+
खेलकुद समीक्षा २०८२ :

राष्ट्रिय खेल भलिबल : हर्ष न विस्मात् !

२०८२ चैत  ३० गते १४:०६ २०८२ चैत ३० गते १४:०६

राष्ट्रिय खेल घोषणा भएको झण्डै एक दशक पुग्न लागिसक्दा समेत भलिबलले राष्ट्रिय खेल भएबापत गर्व गर्ने खालको केही कुरा हुन सकेको छैन ।

राष्ट्रिय खेल भलिबल : हर्ष न विस्मात् !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले २०८२ मा सीमित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा मात्र सहभागिता जनाएको थियो ।
  • नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबलमा तेस्रो स्थान हासिल गरेको थियो ।
  • हेल्प नेपालले काभा क्लब पुरुष भलिबलमा कांस्य पदक जितेको थियो ।

३० चैत, काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल हो । धेरैलाई यो कुरा थाहा छ, धेरैलाई यो कुरा थाहा छैन पनि ।

राष्ट्रिय खेल घोषणा भएको झण्डै एक दशक पुग्न लागिसक्दा समेत भलिबलले राष्ट्रिय खेल भएबापत गर्व गर्ने खालको केही कुरा हुन सकेको छैन ।

त्यसैले वर्ष २०८२ मा पनि भलिबलको लागि ‘वाउ’ गर्न लायक त्यस्तो केही त भएन तर कोर्टमा भने भलिबल चलायमान भइरह्यो ।

अन्तर्राष्ट्रिय स्तरमा मुस्किलले सहभागिता र सीमित प्रतियोगिता मात्र खेल्दा घरेलु भलिबल प्रतियोगिताहरू भने भइरहे ।

नेपाल भलिबल संघले आयोजना गर्ने नवौँ एनभीए भलिबल च्याम्पियनसिप, फ्रेन्चाइज महिला भलिबल लिग (इडब्लुभीएल) पोखरामा हुने चर्चित भलिबल प्रतियोगिता टाइगर कप लगायत राष्ट्रिय लेभलको प्रतियोगिताहरू भए ।

नवौँ एनभीए च्याम्पियनसिपबाट छनोट भएका उत्कृष्ट ८ र ६ महिला टोलीले खेल्ने पीएम कप एनभीए लिग भने २०८२ चैतमा गर्ने भनिएपनि प्राविधिक कारणवश २०८३ वैशाखमा सरेको छ ।

वर्ष २०८२ मा नेपालले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन । नेपालको अन्तर्राष्ट्रिय सहभागिता सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने प्रतियोगितामै सीमित छ ।

यस वर्ष नेपालको पुरुष टिमले असोजमा बंगलादेशको ढाकामा भएको काभा पुरुष भलिबल कप खेलेको थियो ।

अक्टोबर २२ देखि २८ सम्म भएको काभा पुरुष भलिबल कपमा नेपाल ६ टिममा पाँचौं भयो । नयाँ खेलाडीहरू समेटर बनाएको टिमले अन्तर्राष्ट्रिय खेलको अनुभव र एक्सपोजरमा कमजोर देखियो ।

यस्तै माघमा नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको काभा महिला क्लब भलिबल खेलेको थियो । साविक विजेताको रुपमा प्रतिस्पर्धा गरेको नेपाल पुलिस क्लब यस पटक भने फाइनल पुग्न असफल रह्यो ।

सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकन क्लबलाई हराएर नेपाल पुलिस क्लब तेस्रो भएको थियो । यस्तै साउनमा माल्दिभ्समै भएको काभा क्लब पुरुष भलिबलमा नेपालको हेल्प नेपालले पनि तेस्रो हुँदै कांस्य जितेको थियो ।

६ क्लब सहभागी भएको प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा जित हात पारेको थियो भने १ खेलमा पराजित भएको थियो । तर सेट रेसियोमा पछि पर्दा हेल्प नेपाल फाइनल पुग्नबाट वञ्चित भयो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले विदेशी भूमिमा नेपालको कुनै पनि भलिबल टोलीले जितेको यो दोस्रो पदक भएको बताए। यसअघि सन् २०१७ मा नेपालको पुरुष राष्ट्रिय टिमले माल्दिभ्समा भएको काभा सेन्ट्रल जोनमा कांस्य पदक जितेको थियो ।

काभा महिला भलिबल कपमा भने नेपालले यस पटक सहभागिता जनाएन ।

यस्तै काठमाडौंको टुडिखेलमा हुने तय भएको काभा महिला च्यालेनज कप भने गत भदौको जेनी आन्दोलनका कारण नेपालमा आयोजना हुन सकेन । जसले गर्दा नेपालले आयोजना गर्ने अधिकारदेखि खेलाडीहरूले पनि खेल्ने अवसर गुमाए ।

त्यस प्रतियोगिता पछि उज्वेकिस्तानमा आयोजना भयो र इरानले उपाधि जित्यो । त्यही प्रतियोगिता र्‍याङ्किङको मान्यता पाउदा त्यहाँका उत्कृष्ट तीन टोलीले एभीसीको प्रतियोगिता खेल्ने अवसर पाउँदा नेपाल त्यसबाट पनि बन्चित भयो ।

नेपाल भलिबल संघले २०२६ मा काभाको वार्षिक क्यालेन्डर अनुसार काभा महिला लिग आयोजना गर्दैछ । यो प्रतियोगिता २०८३ साल जेठमा काठमाडौंमा हुँदैछ । नयाँ वर्षमा भलिबलको अरु पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

यस्तै नेपालको उमेर समूहको टोलीले पनि काभाको प्रतियोगितामा उपाधि जित्न सकेन ।

कात्तिकमा माल्दिभ्समा भएको काभा यू-१९ महिला भलिबल प्रतियोगितामा नेपाली जुनियर टोली फाइनलका कीर्गिस्तानसँग पराजित हुँदै उपविजेता बन्यो । पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा नेपाल ३-२ को सेटमा पराजित भयो ।

यस्तै राष्ट्रिय टिमहरू सहभागी हुने अन्य विभिन्न स्थानमा पनि भलिबल प्रतियोगिताहरू भइरहे । तर भलिबलको मुख्य समस्या भने यो वर्ष पनि जहाँको तँही छ ।

राष्ट्रिय खेल भए पनि भलिबलको आफ्नै कभर्डहल छैन । यस्तै नेपाल भलिबल संघले आफ्नो वार्षिक कार्यक्रमअनुसार दुई राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिरहँदा पनि त्यसको संचरनागत एकरुपता अझै बन्न सकेको छैन ।

नेपालमा पुरुष भलिबलको तुलनामा महिला भलिबल चर्चित छ र दर्जन बढी अन्तर्राष्ट्रिय पदक पनि जितेको छ । तर भविष्यमा अझ राम्रो प्रदर्शन गर्नका लागि ग्रासरुट देखि नै विद्यालय भलिबल एकेडेमी भलिबल लगायत विषयमा अझै सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

उपत्यकाको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्डहल बनाउने प्रयास गरेको छ भने ललितपुर जावालखेल भलिबल प्रशिक्षण केन्द्रले पनि कभर्डहल बनाएको छ । ढोरपाटन स्पोर्ट्स क्लबले डेढ दशक देखि गर्दै आएको महिला भलिबल पनि अब खोज्नुपर्ने बेला भइसकेको छ ।

भलिबलमा अर्को समस्याको रुपमा देखा परेको विषय हो खेलाडी विदेशिनु । करियरको उत्तरार्धतिर रहेका खेलाडीहरू विदेश जानु त्यति समस्या नभएपनि राष्ट्रिय टिममा खेलिरहेका खेलाडीहरूले विदेश रोज्नु राम्रो संकेत पक्कै होइन ।

भलिबल संघले दुई वर्षअघि नै महिला र पुरुष भलिबलको फ्रेन्चाइज लिग गर्नका लागि दुई फरक कम्पनीसँग सम्झौता गरेको थियो । महिलातर्फ २०८१ र २०८२ सालमा दुई संस्करण फ्रेन्चाइज लिग आयोजना भइसक्दा पुरुषको फ्रेन्चाइज लिग हुन बाँकी छ ।

पुरुष फ्रेन्चाइज लिगका लागि सम्झौता गरेको केडिया ग्रुपले २०८३ सालमा नेपाल भलिबल लिग पुरुष फ्रेन्चाइज लिग आयोजना गर्ने तयारी छ ।

नेपालमै राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरू देखि फ्रेन्चाइज लिगहरू आयोजना हुँदा अन्तर्राष्ट्रिय स्तरमा पनि भलिबलको दायरा फराकिलो बन्ने सम्भावना हुँदा हुँदै खेलाडीहरू विदेश पलायन हुनु भनेको नेपाली भलिबलकै लागि राम्रो विषय भने पक्कै होइन ।

अहिले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका पुरुष टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठदेखि एक दर्जनजति खेलाडी अस्ट्रेलिया लगायत विभिन्न देशमा छन् ।

यस्तै महिला भलिबलमा कुनै समय तहल्का मच्चाएका प्रतिभा माली र सरस्वती चौधरी पनि अस्ट्रेलियामा छन् भने उनीहरूको बाटो पछ्याउँदै कविता भट्ट, मनिषा चौधरीलगायत खेलाडीले पनि अस्ट्रेलिया रोजे ।

राष्ट्रिय टिमकै कप्तान अरुणा शाही पनि पछिल्लो समय अस्ट्रेलियामा भलिबल प्रतियोगिता खेल्न गएकी छन् । उनी नेपाली राष्ट्रिय महिला भलिबल टिमको क्याम्पमा नरहेकोले अब फेरि राष्ट्रिय टिमबाट खेल्ने नखेल्ने टुङ्गो छैन । भलिबल संघले भने अरुणाले जानकारी नदिई गएको दाबी गरेको छ ।

यस्तै राष्ट्रिय टिमबाटै खेलिरहेका अन्य केही खेलाडीहरू पनि विदेश जाने तयारीमै रहेको चर्चा चलिरहेको छ ।

नेपाल भलिबल संघले अब खेलाडीहरू नेपालमै राख्ने हो भने भलिबलको संरचना ग्रासरुट देखि विभिन्न विषयमा योजना अनुसार काम गर्नुपर्ने अवस्था छ ।

नेपाली भलिबल राष्ट्रिय खेल भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय