात्रामा ३५ जनाको टोली रोशन अधिकारीको कमाण्डमा सहभागी छ र आठ दिनमा २०७ किलोमिटर दूरी तय गर्नेछ।
- पदयात्राको उद्देश्य ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण र पर्यटन प्रवर्द्धन गर्नु हो।
२७ चैत्र, गोरखा । गोरखा दरवारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो ।
गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको छ । टर्च लाइटको साथमा नेपाली सेनाको प्रथम कम्पनीहरू श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स) को झण्डा हस्तान्तरण गरेर उनीहरूलाई बिदाइ गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले संयुक्त रुपमा झण्डा र टर्च लाइट हस्तान्तरण गर्दै यात्रामा सहभागीहरुलाई बिदाइ गरेका हुन् । यात्रामा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जनाको टोली सहभागी छन् ।

गोरखाबाट सुरु भएको पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर टुंगिने छ । गोरखाको टोलीले पालुङटारको सतिघाट पुगेर आजै तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउने गणपति रिजालले जानकारी दिए ।
‘रुपन्देहीको टोली बैशाख ६ गते जितगढी पुग्छ,’ उनले भने, ‘भोलिपल्टको बिजयी उत्सवमा सहभागी हुन्छ ।’ तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन (७ वैशाख) लाई विजय उत्सवको रुपमा मनाउँदै आएको उनले बताए । उनका अनुसार कुल २०७ किलोमिटर दुरी टोलीले आठ दिनमा तय गर्ने छ ।
ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4