+
+
Shares

पदम काफ्लेको उपन्यास ‘युग यात्रा’ सार्वजनिक

भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यसा ‘युग यात्रा’ सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पदम काफ्लेले भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यास \'युग यात्रा\' काठमाडौँमा सार्वजनिक गरेका छन् ।
  • साहित्यकारहरूले उपन्यासले शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुख समेटेको उल्लेख गरेका छन् ।
  • समाजशास्त्री मीना पौडेलले \'युग यात्रा\' मा भुटानी नेपालीभाषीहरूको मौलिक पहिचान र पुनःस्थापनाको प्रतिबिम्ब देखिएको बताए ।

३० चैत, काठमाडौं । भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यसा ‘युग यात्रा’ सार्वजनिक भएको छ । पदम काफ्लेको पहिलो पुस्तकाकार कृतिको काठमाडौँमा साहित्यकारहरू कृष्ण धराबासी, डा. शैलेन्दुप्रकाश नेपाल, डा. तारालाल श्रेष्ठ, डा. सञ्जय बान्तवा र डा. कविता लामा, समाजशास्त्री डा. मीना पौडेल, चित्रकार अस्मिना रञ्जित, लेखक राधेश्याम लेकाली एवं पत्रकार शेखर खरेलले लोकार्पण गरे ।

साहित्यकार धराबासीले भुटानी नेपालीभाषीहरु जन्मभूमिबाट लखेटिएर पूर्वी नेपालमा आएदेखि आफूले उनीहरूको मुद्दा उठाएको विगतको स्मरण गर्दै ‘युग यात्रा’ ले त्यस कालखण्डलाई पठनीय रूपमा अभिलेखीकरण गरेको बताए ।

‘यस उपन्यासको नायकलाई सुरुमा सानो बच्चाका रूपमा देखाइएको छ, तर बुद्धि नपसेको बच्चाका रूपमा,’ उनले भने, ‘बच्चामा वयस्कको बुद्धि हाल्दा कथानक अविश्वसनीय हुन जान्छ, त्यो गल्ती पदमजीले गर्नुभएको छैन । उपन्यासमा चित्रित अरू विवरण पनि यस्तै किसिमले विश्वसनीय छन् ।’

प्राध्यापक डा. तारालाल श्रेष्ठले भुटानी नेपालीभाषीहरूको शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुखलाई ‘युग यात्रा’ ले समेटेको सुनाए । समाजशास्त्री मीना पौडेलले जुनजुन मुलुकमा पुनःस्थापना गराइए पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान भुल्न नसकेको उल्लेख गर्दै ‘युग यात्रा’ ले त्यसलाई प्रतिबिम्बित गरेको बताइन् ।

‘मौलिक पहिचानप्रतिको मोह यस उपन्यासमा राम्ररी देखाइएको छ,’ उनले भनिन्, ‘शरणार्थी जीवनका कष्टकर भोगाइ र तेस्रो मुलुकमा पुनःस्थापनापछिका उपलब्धिलाई लैंगिक हिसाबले सन्तुलित बनाउन सकिएको भए अझ राम्रो हुने थियो ।’

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले पहिलो कृतिका लागि पदम काफ्लेलाई बधाई दिँदै भाषा–साहित्यले नै कुनै पनि जातिलाई जीवन्त बनाउने धारणा राखे । ‘जीवनमा केही कुरा यस्ता हुन्छन्, जसलाई सोझै भन्न सकिँदैन,’ पत्रकार शेखर खरेलले भने, ‘त्यसैले आख्यान चाहिने हो ।’

साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले जसको आत्मकथा पनि आख्यानका रूपमा आउन सक्ने भन्दै विधालाई भन्दा सिर्जनालाई हेरिनुपर्ने धारणा राखे । ‘नत्र त आख्यान यथार्थवादी हुन्छ पनि भन्न पाइएन,’ उनले भने, ‘यस कृतिको भाषा प्रवाहमय छ, कथा मनमुटु छुने खालको छ । एकाध प्रसंग पढ्दा मेरा आँखा रसाए ।’

कृतिकार काफ्लेले अग्रजहरूका प्रशंसा र आलोचनालाई आफूले शिक्षाका रूपमा लिने सुनाए । सत्र वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका काफ्ले भुटानको लामीडाँडामा जन्मेका हुन् । ‘युग यात्रा’ खुम्बिला बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?