२८ चैत, सिरहा । सिरहाको नरहा गाउँपालिकामा रहेको प्रसूति गृह अहिले केवल एकजना अनमीको भरमा सञ्चालन भइरहेको छ । सामान्यतया यस्तो प्रसूति गृहमा कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक र एक जना कार्यालय सहयोगी आवश्यक हुन्छ, ताकि प्रसूति सेवाहरू सुरक्षित, व्यवस्थित र सहज रूपमा प्रदान गर्न सकियोस् । तर, हाल यहाँ छैठौं तहकी एक्जना अनमी टीकादेवी ढुङ्गेलले मात्र सेवा दिइरहेकी छन्।
यसको कारण, प्रसूति गृहको सेवाग्राहीको संख्या निकै न्यून हुनु पनि हो । चालु आर्थिक वर्षको १० महिनामा यहाँ केवल १९ जना सुत्केरी भएका छन् । तीमध्ये ११ जना स्थानीय समुदायका महिला हुन्, जो अन्य स्वास्थ्य संस्थामा जान असमर्थ थिए । यसले देखाउँछ कि स्थानीय महिलाहरूका लागि यो प्रसूति गृह अत्यन्तै महत्वपूर्ण छ तर कर्मचारी अभावका कारण यसको प्रभावकारिता कम भएको छ।
वर्छवा स्वास्थ्य चौकी प्रमुख महेश कुमर रजकले बताए अनुसार, दिउँसो कार्यालय समयको बेला समस्या कम भए पनि, रातको समयमा सुत्केरी गराउन आउँदा धेरै कठिनाइ हुन्छ । यदि अनमी बिदामा गए वा कुनै आकस्मिक परिस्थितिमा अनुपस्थित भइन् भने प्रसूति गृह पूर्ण रूपमा खाली रहन्छ र सेवामा बाधा पर्छ।
अनमी टीकादेवी ढुङ्गेलले रातको समयमा सुत्केरी गराउन कठिनाइ भए पनि सकेसम्म सेवा प्रदान गरिरहेकी छन्। उनका अनुसार, दिउँसो सुत्केरी सेवा दिन सजिलो छ तर रातको समयमा पनि एक्लै भए पनि काम गर्नैपर्छ।
प्रमुख प्रशासकीय अधिकृत आदित्यकुमार कर्णले स्वास्थ्य कर्मचारीको अभावका कारण प्रसूति गृह एकजना अनमिकै भरमा सञ्चालन भइरहेको कुरा स्वीकार गर्दै थप जनशक्ति पठाउने प्रयास गर्ने प्रतिबद्धता जनाए । तर, स्थानीय स्वास्थ्य प्रणालीमा कर्मचारीहरू अन्य कार्यमा खटिएका छन् ।
सिअहेव अरुण कुमार सिंहलाई जिन्सी शाखाको जिम्मेवारी दिइएको छ भने बैजनाथ साहलाई ५ नम्बर वडाका सचिव बनाइएको छ । अन्य तीन जना स्वास्थ्यकर्मीहरू हाल जिम्मेवारीबिना बसिरहेको स्रोतले जनाएको छ ।
अहिलेको अवस्थामा नरहा गाउँपालिकाको प्रसूति गृहको सञ्चालनमा स्पष्ट चुनौतीहरू छन् । अनमी एक्लै सेवा दिँदा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न कठिनाइ हुन्छ ।
स्वास्थ्य सेवामा निरन्तरता र पहुँच सुनिश्चित गर्न थप स्वास्थ्यकर्मीको स्थायी व्यवस्थापन, जिम्मेवारी स्पष्ट पार्ने र स्थानीय स्वास्थ्य प्रणालीमा समन्वय आवश्यक छ।
प्रतिक्रिया 4