+
+
Shares

इस्लामावादमा २१ घण्टा वार्ता: के भयो, के भएन र अब के हुन्छ ?

इस्लामावादका यी २१ घण्टाले एउटा कटु तर महत्वपूर्ण सत्य उजागर गरे- शान्ति स्थापनाभन्दा युद्धारम्भ धेरै सजिलो छ। युद्ध सुरु गर्न एउटा निर्णय काफी हुन्छ तर, शान्ति स्थापना गर्न दशकौँको अविश्वास मेटाउनुपर्छ।

कञ्चन कञ्चन
२०८२ चैत २९ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अप्रिल ११ मा इस्लामावादमा अमेरिका र इरानबीच २१ घण्टे वार्ता भयो, जुन १९७९ पछि पहिलो प्रत्यक्ष उच्चस्तरीय संवाद थियो।
  • पाकिस्तानले मध्यस्थता गर्दै युद्धविराम कायम राख्न १५ बुँदे अमेरिकी प्रस्ताव इरानलाई पुऱ्यायो र वार्ताको आयोजना गर्‍यो।
  • वार्ता असफल भए पनि संवाद पुनर्स्थापना भयो र पाकिस्तानको विश्वसनीयता उजागर भयो, आगामी वार्ताका लागि आधार तयार भयो।

२९ चैत, काठमाडौं । अप्रिल ११ को बिहान जब इस्लामावादमा पहिलो घाम उदाउँदै थियो, पाकिस्तानको राजधानी एउटा असाधारण घडीको साक्षी बन्न लागेको थियो। सेरेना होटेलको वरिपरि सयौँ सशस्त्र सुरक्षाकर्मी थिए। सडकहरू सुनसान थिए। हवाई मार्गमा नियन्त्रण थियो।

एकतर्फ संसारकै शक्तिशाली राष्ट्र अमेरिका थियो। अर्कोतर्फ ४० दिनको भयावह युद्धको पीडा, सर्वोच्च नेताको हत्याको शोक र ध्वस्त सहरहरूको वेदना बोकेर आएको इरान थियो। र, बीचमा पाकिस्तान मध्यस्थको महत्त्वपूर्ण भूमिकामा थियो।यो वार्ता सन् २०१५ मा बाराक ओबामाको प्रशासनले इरानसँग परमाणु सम्झौता गरेपछिको पहिलो प्रत्यक्ष उच्चस्तरीय अमेरिकी–इरान संवाद थियो। र, यो सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछिको पहिलो प्रत्यक्ष वार्ता पनि थियो।

अप्रिल १२ को बिहान २१ घण्टापछि वार्ता समाप्त भयो। सहमति त बनेन तर इतिहासमा भने यो दिनको सधैं सम्झना गरिनेछ ।

पृष्ठभूमि: आगो कसरी सल्क्यो ?

यो वार्ता बुझ्नका लागि फेब्रुअरी २८, २०२६ मा फर्किनु जरुरी छ। त्यो दिन अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी मारिए। यो हमला इरानको आणविक कार्यक्रम र मध्यपूर्वमा उसको बढ्दो प्रभाव रोक्ने अमेरिकी रणनीतिको एउटा हिस्सा थियो। यो एउटा यस्तो निर्णय थियो, जसले पश्चिम एसियाको सम्पूर्ण राजनीतिक समीकरणमा परिवर्तन गरेको थियो।

इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति गर्ने जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गर्यो। त्यसपछिका ६ हप्ता पश्चिम एसिया युद्धरत रह्यो। इरानले क्षेत्रीय सहयोगीहरूमार्फत हमला बढायो। अमेरिकाले इरानको पूर्वाधार, सैन्य प्रतिष्ठान र ऊर्जा केन्द्रहरूमा निरन्तर आक्रमण गर्यो। लेबनानमा इरानसमर्थित हिजबुल्लाह र इजरायलबीच जमिनी युद्ध जारी रह्यो।

यो युद्धले पाकिस्तानलाई पनि प्रत्यक्ष चोट पुर्यायो। मध्यपूर्वमा काम गर्ने ५० लाखभन्दा बढी पाकिस्तानी श्रमिकहरूबाट आउने रेमिट्यान्स देशको अर्थतन्त्रको मुख्य आधार हो। इन्धनको मूल्य २० प्रतिशतले बढ्यो। खामेनीको मृत्युमा पाकिस्तानका प्रमुख सहरहरूमा ठूला प्रदर्शन भए। कराँचीमा अमेरिकी वाणिज्य दूतावासमा भएको भिडको आक्रमणमा १२ जनाको ज्यान गयो। देशको आन्तरिक स्थिरता नै खतरामा परेको थियो।

यस्तो परिस्थितिमा पाकिस्तानले मध्यस्थताको भूमिका लिनु राष्ट्रिय हितको दृष्टिले र क्षेत्रीय मानवीय दायित्वको दृष्टिले पनि एउटा अनिवार्य आवश्यकता बन्यो। प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरले कैयौं हप्तासम्म गोप्य च्यानलहरूमार्फत वासिङ्टन र तेहरान दुवैसँग सम्पर्क राखे।

पाकिस्तानले अमेरिकाको १५ बुँदे प्रस्ताव इरानलाई पुर्यायो। ट्रम्प प्रशासनले ‘होर्मुज खोल्नुहोस्, नत्र पूरै सभ्यता नष्ट हुन्छ’ जस्ता चरम चेतावनी दिइरहेका बेला पनि पाकिस्तानको कूटनीतिक श्रमले अप्रिल ७ मा १४ दिनको अस्थायी युद्धविराम सम्भव बनायो। ट्रम्पले आफ्नो घोषणामा मुनिरलाई ‘मेरो प्रिय फिल्ड मार्सल’ भनेर प्रशंसा गरे।
अब अर्को चुनौती थियो- उक्त युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने। र, त्यसैका लागि अप्रिल ११ को वार्ता बोलाइएको थियो।

वार्ताको तयारी: इस्लामावाद बन्यो सुरक्षा किल्ला

अप्रिल ११ को बिहान इस्लामावादले आफ्नो रूप फेरेको थियो । सेरेना होटेल र जिन्ना सम्मेलन केन्द्र आसपास सयौँ सैनिक र अर्धसैनिक बल तैनाथ थिए। मुख्य सडकहरू बन्द थिए। हवाई यातायातमा असाधारण प्रतिबन्ध थियो। सहरको ‘रेड जोन’ क्षेत्र पूर्णतः सुनसान थियो। पत्रकारहरूलाई निर्धारित क्षेत्रभन्दा बाहिर जान अनुमति थिएन।

यो सुरक्षाको गहनता देखेरै कसैले अनुमान गर्न सक्थ्यो कि भित्र कुनै असामान्य बैठक हुँदै थियो। पाकिस्तानी विदेशमन्त्री इशाक दारले वार्ताको पूर्वसन्ध्यामा भनेका थिए, ‘यो वार्ता क्षेत्रीय शान्तिको आधारशिला बन्न सक्छ।’

अमेरिकी प्रतिनिधिमण्डलको आगमन: शक्तिको प्रदर्शन

बिहान १०:२५ बजे ‘एयर फोर्स टु’ इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो।अमेरिकी उपराष्ट्रपति जेडी भान्स विमानको सिँढीमा देखिए। उनका साथमा विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुस्नर थिए। उपराष्ट्रपति आफैँ नेतृत्व गर्न आउनु भनेको अमेरिकाले यस वार्तालाई सर्वोच्च प्राथमिकता दिएको सङ्केत थियो।

विमानस्थलमा पाकिस्तानी सेनाको सम्मान गारदले स्वागत गर्यो। उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार, सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिर, गृहमन्त्री मोहसिन नक्वी र अमेरिकी राजदूत नेटाली बेकर स्वागतमा उपस्थित थिए।

भान्सले सीधै सेरेना होटेलमा प्रधानमन्त्री शहबाज सरिफसँग द्विपक्षीय भेटवार्ता गरे। विटकोफ र कुस्नर पनि उपस्थित थिए। सरिफले दुवै पक्षलाई रचनात्मक रूपमा संलग्न हुने आशा व्यक्त गरे।

इरानी प्रतिनिधिमण्डलको आगमन

इरानी प्रतिनिधिमण्डल भारी सुरक्षाबीच अलग समयमा आइपुग्यो।७० भन्दा बढी सदस्यको यो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इरानी संसद्का सभामुख मोहम्मद-बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची आएका थिए। गालिबाफ पूर्वइरानी क्रान्तिकारी गार्डका कमान्डर थिए।

विमानमा हिँड्दा गालिबाफले इरानको मिनाब मदरसामा अमेरिकी–इजरायली आक्रमणमा मारिएका बालबालिकाको तस्बिर हेरिरहेको दृश्य सार्वजनिक भयो। यो एउटा शक्तिशाली प्रतीक थियो – इरान वार्ताको मेचमा पनि आफ्ना जनताको पीडा बोकेरै आएको थियो।

विदेशमन्त्री अराघचीले वार्तापूर्व नै आफ्नो मनस्थिति स्पष्ट पारेका थिए, ‘दुर्भाग्यवश, अमेरिकासँग वार्ता गर्ने हाम्रो अनुभव सधैँ असफलता र प्रतिबद्धताको उल्लङ्घनसँग जोडिएको छ।’ यो कुनै कूटनीतिक शब्दाडम्बर नभई दशकौँको आघातबाट आएको सत्य थियो।

वार्ताको सुरुवात र आधारभूत छलफल

अपराह्न करिब २ बजे सेरेना होटेलको एउटा विशेष कक्षमा वार्ता सुरु भयो। सन् १९७९ को इरानी क्रान्तिपछि पहिलोपटक अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिहरू एउटै कोठामा बसेका थिए। यो क्षणको ऐतिहासिक महत्त्व कसैबाट ओझेल रहन सक्दैनथ्यो।

सुरुमा पाकिस्तानी मध्यस्थहरूको उपस्थितिमा द्विपक्षीय बैठक भयो। त्यसपछि प्रत्यक्ष त्रिपक्षीय वार्तामा रूपान्तरण भयो। सेना प्रमुख मुनिर केही बैठकहरूमा व्यक्तिगत रूपमा उपस्थित थिए। वार्ताको प्रारम्भिक चरणमा दुवै पक्षले आ-आफ्नो लिखित प्रस्ताव पेस गरे।

इरानले १० बुँदे योजना प्रस्तुत गर्यो। अमेरिकाले १५ बुँदे ढाँचा राख्यो। यी प्रस्तावहरू प्रारम्भिक थिए, तर यसले कुराकानीको दायरा र दुवै पक्षका प्राथमिकताहरू स्पष्ट पार्यो। पहिलो प्रश्न- स्ट्रेट अफ होर्मुज तत्काल कि पूर्ण सम्झौतापछि मात्र खोल्ने भन्ने प्रश्नमा थियो।

दोस्रो, आणविक कार्यक्रमको विषयमा थियो। अमेरिकाले ‘शून्य संवर्धन’ र ९०० पाउन्ड अत्यधिक संवर्धित युरेनियम हस्तान्तरण वा बिक्रीको माग गरेको थियो भने इरानले आणविक अप्रसार सन्धिअन्तर्गत शान्तिपूर्ण प्रयोजनका लागि संवर्धनको आफ्नो अधिकार दाबी गर्यो।

तेस्रो माग थियो, प्रतिबन्ध हटाउने र अमेरिकाले रोकेको करिब २७ अर्ब डलरको सम्पत्ति फुकुवा गर्ने। चौथो, युद्ध क्षतिपूर्तिको बारेमा थियो।

पाँचौँ प्रस्ताव लेबनानमा इजरायलको हमला बन्द गर्न र युद्धविरामलाई सम्पूर्ण क्षेत्रमा लागु गर्ने विषयमा थियो।

अमेरिकी पक्षले भने होर्मुज तत्काल खोल्नुपर्ने, आणविक हतियार नबनाउने लिखित ग्यारेन्टी र प्रतिबन्ध क्रमशः हटाउने प्रस्ताव पेस गर्यो। क्षतिपूर्तिको माग सुरुदेखि नै अस्वीकार गरियो।

राति ८ बजेदेखि मध्यरातसम्मका तनावपूर्ण घण्टाहरू

राति ८ बजेसम्म वार्ता ६ घण्टा पुरानो भइसकेको थियो। बाहिर पर्खिरहेका पत्रकारहरूलाई चिया र कफीको व्यवस्था गरिएको थियो तर कुनै आधिकारिक जानकारी थिएन।
वार्ता अझ गहिरो र तनावपूर्ण बन्दै गयो। लेबनान मुद्दाले विशेष जटिलता थप्यो। इजरायलले वार्ताकै दौरान दक्षिण लेबनानमा २०० भन्दा बढी हिजबुल्लाह केन्द्रहरूमा आक्रमण गर्यो। इरानले यसलाई युद्धविराम उल्लङ्घनको संज्ञा दियो। अमेरिकाले भने लेबनानलाई यस वार्ताको दायराभन्दा बाहिरको विषय मानेको थियो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सामाजिक सञ्जालमा लेखे, ‘४० दिनको युद्ध र अविश्वासको वातावरणमा यी वार्ता भएका छन्। हामी दुई दृष्टिकोणलाई नजिक ल्याउने प्रयास जारी राख्छौँ।’

यसैबीच, वासिङ्टनमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी धेरै गहिरो वार्तामा छौँ। मलाई केही रिपोर्टहरू आइरहेका छन्। हेर्नुहोस् के हुन्छ।’
त्यसपछि उनले थपे, ‘हामी जितिसकेका छौँ – सम्झौता होस् वा नहोस्।’

ट्रम्पको लागि यो वार्ता केवल शान्ति निर्माणको प्रक्रिया मात्र नभई जित्ने र हार्ने खेल थियो।

राति १२ बज्यो। वार्ता १० घण्टा भइसकेको थियो। अमेरिकी पक्षले होर्मुज जलमार्गमा सैन्य सुरक्षा अभियानको घोषणा गर्यो। युएसएस फ्र्याङ्क ई पिटरसन र युएसएस माइकल मर्फी नामका दुई गाइडेड–मिसाइल विध्वंसक जहाजहरूले जलमार्ग पार गरे। युद्ध सुरु भएदेखि पहिलोपटक अमेरिकी युद्धपोतहरूले वार्ताकै बीचमा यो जलमार्ग पार गर्नु एउटा सशक्त सङ्केत थियो।

सटल डिप्लोमेसी र अन्तिम प्रयास

बिहान २ बज्यो। वार्ताको ढाँचा परिवर्तन भयो। दुवै पक्ष छुट्टाछुट्टै कोठामा गए। पाकिस्तानी मध्यस्थकर्ताहरू दुई कोठाबीच सन्देश बोकेर आवतजावत गर्न थाले। यो ‘सटल डिप्लोमेसी’ हो, जहाँ दुई पक्ष प्रत्यक्ष नभेटी पनि मध्यस्थमार्फत सञ्चार गर्छन्। कहिलेकाहीँ यो बढी प्रभावकारी हुन्छ, जब प्रत्यक्ष बैठकले भावनात्मक द्वन्द्व बढाउने खतरा हुन्छ।

भान्सले यो पूरै अवधिमा राष्ट्रपति ट्रम्पसँग ‘आधा दर्जनदेखि दर्जन पटक’ फोनमा कुराकानी गरे। उनी विदेशमन्त्री मार्को रुबियो, अर्थमन्त्री स्कट बेसेन्ट र सेन्टकम प्रमुख एडमिरल ब्राड कुपरसँग पनि निरन्तर सम्पर्कमा थिए।

इरानी राज्यनियन्त्रित सञ्चारमाध्यमले ‘अन्तिम प्रयास भइरहेको’ बतायो। तर बिहान करिब ७ बजे ठिक २१ घण्टापछि वार्ता समाप्त भयो। अमेरिकी उपराष्ट्रपति भान्स पत्रकार सम्मेलनमा आए। उनको अनुहारमा थकान स्पष्ट थियो, तर आवाज दृढ थियो।

‘खराब समाचार यो हो कि हामी कुनै सहमतिमा पुग्न सकेनौँ,’ उनले भने, ‘र मलाई लाग्छ यो इरानका लागि अमेरिकाभन्दा बढी खराब समाचार हो। उनीहरूले हाम्रा सर्त स्वीकार गरेनन्।’

उनले थपे, ‘हामीले हाम्रो ‘अन्तिम र उत्तम प्रस्ताव’ छोडेर गइरहेका छौँ। हाम्रा ‘रेड लाइन’हरू के हुन्, के कुरामा हामी अनुकूलन गर्न तयार छौँ र के कुरामा तयार छैनौँ, यो स्पष्ट पारेका छौँ।’

इरानी राज्य सञ्चारमाध्यमले तत्काल प्रतिक्रिया दियो। इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङले लेख्यो, ‘२१ घण्टाको वार्ता र कूटनीतिक प्रयासपछि, अमेरिकाको चर्का मागले कुनै सहमतिमा अवरोध पुर्यायो।’

विदेशमन्त्री अराघचीले भने केही विषयमा सहमति भएको सङ्केत दिए। उनले भने, ‘केही विषयमा साझा धरातल फेला पर्यो, तर दुई-तीन महत्त्वपूर्ण विषयमा ठुलो भिन्नता थियो।’
गालिबाफले पनि सम्झौताका लागि मार्ग प्रशस्त गरे, ‘अमेरिकासँगका विगतका अनुभव सधैँ असफल र विश्वासघातपूर्ण भएका छन्। तर हामी इमानदार सम्झौताका लागि तयार छौँ।’

मुख्य अडानहरू: किन टुट्यो सहमति ?

२१ घण्टाको वार्ता असफल हुनुका पछाडि पाँचवटा मौलिक अडानहरू थिए। यी अडानहरू ४० दिनको युद्ध र दशकौँको अविश्वासको सञ्चित भारले झनै गह्रौँ भएका थिए।
होर्मुज जलमार्ग: अमेरिकाले होर्मुज जलमार्ग तत्काल खोल्न माग गर्यो। इरानले पनि पूर्ण शान्ति सम्झौता नभएसम्म जलमार्ग नखोल्ने अडान लियो। यो एउटा मौलिक द्वन्द्व थियो – अमेरिका परिणाम पहिले माग्दथ्यो, इरान सुरक्षा ग्यारेन्टी पहिले चाहन्थ्यो।

आणविक कार्यक्रम: अमेरिकाको ‘शून्य संवर्धन’ (इरानले युरानियमको संवर्धन पूर्ण रूपमा बन्द गर्नुपर्ने) को माग र दीर्घकालीन परमाणु अप्रसार प्रतिबद्धतामाथि इरानको अडान सबैभन्दा कठोर थियो। भान्सले स्पष्ट भने, ‘हामीलाई सकारात्मक प्रतिबद्धता देख्नुपर्छ कि उनीहरूले दीर्घकालीन रूपमा परमाणु हतियार खोज्दैनन्।’

इरानले भने आणविक अप्रसार सन्धिअन्तर्गत शान्तिपूर्ण ऊर्जाका लागि संवर्धनको अधिकार छोड्न अस्वीकार गर्यो।

आर्थिक माग: इरानले करिब २७ अर्ब डलरको रोकिएको सम्पत्ति फुकुवा र अतिरिक्त आर्थिक क्षतिपूर्तिको माग राख्यो। यो पैसा युद्धले ध्वस्त पारेको देशको पुनर्निर्माणमा खर्च गर्ने इरानको योजना थियो। अमेरिकाले तत्काल अस्वीकार गर्यो।

क्षतिपूर्ति: फेब्रुअरी २८ को हमलाबाट भएको क्षतिको क्षतिपूर्तिको माग अमेरिकाका लागि राजनीतिक रूपमा स्वीकार्य थिएन। लेबनान: इरानका लागि लेबनान र इरान-युद्ध एउटै युद्धका दुई मोर्चा थिए। उसले इजरायलको लेबनान आक्रमण बन्द गर्न र हिजबुल्लाहको सुरक्षाको ग्यारेन्टी माग्यो। अमेरिकाले यसलाई यो वार्ताको दायराभन्दा बाहिरको विषय भन्यो।

दुई भिन्न संसार, एउटै मेच

कूटनीतिक विश्लेषकहरूका अनुसार, यो वार्ता असफल हुनुको एउटा गहिरो कारण दुवै पक्षले यो वार्तालाई मौलिक रूपमा भिन्न-भिन्न लेन्सले हेर्नु रहेको थियो। अमेरिकी पक्षका लागि यो शक्तिको स्थितिबाट गरिएको वार्ता थियो। उनीहरूले ‘अन्तिम र उत्तम प्रस्ताव’ ल्याएका थिए र इरानले ‘एस’ वा ‘नो’ मात्र भन्ने अपेक्षा गरेका थिए। ट्रम्पको ‘हामी जितिसकेका छौँ’ भन्ने उक्तिले यो मनोविज्ञान पूर्णतः उजागर गरिदियो।

इरानी पक्षका लागि यो अस्तित्वको लडाइँ थियो। ४० दिनको युद्ध, हजारौँ नागरिकको मृत्यु, सर्वोच्च नेताको हत्याका सङ्घात बोकेर उनीहरू आएका थिए। र, ओबामा प्रशासनले गरेको परमाणु सम्झौता ट्रम्पले नै एकतर्फी रूपमा तोडेको अनुभवले उनीहरूको अविश्वास कायमै थियो।

यी दुई भिन्न मनोवैज्ञानिक अवस्थाहरुबीच पाकिस्तानले पुल बनाउने कोसिस गर्यो। प्रधानमन्त्री सरिफले दुवैसँग छुट्टाछुट्टै भेट गरे। मुनिरले कुनै कुनै संवेदनशील बैठकहरूमा व्यक्तिगत रूपमा सहभागिता जनाए। विदेशमन्त्री दारले ‘सटल डिप्लोमेसी’को जिम्मेवारी सम्हाले। तर दशकौँको अविश्वासलाई २१ घण्टामा मेटाउनु असम्भव जस्तै थियो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया: संसार के भन्छ ?

वार्ता असफल भएको खबर फैलिनेबित्तिकै विश्वभरबाट प्रतिक्रियाहरू आए। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानी राष्ट्रपति पेजेशकियानसँग फोनवार्ता गरे। उनले होर्मुज जलमार्ग छिट्टै खोल्नुपर्ने र लेबनानलाई पनि युद्धविरामको दायरामा समावेश गर्नुपर्ने आग्रह गरे। पोप लियो चौधौँले यसलाई केवल शक्ति प्रदर्शनका रूपमा लिए।

राष्ट्रपति ट्रम्पले वार्ताको असफलतालाई इरानको हारका रूपमा व्याख्या गरे। ‘हामी जितिसकेका छौँ, सम्झौता होस् वा नहोस्।’ उनले इरानको सेना, वायुसेना र प्रतिरक्षा प्रणाली पूर्ण रूपमा नष्ट भएको दाबी गरे। तर उनले सम्झौताका लागि ढोका पनि खुला राख्दै भने, ‘होला, उनीहरूले सम्झौता गर्लान्, होला गर्दैनन्।’

साउदी अरेबिया, टर्की र इजिप्टले पाकिस्तानको प्रयासको प्रशंसा गरे र वार्ता जारी राख्न आग्रह गरे। इरानले आफ्नो हितको रक्षा गर्ने अडान कायम राखेको बतायो। तर विदेश मन्त्रालयले कूटनीति कहिल्यै समाप्त नहुने पनि स्पष्ट पार्यो।

वार्ता असफल भयो, व्यर्थ भएन

यो वार्ता सहमतिविना समाप्त भए पनि व्यर्थ भने भएन। यसले धेरै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्यो।

यसको सबैभन्दा प्रमुख उपलब्धि भनेको संवादको पुनर्स्थापना हो। सन् १९७९ पछि पहिलोपटक दुई पक्ष एकै कोठामा बसेर २१ घण्टा कुराकानी गर्न सक्षम भए। यो संवादको ढोका अब खुलेको छ।

इरानको १० बुँदे र अमेरिकाको १५ बुँदे प्रस्तावहरूले भविष्यका वार्ताका लागि आधार तय गरेका छन्। अर्को वार्ता ‘शून्यबाट’ सुरु गर्नुपर्दैन। वार्ताको पूरै अवधिमा अमेरिका र इरानबीच कुनै सैन्य टकराव भएन।

यस वार्ताले पाकिस्तानको विश्वसनीयतालाई पनि उजागर गरेको छ। दुवै पक्षले पाकिस्तानको मध्यस्थतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरे। भविष्यका वार्ताका लागि यो मञ्च तयार छ।

विदेशमन्त्री दारले वार्तापछि भने, ‘यो अनिवार्य छ कि दुवै पक्षले युद्धविरामको प्रतिबद्धता कायम राखून्। पाकिस्तानले आगामी दिनहरूमा संलग्नता र वार्तालाई सुविधा पुर्याउन आफ्नो भूमिका निरन्तर राख्नेछ।’

अब के हुन्छ ?

अप्रिल ७ मा घोषणा भएको युद्धविरामको म्याद अप्रिल २२ मा सकिँदैछ। वार्ता असफल भएको छ। यस घटनाका तीन सम्भावित परिदृश्यहरू सामुन्ने छन्।
पहिलो, पुनर्वार्ताको रहेको छ। दुवै पक्षले अर्को वार्ताका लागि सहमति जनाउन सक्छन्। यसका लागि दुवैले आफ्ना अडानमा केही लचकता देखाउनुपर्ने हुन्छ। पाकिस्तानले यो दिशामा काम जारी राखेको छ।

दोस्रो, केही समयका लागि युद्धविराम विस्तार पनि हुन सक्छ। अप्रिल २२ अगावै युद्धविरामको म्याद थप केही हप्ताका लागि विस्तार हुन सक्छ। यसले थप वार्ताको समय दिन सक्छ।

तेस्रो, सबैभन्दा भयावह हुनेछ। उक्त सम्भावना हो – युद्धको पुनरारम्भ। यदि कुनै सहमति वा युद्धविराम विस्तार भएन भने, युद्ध फेरि सुरु हुन सक्छ।

अत्यन्तै कठिन छ शान्ति निर्माण

इस्लामावादका यी २१ घण्टाले एउटा कटु तर महत्वपूर्ण सत्य उजागर गरे- शान्ति स्थापनाभन्दा युद्धारम्भ धेरै सजिलो छ। युद्ध सुरु गर्न एउटा निर्णय काफी हुन्छ तर, शान्ति स्थापना गर्न दशकौँको अविश्वास मेटाउनुपर्छ।

पाकिस्तानले यस वार्तामा दुई सदाबहार शत्रुलाई एउटै टेबलमा ल्यायो। यो आफैँमा जटिल प्रक्रिया हो। विदेशमन्त्री दारको वार्तापछिको वाक्य यहाँ उल्लेखनीय छ, ‘युद्ध सजिलो छ, तर शान्ति निर्माण अत्यन्तै कठिन।’

अप्रिल ११ को बिहान, थकित अनुहारका कूटनीतिज्ञहरू सेरेना होटेलबाट बाहिर निस्किँदा जय र पराजयको अनिर्णयबीच पनि नाजुक सम्भावना जीवित थियो। इतिहासले यो प्रयासलाई कसरी सम्झन्छ भन्ने कुरा समयले बताउँदै जानेछ। तर जब महाशक्तिहरू विनाशका लागि उद्यत थिए, पाकिस्तानले कुशल रूपमा मध्यस्थताको भूमिका निर्वाह गर्यो। यो साहस इतिहासमा दर्ज हुनेछ। (विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा)

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?