News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा भ्याक्सिन उत्पादनको आवश्यकता भए पनि नीति निर्माताले बेवास्ता गरेको र भ्याक्सिन उत्पादन कम्पनी स्थापना गर्नुपर्ने बताइएको छ।
सन्दर्भ कोभिड-१९ महामारीको बेलाको हो । नेपालले भारतबाट २० लाख कोभिड-१९ विरुद्धको भ्याक्सिन ल्याउँदै थियो । १० लाखको पहिलो ब्याच पठाएपछि दोश्रो १० लाख भायल आउन सकेन । त्यहाँको अदालतको आदेशका कारण खोप नेपाल ल्याउन रोकियो ।
यसको मुख्य कारण भनेको उनीहरूको देशका लागि नै भ्याक्सिन पर्याप्त नहुनु हो । यस लगतै कोभिड भेरियन्टहरू मध्ये सबैभन्दा घातक मानिने डेल्टाले भारत पछि नेपाललई नराम्ररी प्रभावित बनायो । सो समय दोश्रो १० लाख भ्याक्सिन आइपुगेको भए शायद धेरैका मृत्युबाट बचाउन सकिन्थ्यो होला ।
त्यस्तै पछिल्लो समय जापानिज इन्सेफलाइटिसको पुनः आगमनले पछिल्ला केही वर्षदेखि संक्रमितको मृत्यु हुनेको तथ्यांक उकालो लागेको देखिन्छ । यो भ्याक्सिनका लागि पनि नेपाल आयातमा नै भर पर्नुपर्छ । यी बाहेक अरू पनि धेरै सरुवा रोगहरूको प्रकोप रोक्नका लागि अचुक उपाय भ्याक्सिन नै मानिन्छ ।
बिगत र अहिलेका यी अनुधहालको अनुभवहरू पनि देखाउँछ– २१औँ शताब्दीमा प्रवेश गर्दै गर्दा थप नौलो (कोभिड जस्तै) र बिगतमा नियन्त्रित भएर फेरि देखिन सक्ने (जापानिज इन्सेफलाइटिस जस्तै) रोगका लागि भ्याक्सिन निर्विकल्प उपाय हो ।
हाल केही औषधीहरू स्वदेशमू उत्पादन भइरहेको भए पनि भ्याक्सिनको उत्पादन छैन । भ्याक्सिन उत्पादनको आवश्यकतालाई नीति निर्माताहरूले लगभग बेवास्ता नै गरेको देखिन्छ ।
के नेपाल आफैंले मानिसमा प्रयोग हुने भ्याक्सिन बनाउनै नसक्ने हो ? वा स्वास्थ क्षेत्रले अझै यसको आवश्यकतालाई महसुस नगरेको, गर्न नसकेको वा चासो नदिएको हो ?
नेपालमा स्वस्थ केन्द्र वा अस्पतालहरू पर्याप्त छैन । त्यसमा पनि आवश्यक भौतिक संरचना तथा स्रोत साधनले सम्पन्न स्वास्थ केन्द्रहरू झनै सीमित छन् । यस्तो अवस्थामा कुनै पनि संक्रमण फैलिएमा वा प्रकोपको रुप लिए अस्पताल शय्या, स्रोत साधन अनि स्वास्थ्यकर्मीको अभाव हुन्छ नै ।
यसकारण पनि बिरामीको मृत्यु हुने जोखिम बढेर जान्छ । म साढे दुई दशकअगाडि टेकु अस्पतालमा काम गर्दैर्दा वर्षायाममा प्रत्येक घण्टा जसो झाडापखाला, हैजाका दर्जनौं बिरामीहरू भर्ना हुने गर्थे ।
त्यस्तै जापानिज इन्सेफलाइटिसको त मृत्युदर नै उच्च हुने हुनाले लामखुट्टेको सिजनमा हप्तामा दर्जनौं मानिस भर्ना हुन्थे । भर्ना हुने मध्ये अधिकांश ढिलो अस्पताल आएका कारण मृत्युवरण गर्नुपर्ने अवस्था थियो ।
समान्तया जापानिज इन्सेफलाइटिसको प्रभाव बढी तराईतिर हुन्छ । त्यहाँ पर्याप्त अस्पताल शय्या र जनशक्तिको कमीले गर्दा काठमाडौँ नै आउनु पर्ने बाध्यता हुने गर्थ्यो ।
तर पछि जापानिज इन्सेफलाइटिस विरुद्धको भ्याक्सिन नेपालमा प्रयोग गर्न थालेपछि भने मृत्युदर ह्वात्तै घटेको थियो । त्यो बेला भ्याक्सिनका लागि सहयोग भने छिमेकी राष्ट्र चीनबाट भएको थियो । सहयोग आफैंमा नराम्रो त होइन तर कहिलेसम्म भन्ने प्रश्न हामी माझ छ ?
नेपालले कोभिड महामारीका बेलामा भ्याक्सिनका लागि विदेशी सहयोगको अपेक्षा गरेको थियो । नेपालको आग्रहमा भारतले कोभोशिल्ड नामक भारतमा उत्पादन गरिएको भ्याक्सिन दिने सहमति भएको थियो । तर दोश्रो लट पठाउने बेलामा भने त्यहाँको अदालतले पहिले आफ्नो नागरिकलाई प्राथमिकता दिन र निर्यात नगर्न आदेश भएकोले भ्याक्सिन नेपाल आउन सकेन ।
यो निर्णयमा आश्चर्य चकित हुनुपर्ने कुरा देखिँदैन । किनभने सो समय कोभिड विरुद्धको भ्याक्सिनको माग अत्यन्तै उच्च थियो भने भारतमा आफ्नो नागरिकलाई नै पर्याप्त भ्याक्सिन पुग्ने अवस्था थिएन । त्यो बेलामा ‘भ्याक्सिन कुटनीति’ को पनि अत्यधिक चर्चामा थियो ।
कोभिड विरुद्धको भ्याक्सिन कसले छिटो बनाउने भन्नेमा विकसित देशहरू बीच होडबाजी नै चलेको थियो । त्यो बेला कोभिड मानव विरुद्धको महान शत्रुको रूपमा उपस्थित थियो भने संसार नै सोबाट बच्न भ्याक्सिन रुपी कवच विकासका लागि दिनरात खटेका थिए ।
भारतबाट कोभिड भ्याक्सिन रोकिएपछि अर्को छिमेकी देश चीनबाट कोभिड भ्याक्सिन सहयोग स्वरुप प्राप्त भएको थियो । यसबाट पनि ठूला महामारीको बेला भ्याक्सिनको महत्व कति हुन्छ भन्ने देखाउँछ ।
भ्याक्सिन निर्माण कम्पनी उपलब्ध हुँदा मात्र पनि महामारीमा कति राहत मिल्न सक्छ भन्ने उदाहरण कोभिड महामारीका बेला भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले खेलेको भूमिकाबाट पनि प्रष्ट हुन्छ ।
कोभिड आफैंमा नयाँ रोग भएता पनि वैज्ञानिकहरूको दिन रातको मेहनतको कारणले सोचे/अनुमान गरे भन्दा छिटो भ्याक्सिन विकास गर्न सफल भएका थिए । स्वभाविक हो, विकसित देशमा उच्च कोटीको अनुसन्धान प्रयोगशाला हुनु र उत्कृष्ट वैज्ञानिकहरूका कारणले पनि नयाँ भ्याक्सिन विकासको सम्भावना पनि विकसित देशहरूमा बढी हुने नै भए ।
विश्व नै त्रसित गर्ने उच्च संक्रामक तथा घातक रोगको महामारीका बेलामा भने सीमित देशमा भएका सीमित उत्पादक संस्थाहरूबाट सीमित भ्याक्सिन मात्र उत्पादन मात्रै हुन्छ । यसो हुँदा अरु वा बाँकी विश्वमा पठाउन सक्ने सम्भावना उसै पनि कम हुन्छ ।
तर भ्याक्सिनको फर्मुला वा भ्याक्सिनमा प्रयोग हुने ‘घटक’ प्राप्त गर्न सके र भ्याक्सिन निर्माण कम्पनी उपलब्ध छ भने भ्याक्सिन उत्पादनलाई निरन्तरता दिन सकिने रहेछ भन्ने कुरामा भारतलाई उदाहरणको रूपमा लिन सकिन्छ । यदि कोभिड महामारीको समयमा नेपालमा पनि भ्याक्सिन निर्माण कम्पनी थियो सो समयमा धेरै हदसम्म मानवीय क्षतिलाई रोक्न सकिन्थ्यो । विदेशीको मुख ताकेर बस्नुपर्ने अवस्था थियो ।
हाल कोभिड महामारी अन्त्य भएको केही वर्ष मात्र भएको छ। बितेका ती पलहरू विशेषत कोभिडको कारणले आफ्ना आफन्तहरू गुमाएका वा कडा कोभिडबाट जसोतसो बच्न सफल भएकाहरूलाई अहिले पनि ती दिनको सम्झना निकै त्रासदीपूर्ण हुन्छ ।
तर यसले केही पाठ पनि सिकाएर गएको छ । ठूला–ठूला महामारी देखिँदा एकै समयमा धेरै बिरामी हुने र उच्च संक्रामक तथा घातक रोग भएमा उपचार समेत प्रभावित हुने हुँदा रोकथामका उपायहरू नै सबैभन्दा महत्वपूर्ण हुने गर्दछ ।रोकथामका उपायहरू मध्ये भ्याक्सिन सबैभन्दा उत्कृष्ट र भरपर्दो हुने कोभिड महामारीको अनुभवले राम्रैसँग सिकायो ।
हाल पुनरागमन भएको जापानिज इन्सेफलाइटिस नियन्त्रणमा बिगतको सफल अनुभवले पनि यही देखाउँछ ।कोभिड विश्व समुदायका लागि अन्तिम महामारी हुने छैन । जापानिज इन्सेफलाइटिस वा अरू हाल नियन्त्रणमा रहेका संक्रामक रोगहरूको पुनरागमन नहोला भनेर ठोकुवा सकिँदैन ।
यसर्थ, तत्काल हामीले नयाँ भ्याक्सिनको विकास गर्न सक्ने अवस्था नभए पनि कोभिडका बेला भारतले गरेको कामबाट सिक्नुपर्छ ।
भारतले गरे जस्तै आवश्यक परे आफ्ना नागरिकको लागि अरूले विकास गरिसकेको भ्याक्सिनको उत्पादन मात्र पनि गर्न सक्ने क्षमता बनाइराख्नु जरुरी छ । यस खालको कम्पनी वा कारखाना स्थापना गर्न सके भविष्यमा महामारीबाट हुन सक्ने सम्भावित ठूलो मानवीय क्षतिलाई कम गर्न सकिनेछ ।
भ्याक्सिन निर्माण/उत्पादन गर्न उपयुक्त नीति तथा वातावरण सरकारले सिर्जना गरिदिए भ्याक्सिन ‘मेड इन नेपाल’ देख्न असम्भव भने छैन ।
प्रतिक्रिया 4