+
+
Shares

प्रदीपले मुद्दा मिलाउन खोजेका थिए जेनजीको साथ, मिलाउछु भन्नेको हातमा दिए ५ लाख

प्रदीप अधिकारीले मुद्दामिलाउनका लागि जेनजी अगुवाको साथ लिन खोजेका थिए । यसका लागि उनले ५ लाख रुपैयाँ पनि दिएका थिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ चैत ३० गते ७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निलम्बित क्यान महानिर्देशक प्रदीप अधिकारीले भ्रष्टाचार मुद्दा मिलाउन जेनजी अगुवाको साथ खोजेको पाइएको छ।
  • अधिकारीले जेनजी मिलाउने व्यक्तिसँग भेटघाट र रकम कारोबार गरेको डिजिटल फरेन्सिक रिपोर्टमा देखिएको छ।
  • अधिकारीविरुद्ध भ्रष्टाचार, संगठित अपराध र आपराधिक षड्यन्त्रसम्बन्धी अनुसन्धान भइरहेको छ।

३० चैत, काठमाडौं । भ्रष्टाचार कसुरमा पुर्पक्षका लागि अहिले डिल्लीबजार कागारमा रहेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीले मुद्दा मिलाउन अन्तिम समयमा जेनजीको समेत साथ खोजेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भक्तपुरको नलिन्चोकमा बनेको हेलिपार्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर मुद्दा दर्ताको प्रक्रिया अघि बढाउन लागेको थियो । त्यसबाट उम्कन उनले जेनजी अगुवाको समेत साथ खोजेको पाइएको छ ।

सुरुवाती दिनहरूमा भैरहवा विमानस्थलको भैरहवा अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी वे र एप्रोनको ठेक्का लिई काम गरेका तथा उनका पूर्वचिनजानका व्यक्ति नवीनराज बस्नेतमार्फत अख्तियारको मुद्दा मिलाउने प्रयास अधिकारीले गरेका थिए ।

त्यस सम्बन्धमा बस्नेतले केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यमाफर्त ओलीलाई भनेर अख्तियार प्रमुख प्रेमकुमार राईमार्फत मुद्दा सामसुम पार्नेबारे संवाद समेत भेटिएको थियो । जुन विषय यसअघि नै अनलाइनखबरले प्रकाशित गरिसेकेको छ ।

तर यो प्रयास असफल भएपछि अधिकारीले भारतीय तान्त्रिक बाबा ४३ वर्षीय सरया किन्नेरा (जय जगदब्बे) नाम गरेका व्यक्तिको प्रयोग गरिएको थियो । जहाँ उक्त तान्त्रिक बाबालाई अख्तियार प्रमुख राईको फोटो पठाइए चम्टा (तान्त्रिक विधिबाट हानी नोक्सानी) गर्न समेत लगाइएको थियो ।

यो यसबाट असफल भएपछि हत्याको धम्की दिएर राईलाई राजीनामा गर्न दबाब दिइएको थियो । त्यसका लागि फिलिपिन्समा रहेका अधिकारीका पूर्वचिनजाकै साथी प्रकाश पाठकको प्रयोग गरिएको थियो । धम्क्याएर राजीनामा गर्न लगाएपछि १० करोडसम्म दिने भन्दै २ करोडको भने सुपारी दिइसकेको भेटिएको छ ।

तर यति गर्दा पनि राईले राजीनामा नदिएको र मुद्दाको प्रक्रिया नरोकिने देखिएपछि अधिकारीले जेनजी अभियन्ताको साथ खोजेको भेटिएको छ ।

अधिकारीले बोक्ने मोबाइलको डीजीटल फरेन्सिक ल्याब (डीएफएल) रिपोर्ट अनुसार एक व्यक्तिसँग जेनजी मिलाउने भन्दै गरेको संवाद समेत भेटिएको छ ।

अधिकारीले एक जेनजी अगुवाको नाम लिँदै के चाहिन्छ यिनलाई म तयार छु भनेका छन् ।

जवाफमा जेनजी मिलाउँछु भन्ने व्यक्तिले–ओके भनेर फर्काउँछन् ।

त्यसपछि अधिकारीले ती जेनजी अगुवालाई आफूसँग भेटाउन भनेका छन् ।

जेनजी मिलाउँछु भन्ने व्यक्तिले फेरि–ओके भन्दै जवाफ फर्काएका छन् ।

अधिकारी भन्छन्– अलि चाँडो ।

मिलाउने बताउने व्यक्ति भन्छन्– म सेट गर्छु ।

पछि अर्को म्यासेज अधिकारीले गर्छन्– कुरा गरेउ मेरो बारेमा, यस्तो मान्छे चाहिन्छ भनेर ।

ती व्यक्तिले फकाउँछन्– लङ ड्राइभमा लगेर कुरा गर्छु । तपाईंलाई २ दिनमा भेटाउँछु ।

त्यसपछि अधिकारीले दुई जेनजीको नाम लिँदै भन्छन्– उ मार्फत उसलाई काम गराउने । (हामीले यहाँ प्रदीप अधिकारीले नाम लिएका जेनजी अगुवाको नाम खुलाएका छैनौं । उनीहरुको नाम लिए अनुसार काम गरे/गरेनन् भन्ने पुष्टि कै क्रममा रहेको र प्रहरीले अनुसन्धान गरिरहेकाले यहाँ नाम खुलाइएको छैन ।)

त्यसपछि अधिकारीले भन्छन्–अफिस नै ल्याउ ।

जेनजी मिलाउने बताउने व्यक्ति भन्छन्–पर्सी ल्याउँछु ।

यो संवादको संयोग वा हो होइन पुष्टी हुन बाँकी छ । तर, एक जेनजी अगुवा अधिकारीको कार्यालयमै गएको समेत देखिएको छ ।

दुई जेनजी अगुवाको नाम लिँदै अधिकारीले को पावरफुल भनेर सोध्छन् ।

ती व्यक्तिले एउटाको नाम लिन्छन् ।

अनि फेरि अधिकारीले सोध्छन्– को-को रहेछन्, केटाकेटी उचालेर सडकमा पुर्‍याउने । जेनजी मिलाउने दाबी गर्नेले एक जनाको नाम पनि लिन्छन् ।

जेनजी मिलाउने, जेनजीसँग भेट गराउने बताउने ती व्यक्तिले क्यानबाट ५ लाख समेत बुझेको प्रमाण भेटिएको छ ।

क्यानकै कर्मचारी चाँदमाला श्रेष्ठले ती व्यक्तिलाई नगद पाँच लाख दिएर पठाएकी थिइन् ।

पैसा लिन कार्यालय पुगेपछि चाँदमाला श्रेष्ठले प्रदीपलाई म्यासेज गर्छिन्–….लाई दिने हो ? फाइभ लग्यो, बट हि इज एक्सपेटिङ ६ भनेको थियो ।

अधिकारीले जवाफ फर्काउँछन्–ओके ।

चाँदमाला– एक म दिम ?

अधिकारी– त्यत्रो लगिसक्यो ? अहिले यति नै महँगो भो । सरलाई गाह्रो भो । पछि गरौलाँ ला नि भनेर कल हिम ।

जेनजी मिलाउँछु भन्ने व्यक्तिले उनको अफिसको अर्को व्यक्तिलाई क्यानको अफिसमा पठाएर पैसा बुझेको देखिएको छ । क्यानकै कर्मचारी बिष्णुप्रसाद पौडेलमार्फत चाँदमाला श्रेष्ठको कार्यकक्षमा पुगेर ५ लाख रुपैयाँ नगदै बुझेको प्रमाण भेटिएको छ ।

यो शंकास्पद ५ लाखको कारोबारबारे अधिकारीले भने आफ्नो व्यक्तिगत रकम दिएको दाबी गरेका छन् । अधिकारीले बयानमा भनेका छन्, ‘आफू विरुद्ध आएको भ्रामक समाचारलाई जन मानसमा खण्डन सहित सम्प्रेषण गर्न ती व्यक्तिसँग काम गरेको हुँ । उक्त कार्य गर्न मैले मेरो व्यक्तिगत तलबभत्ता समेतको आय आर्जनबाट उक्त रकम खर्च गरी नगदै दिन लगाएको हुँ । यस विषयमा क्यानको कुनै पनि औपचारिक निर्णय भएको छैन ।’

यता जेनजी अभियन्ता भनिएका अर्जुनबहादुर शाही पनि क्यानको कार्यालय अनुगमन भन्दै पुगेर अधिकारीलाई धम्की दिएका थिए । उक्त कामलाई पनि शंकास्पद रुपमा हेरिएको छ । क्यान पुगे लगत्तै अख्तियार पुगेर अख्तियार प्रमुख राईको राजीनामा माग गर्नुलाई शंकास्पद रुपमा हेरेर अहिले अनुसन्धान भइरहेको छ ।

गत २७ मंसिरका भ्रष्टाचारको कसुरमा अख्तियारले पक्राउ गरेका अधिकारी २१ मंसिरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यही बीचमा उनीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार कसुरमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।

अहिले भने सम्पत्ति शद्धीकरणदेखि संगठित अपराध, आपराधिक लाभ लिन नहुने, आपराधिक षड्यन्त्र गर्न नहुनेलगायतको कसुरमा अनुसन्धान भइरहेको छ ।

नोट– जेनजी मिलाउछु भन्दै अधिकारीसँग ह्वाट्स एपमा कुराकानी गर्ने व्यक्ति रवि सिंघल नाम गरेका व्यक्ति हुन् । उनले दिवाकर ढुंगानालाई क्यान पठाएर रकम बुझेका थिए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?